न्याय माग्दै १४ दिनदेखि माइतीघरको चिसो सडकमा (भिडियोसहित)

मिनु गोले

काठमाडौं

प्रेमीसँगको शरीरिक सम्बन्धपछि विनु यादव (कठायत)को पेटमा गर्भ रह्यो। उनी बच्चालाई संसार देखाउन चाहन्थिन् तर प्रेमीको दबाबसँगै शारीरिक अवस्थाको कारण सम्भव भएन।

प्रेमीको रोहबरमा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा जटिल अवस्थामा गर्भपतन भयो। गर्भपतनपछि विनुलाई सिनामंगलस्थित एक होटेलको कोठामा थुनेर प्रेमी सम्पर्कविहीन भए। त्यसको चार दिनपछि आएर गर्भपतनको कारण बिरामी अवस्थामा रहेकी विनुलाई जबर्जस्ती करणी गरे।

गर्भपतनको आलो घाउले विक्षिप्त उनी यौन सम्पर्कको लागि शारीरिक र मानसिक कुनै पनि हिसाबले तयार थिइनन्। तर, प्रेमीको मन मस्तिष्कमा गलत भूत सवार भयो, उनले जबर्जस्ती यौन सम्पर्क गरे। विनुको गर्भपतनको बेला गरिएको अप्रेसनको टाँका फुस्कियो। उनलाई पुन: अस्पताल भर्ना गरियो।

त्यति भएपछि पनि प्रेमी फेरि फरार भए र अन्य युवतीहरुसँग रमाउन थाले। त्यसपछि विनुले प्रेमीको मामा पर्ने डिएसपी सुरज कार्कीलाई भेट्न पुगिन्। तर, उल्टो ती डिएपीले ‘तँ जस्ता पैसामा बिक्ने केटी त उसका कति छन् कति’ भन्दै झपारे। उनले आफूमाथि शोषण भएको र अन्यायमा परेको महसुस गरिन्।

अनि कालिमाटी प्रहरी कार्यालय पुगेर विनुले आफूलाई दुख दिने प्रेमी अर्थात् रामेछापका प्रदीप कठायतविरुद्ध जाहेरी दिइन्। त्यसपछि पनि मुद्दा कमजोर बनाउन डिएसपी कार्कीले चलखेल गरेको, आफूलाई नै जाहेरी फिर्ता गरे पैसा दिने प्रलोभन देखाएको उनको भनाइ छ। त्यति मात्रै होइन, डिएसपी कार्कीले पेस्तोल नै बोकेर कोठामा छिरेर धम्काएको विनुको आरोप छ।

कालिमाटी प्रहरी कार्यालयमा प्रदीपको परिवार आयो। उनीहरुबीच सहमति भयो। प्रदीपको परिवारले २०७६ जेठ १९ गते भक्तपुरको ठिमी लगेर एउटा घरमा बन्धक बनाएर राखे। त्यसको ६ महिनापछि परिवारले नै प्रदीप र विनुको विवाह गरिदियो।

बिहेपछि प्रदीपले विनुलाई श्रीमतीसरह व्यवहार गरेनन्, परिवारले पनि बुहारीसहर व्यवहार गरेन। खाली नोकरलाई जस्ताे व्यवहार गरियो। ‘मैले धेरै जिद्धी गरेपछि मन्थली त लगे तर मलाई घरमा लगेनन्, काकाससुरा पवनको होटलमा लगेर राखिएको थियो। म त्यहाँ रातदिन होटलको काम गर्थें। त्यहाँ पनि काकाससुराले ममाथि दुर्व्यवहार गर्न थाले’, विनुले बिएल नेपाली सेवासँग भनेकी थिइन्।

मन्थलीमा हुँदै विनु पुन: गर्भवती भएकी थिइन्। तर, त्यो गर्भ पनि प्रदीपले फेरि पतन गराए। त्यसपछि विनुमाथि निरन्तर घरेलु हिंसा भयो।

२०७७ मा शारीरिक तथा मानसिक कष्ट दिएको भन्दै प्रदीपले उल्टै रामेछाप जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्धा हाले। आर्थिक स्थिति बलियो नभएको कारण विनुले सम्बन्धविच्छेद गर्न मानेकी थिइनन्। तर, वैशाख ७ गते उनीहरुको मुद्धाको फैसला थियो। अदालतका न्यायाधीश बद्रीप्रसाद ओलीको इजलासले विनुलाई अर्काे विवाह गर्न सुझाव दिँदै फैसला प्रदीपको पक्षमा सुनाए र सम्बन्धविच्छेदको फैसला गरिदिए। त्यसपछि विनुले इजलासमा नै विष पिएकी थिइन्।

त्यसपछि विनुले गत वर्षको असार १६ गते उक्त फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन दिएकी थिइन्। तर, पनि सुनुवाइ नभएपछि उनले निरन्तर आन्दोलन गर्दै आएकी छिन्।

उच्च अदालत पाटनले आफ्नो मुद्धामा बेवास्ता गरेको भन्दै पछिल्लो पटक विनु माइतीघर मण्डलामा अनसन बसेको आज १४ दिन भएको छ। यस अवधिमा उनलाई भेट्न सांसद, मुख्यमन्त्रीदेखि विभिन्न सामाजिक अभियान्ताहरु पुगे। सरकारी पक्षले पनि वार्ता गर्यो। तर, उनले अहिलेसम्म न्याय पाउन सकेकी छैनन्।

‘मेरो मागको सम्बोधन नै भएको छैन, उहाँहरु आउनुहुन्छ। वार्ता गर्नुहुन्छ, जानुहुन्छ’, विनुले सोमबार दिउँसो भनेकी थिइन्, ‘उहाँहरूले अनुसन्धानको लागि आयोग गठन गर्छौँ, त्यसपछि अनुसन्धान गरेर कारबाही गर्ने भन्नुहुन्छ। पहिला पनि उखु किसानको त्यस्तै भयो, मिटरव्याज पीडितको पनि त्यस्तै भयो। आयोग गठन हुन्छ, छानबिन गर्नुहुन्छ। उहाँहरु फेरि आन्दोलन गर्न आउनुहुन्छ, फेरि सडकमा नै हो। अब त मसँग त्यत्रो क्षमता छैन।’

शोषणविरुद्ध ४ वर्षदेखि सङ्घर्ष गरिरहेकी बिनुको चित्कार– न्याय नपाए बाँच्ने अवस्था छैन

विनु अहिले पाँच बुँदे माग राखेर अनसन बसेकी छिन्। त्यसमध्ये डिएसपी कार्कीलाई निलम्बन गर्नुपर्ने र आफूलाई जबर्जस्ती करणथी गरेका पूर्वपति प्रदीपविरुद्ध बलात्कार अभियोगमा मुद्दा चलाउनुपर्ने मुख्य माग हुन्।

अन्तत: आज उच्च अदालत पाटनले उनको मुद्दाको सुनुवाइ गर्दैछ। उनी आफ्नो पक्षमा फैसला होस् र आजै माइतीघरको चिसो सडक छाड्न पाए हुन्थ्यो भन्ने सोच्छिन्। तर, उनी अझै पनि मुद्दाको फैसला आफूविपरीत आउने हो कि भन्नेमा आशंका गर्छिन्।

प्रदीपको परिवारले मुद्धा उल्टाउन ३० लाखभन्दा बढी पैसा गरेको आरोप लगाउँदै उनी भन्छिन्, ‘उहाँहरुले पैसा खर्च गरिरहनुभएको छ। केस ढुक्क जित्छु भनिरहनुभएको छ।’

प्रकाशित मिति: : 2023-05-23 11:30:00

प्रतिकृया दिनुहोस्