
सुरेन्द्र राना ‘घुमफिरे’
दाेलखाकाे भीमेश्वर नगरपालिका- २ को सोक्ला गाउँमा ‘सोक्ला रक क्लाइम्बिङ- २०८०’ सम्पन्न भएको छ।
सदरमुकाम चरिकोटबाट ८ कि.मि दूरीमा रहेको सोक्ला गाउँमा ‘श्रोत साधनको खोजी गरौँ, साहसिक खेल पर्यटनलाई प्रवर्धन गरौँ’ भन्ने नारासहित यही जेठ १८ र १९ गते गरी २ दिन जिल्लामै पहिलो पटक आयोजना गरिएको हो।
महोत्सवको उद्घाटन गर्दै नेपाल पर्यटन वोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले रक क्लाइम्बिङ साहसिक खेल पर्यटनको अंग भएकोले यसद्वारा आन्तरिक तथा बाह्य पर्यटकहरु भ्रमण गरी दोलखाको पर्यटनलाई टेवा पुग्ने बताए। रक क्लाइम्बिङ गरेपछि उत्साहित हुँदै उनले भने, ‘म सगरमाथाको समिट पुगे जस्तो अनुभव भयो। यो खेल पर्यटनलाई प्रडक्टको रुपमा प्रवर्धन गर्न बाेर्डले सक्दो सहयोग गर्नेछ।’ यस्ता साहसिक पर्यटकीय गतिविधिले पर्यटन क्षेत्रकाे आर्थिक समृद्धि र विकास गर्न मद्दत पुग्ने उनकाे भनाइ छ।
कार्यक्रममा मन्तव्य दिने क्रममा प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले दोलखा जिल्ला धार्मिक र पर्यटनको प्रमुखस्थल रहेको बताए। भीमेश्वर नगरपालिका आफैंमा धार्मिक पर्यटकीय गन्तव्य रहेको र रक क्लाइम्बिङले नयाँ पर्यटन गन्तव्य हुने समेत उनको धारणा थियाे।
भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेतले रक क्लाइम्बिङ महोत्सवले यस पालिकामा थप नयाँ गन्तव्य थपिएको बताउँदै यसलाई थप पूर्वाधार निर्माण विकासको लागि पालिकाले बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन्।
ग्रामिण पर्यटन विकास समाज (भिटोफ)का प्रथम उपाध्यक्ष तारालाल धरेलले सोक्ला भिरमा रक क्लाइम्बिङको मज्जा लिएर सोक्ला गाउँमा वास बस्न सकिने बताए।
शोक्लाश्वरी पर्यटन विकास समाजका अध्यक्ष अर्जुन पाख्रिनले रक क्लाइम्बिङ गतिविधिले सोक्ला क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि आकर्षक साहसिक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने बताए। सोक्ला गाउँ जिल्लाकै रक क्लाइम्बिङ हवको रुपमा विकास हुने र यसको विकाससँगै जिल्लाका स्काउट टिमका आपतकालीन उद्धार तालिम र नेपाल प्रहरी तथा सुरक्षा फौजहरुको लागि उद्धार तालिम केन्द्रको रुपमा विकास गर्न सकिने उनले बताए। ‘यो वर्ष सोक्ला रक क्लाइम्बिङ रुट प्रवर्धनको रुपमा आयोजना गरिएको र हरेक वर्ष यो सम्बन्धी गतिविधि हुने छ,’ अध्यक्ष पाख्रिनले भने।
प्राकृतिक र साहसिक पर्यटनको लागि दोलखा नमुना पर्यटकीय गन्तव्य हो। यस क्षेत्रमा रक क्लाइम्बिङ, वाल (पर्खाल) क्लाइम्बिङ, पाराग्लाडिङ, साइक्लिङ, नागदहदेखि सोक्लाभ्यालीसमम र्याफ्टिङ गर्ने सकिने समेत उनले बताए।
सयौँ स्थानीयवासी सहभागी रहेको महोत्सवमा स्थानीय बाजागाजासहित भव्य उद्घाटन गरिएको थियो। कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले समेत आ-आफ्ना मन्तव्य दिएका थिए।
महोत्सव कार्यक्रममा सयौँ विद्यार्थी, स्काउट प्रतिनिधि र स्थानीयवासीको उपस्थितिले सोक्ला भिरमा रौनक थपिएको थियो। उपस्थित महिला तथा पुरुषहरुले रक क्लाइम्बिङ सहभागी हुँदै भरपुर आनन्द लिएका थिए।
प्राविधिक टोलीका नेता तथा मोगानका महासचिव रामकाजी तिवारी ‘प्रयास’ले रक क्लाइम्बिङको इतिहास तथा यस खेलबारे संक्षिप्त जानकारी गराएका थिए। उनकाअनुसार रक क्लाइम्बिङ एउटा चुनौतीपूर्ण र रमाइलो खेल हो, जसमा हात, खुट्टा र विशेष उपकरणहरू प्रयोग गरेर चट्टान संरचना वा कृत्रिम आरोहण पर्खालहरूमा आरोहण गरिन्छ। यसको लागि बल, सहनशीलता, सन्तुलन र मानसिक एकाग्रता चाहिन्छ।
आरोहणको समयमा सुरक्षा सुनिश्चित गर्न आरोहीहरुले विशेष प्रकारको उपकरणहरू प्रयोग गर्छन्। अत्यावश्यक गियरमा क्लाइम्बिङ हार्नेस, क्लाइम्बिङ जुत्ता, हेलमेट र बेले यन्त्र समावेश हुन्छ। त्यस्तै डोरी, क्याराबिनर, क्विक्ड्रस, स्लिङ, र अन्य सुरक्षात्मक गियरहरूको प्रयोग गरिन्छ।
रक क्लाइम्बिङ अर्थात् चट्टान चढ्ने क्रममा बिस्तारै पक्डने बिन्दू समाउँदै माथि चढ्ने गरिन्छ। खेलको क्रममा सुरक्षाको लागि कम्मरमा हार्नेस र डोरी बाँधिएको हुन्छ र तल क्लाइम्बिङ गाइड सुरक्षाको लागि डोरी समाएर नियन्त्रण गरिएको हुन्छ। माथि चढ्नुलाई एसेन्डिङ र ओरालो झर्नुलाई डिसेन्डिङ भनिन्छ। माथि चढ्दा बल र धैर्यता आवश्यक पर्छ, तल झर्ने बेलामा भने आरोहीले निकै मज्जा महसुस गर्छन्।
रक क्लाइम्बिङ मनोरञ्जनात्मक गतिविधि, प्रतिस्पर्धात्मक खेल वा अन्वेषणको माध्यम हुन सक्छ। अनुभवी पर्वतारोहीहरूबाट सिक्न महत्त्वपूर्ण हुन्छ र उचित प्रशिक्षण लिएर र सुरक्षित रूपमा खेलको आनन्द लिन सुरक्षा निर्देशनको पालना गर्नु जरुरी हुन्छ।
साेक्लाश्वरी पर्यटन विकास समाजले रक क्लाइम्बिङको सम्भावना अध्ययन, प्रारम्भिक रुट निर्माणसँगै रक क्लाइम्बिङकको परीक्षण गरेको थियो। समाजकै अगुवाइमा मोगानका अध्यक्ष संजीव गुरुङ, उपाध्यक्ष पासाङ भोटे र महासचिव रामकाजी तिवारीको टोलीले गत जेठ ११ देखि १४ गतेसम्म क्लाइम्बिङ रुट क्लियर तथा फिक्सिङ तथा रुट (सिंगल पिच) निर्माण गरेकाे थियो। ४०० मिटर उचाइमा रहेको सोक्लाको भिरमा हाललाई २५ मिटर क्लाइम्बिङको ३ वटा रुट निर्माण गरिएको छ।
सोक्लाश्वरी पर्यटन विकास समाजद्वारा आयोजना गरिएको रक क्लाइम्बिङ महोत्सवलाई नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग रहेको थियो। जसलाई माउन्टेड गाईड एसोसिएसन अफ नेपाल (मोगान)ले प्राविधिक सहयोग गरेको थियो। त्यस्तै भीमेश्वर नगरपालिका सहआयोजक थियो भने सहयोगी संस्थाहरु नेपाल पर्वतारोहण संघ (एनएमए), ट्रेकिङ एजेन्सिस् एसोसिएन अफ नेपाल(टान), ग्रामिण पर्यटन विकास समाज (भिटोफ), द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेन, एमडी ग्रुप, स्काइ ट्रि एजुकेशन प्रा.लि., आशीर्वाद कोरियन भाषा स्कुल, हिमालयन क्राउन एकेडेमीलगायतले हातेमालो गरेका थिए।
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया