तस्बिरमा मनमाेहक खप्तड !

‘सर्वप्रथम हृदयलाई पवित्र गर। हृदयको पवित्रता के कुरा हो ? नम्रता (विनय), प्रेम, विश्वास, प्रार्थना, सहनशीलता, आत्मसमर्पण। यी कुराहरूलाई प्रथम-नियमरूप स्वीकार गर्नाले, चाहे अन्धविश्वासपूर्वक नै किन नहोओस्, हृदय शुद्ध हुन थाल्छ।’ यो भनाइ खप्तडबाबाद्वारा लिखित ‘धर्म-विज्ञान चतुर्थ खण्ड’बाट साभार गरिएको हो।

सुदूरपश्चिमको सुन्दरताको गहना र विशेषताकाे महत्व बोकेको सुन्दर पर्यटकीयस्थल हो, खप्तड। जो, भूगोल र सौन्दर्यका हिसाबले एकदमै महत्त्वपूर्ण मानिन्छ। जसको नाम सुन्ना साथै जाऊ जाऊ लाग्छ। खप्तडलाई भू-स्वर्गका रूपमा पनि चिनिन्छ। बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको भू-भाग ओगटी सन् १९८४ मा घोषणा गरिएको खप्तड राष्ट्रिय निकुञ्ज २२५ वर्ग किलोमिटरमा फैलिएको छ। भने, समुद्री सतहबाट १,४०० देखि ३,३०० मिटर उचाइमा फैलिएको खप्तड क्षेत्रको बीचमा उभिएको छ खप्तड लेक। चार वटै जिल्लाको संगमस्थल हो, खप्तडको त्रिवेणीम, जहाँ त्रिवेणी मन्दिर र त्यसवरपर २२ वटा पाटनहरु रहेका छन्।

कुनै बेला खप्तड बाबाले ५० वर्ष तपस्या गरेको यो भूमि प्राकृतिक सुन्दरता अनि जैविक विविधताको पनि खानी हो। यस क्षेत्रमा जरायो, घोरल, भालुजस्ता २० प्रजातिका स्तनधारी जंगली जनावर पाइन्छन् भने १७५ प्रजातिका चराचुरुङ्गीको अवलोकन गर्न सकिन्छ, जसमध्ये डाँफे एक महत्वपूर्ण चरा रहेको छ।

वैशाख जेठमा फूलले रङ्गीचङ्गी देखिने खप्तडमा २२४ प्रजातिका जडिबुटीहरु पाइन्छन्। जो काेहीलाई लोभ्याउने आकर्षक गन्तव्य खप्तड ट्रेकिङ, क्याम्पिङ र चराचुरुङ्गी अवलोकनजस्ता क्रियाकलापको लागि एक महत्वपूर्ण गन्तव्य हो।

बाह्रै महिना मौसमअनुसारको अनेकन सुन्दरतामा झल्किने खप्तड क्षेत्र हिन्दूहरूको पवित्र तीर्थस्थल पनि मानिन्छ। यहाँको खप्तड बाबाको कुटी, सहस्र लिंग, त्रिवेणी नदी, खापर दह, शिव मन्दिर, गणेश मन्दिर, नागढुङ्गा, केदारढुङ्गाजस्ता धार्मिकस्थल निकै प्रख्यात छन्।

सुदूरपश्चिमको सबैभन्दा प्रसिद्ध गन्तव्यस्थल खप्तड घुम्नका लागि जेठ, असारदेखि मङ्सिरसम्मको समय उपयुक्त मानिन्छ तर आज-भोलि हिउँ खेल्न पनि पर्यटकहरू खप्तड पुग्ने गरेका छन्। सुदूरपश्चिमको प्रमुख पर्यटकीय भूमि खप्तडमा आध्यात्मिक सम्मेलनको आयोजना हुने भएको छ।

सम्मेलन जेठ २३ देखि २५ गतेसम्म आयोजना हुने छ। खप्तडमा हुने सो सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। भारतीय योगगुरु बाबा रामदेव, सङ्घीय र प्रदेश सरकारका मन्त्रीहरू, आध्यात्मिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वलगायत सम्मेलनमा सहभागी हुने छन्।

सुदूरपश्चिम प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड, खप्तड पर्यटन विकास तथा व्यवस्थापन समिति र स्थानीय तहले सम्मेलनको आयोजना गर्न लागेका हुन्।

प्रकाशित मिति: : 2023-06-05 09:50:00

प्रतिकृया दिनुहोस्