प्रविधिकाे विकाससँगै बाल यौन दुर्व्यवहार बढ्दै, सबैभन्दा बढी काठमाडौँमा

BreaknLinks
BreaknLinks

गएको वर्ष जेठ महिनामा भक्तपुरको सूर्यविनायक नगरपालिकामा आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक हरिकृष्ण कोजु पक्राउ परे।

कक्षा सातमा अध्ययनरत १३ वर्षीया बालिकालाई शिक्षक कोजुले भोज खाने बहानामा २०७८ मंसिर १६ गते आफ्नै घरमा बोलाई बालिकाको संवेदनशील अंग छुने र समाउने गरेका थिए। कोजुले बालिकालाई अन्य समयमा पनि पढाउने बहानामा आफ्नै घरमा बोलाएर पटक–पटक यौन दुर्व्यवहार गरेका थिए।

असह्य पीडा भएपछि बालिकाले घटनाको ६ महिनापछि परिवारलाई आफूमाथि भएको यौन दुर्व्यवहारबारे बताएकी थिइन्। प्रहरीले बालिकाकी आमाको उजुरीको आधारमा कोजुलाई जेठ ७ गते पक्राउ गरेको थियो। हाल कोजुमाथि आवश्यक कारबाही अगाडि बढिरहेको छ।

०००

यसैगरी २०७८ जेठमा आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ परे।

सामाजिक सञ्जालमार्फत ती किशोरीले सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेशनल’ प्रतियोगिताकाे समयमा पाण्डेले बानेश्वरको एभरेष्ट होटलमा बोलाएर बलात्कार गरेको र भिडियो बनाई ६ महिनासम्म ‘ब्ल्याकमेल’ गरेको खुलाएकी थिइन्।

किशोरीको उक्त खुलासापछि प्रहरीले पाण्डेलाई नियन्त्रणमा लिई आवश्यक कारबाही अघि बढाएको थियो। जिल्ला अदालत काठमाडौंले उनीलाई दोषी ठहर गर्दै मानव बेचबिखन तथा यौन दुराचारको अभियाेगमा ७ वर्ष कैद र पीडितलाई ७५ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने सजाय सुनाएकाे थियाे। हाल उनी कैद सजाय काटिरहेका छन्।

हाल उनी २४ वर्षकी भइन्, बलात्कार र यौन दुर्व्यवहार हुँदा १६ वर्षकी मात्र थिइन्।

०००

यस्तै २०७६ भदौमा डोटीको दिपायल सिलगढी नगरपालिकाका ९ वर्षीय बालकलाई एक युवकले पैसा दिएर चुरोट लिन पसल पठाए। चुरोट किनेर आएपछि कोठाभित्रै बोलाए र बालकमाथि यौन दुर्व्यवहार गरे।

कसैलाई भने ज्यान मार्ने धम्कीसमेत दिए। बालकले ज्यान मार्ने धम्कीदेखि डराएर घरमा भनेनन्। तर जब बालककाे मुखभरि घाउखटिरा आएर बोल्न र खानसमेत नसक्ने भए, तब परिवारले सोधीखोजी गर्न थाल्यो। त्यसपछि घटनाको १७ दिनपछि मात्र बालकले परिवारलाई बताए। अनि यौन दुर्व्यवहार गरेको आरोपमा सरिफ सिंजापति पक्राउ परे। हाल उनीमाथि आवश्यक कारबाही भइरहेको छ।

०००

माथि उल्लेख गरिएका घटनाहरु त प्रतिनिधि घटना मात्रै हुन्। जसले बालबालिका कसरी यौन दुर्व्यवहारमा परिरहेका छन् र आफूमाथि भएका दुर्व्यवहारविरुद्ध बोल्न कतिसम्म त्रसित छन् भन्ने यथार्थ देखाउँछ।

पछिल्लो समय नेपालमा बालबालिकामाथि हुने गरेको यौन दुर्व्यवहारका घटनाहरु दिन प्रतिदिन बढ्दै गइरहेको छ। बालबालिकाहरुमाथि हुने गरेका यौन दुर्व्यवहारबारे किताबमै समावेश गरेर पढाइन्छ अनि सिकाइन्छ। तर, विडम्बना बालबालिकाहरु तिनै विद्यालयका शिक्षक, नजिकका मान्छे, आफ्नाे आफन्तहरूबाटै यौन दुर्व्यवहारमा पर्ने गरेका छन्।

मुख्यतया: प्रविधिको विकास र सामाजिक सञ्जालको गतल प्रयोगले गर्दा बालबालिकाहरु दुर्व्यवहारकाे शिकारमा परिरहेका छन्।

नेपाल प्रहरीको तथ्यांक हेर्ने हो भने दैनिक रुपमा एक जना बालबालिका यौन दुर्व्यवहारको शिकार हुने गरेका छन्। प्रहरीको तथ्यांकअनुसार २०७६ यता दुई हजारभन्दा बढी पीडितहरु उजुरी लिएर प्रहरीसमक्ष पुगेका छन्।

वर्षैपिच्छे बढ्दै बाल यौन दुर्व्यवहार

आर्थिक वर्ष २०७६/०७७ पछिका वर्षमा बाल यौन दुर्व्यवहारका घटनाहरुमा वृद्धि भएको प्रहरीको तथ्यांकमा देखिन्छ।

आर्थिक वर्ष २०७६/०७७ मा दुई सय ४४ बालबालिका यौन दुर्व्यवहारमा परेका थिए। जुन संख्या आर्थिक वर्ष २०७७/७८मा बढेर तीन सय ४ पुग्यो।

यसैगरी आर्थिक वर्ष २०७८/०७९ मा ३ सय १४ जना बालबालिका यौन दुर्व्यवहारको शिकार बनेका थिए। यस्तै आथिर्क वर्ष २०७९/०८० को वैशाख मसान्तसम्म २ सय ८६ बालबालिका यौन दुर्व्यवहारका शिकार भएका छन्।

यसरी विगत पाँच वर्षको अवधिमा यौन दुर्व्यवहारमा परेका बालबालिकाहरुमध्ये सबैभन्दा बढी ११ वर्षदेखि १६ वर्षका उमेर समूहका रहेका छन्।

प्राप्त विवरणअनुसार आर्थिक वर्ष २०७८/०७९ मा कोसी प्रदेशमा ९९ जना, मधेस प्रदेशमा १७, बागमती प्रदेशमा ९६, गण्डकी प्रदेशमा ३७, लुम्बिनी प्रदेशममा ३७, कर्णली प्रदेशमा ११ र सुदूरपश्चिममा १२ जना बालबालिकाहरु यौन दुर्व्यवहारमा परेका छन्।

यसैगरी आर्थिक वर्ष २०७९/०८० मा कोसी प्रदेशमा ६५ ,मधेस प्रदेशमा १५, बागमती प्रदेशमा ९४, गण्डकी प्रदेशमा ३३, लुम्बिनी प्रदेशमा ३५, कर्णली प्रदेशमा ५ र सुदूरपश्चिम प्रदेशमा ११ जना बालबालिकहरु यौन दुर्व्यवहारकाे शिकार भएका छन्।

सबैभन्दा बढी काठमाडौँमा

प्रहरीको तथ्यांकअनुसार सबैभन्दा बढी बाल यौन दुर्व्यवहारका घटनाहरु बागमती प्रदेशमा दर्ता भएका छन्। जसमा काठमाडौँ जिल्लामा बालबालिकाहरुमाथि धेरै यौन दुर्व्यवहारका हुने गरेका छन्।

आर्थिक वर्ष २०७८/०७९ काे तथ्यांक हेर्दा काठमाडौँका ४१ जना बालबालिका यौन दुर्व्यवहारमा परेका छन्। यस्तै आर्थिक वर्ष २०७९/०८० मा काठमाडौँका ३४ बालबालिका यौन दुर्व्यवहारकाे शिकार भएका छन्। जसमा दुर्गमका गाउँहरुबाट काठमाडौँ आई विभिन्न क्षेत्रमा काम गर्दै आएका बालबालिकाहरु रहेका छन्।

६० देशमध्ये नेपाल ३९औँ स्थानमा

इसीपीएटी इन्टरनेशनलले सन् २०२१ मा दक्षिण एसियालगायतका ६० देशहरु समेटेर तयार पारेका प्रतिवेदनअनुसार नेपाल बाल यौन दुर्व्यवहार हुने देशमध्ये ३९औँ स्थानमा रहेको छ।

बाल यौन दुर्व्यवहारमा नेपालले ४६.४ अंक प्राप्त गर्दै आउट अफ दि श्याडो सूचकाङ्कमा ६० देशमध्ये ३९ श्रेणीका रहेको हो। जसमा बंगलादेशले ३५.५ पास्कितानले २८.६ भन्दा बढी अंक प्राप्त गरेको थियो। त्यस्तै भारत ५८.२ र श्रीलंका ५१.५ भन्दा तल रहेको थियो। यसको  मतलब भारत र श्रीलंकमा बालबालिकामाथि  हुने यौन दुर्व्यवहार उच्च रहको छ।

बढ्दौ अनलाइन बाल यौन दुर्व्यवहार

प्रविधिको र सामाजिक सञ्जालको पहुँच बढेसँगै नेपालमा बाल यौन दुर्व्यवहारका घटनाहरु बढेको पाइएको छ। इसीपीएटी इन्टरनेशनल र भ्वाइस अफ नेपालले सन् २०२१ मा तयार पारेको प्रतिवेदनअनुसार सामाजिक सञ्जालबाट समेत बालबालिकाहरु यौनजन्य दुर्व्यवहारका शिकार भएका छन्।

मोबाइल र इन्टरनेटको पहुँच भएका बालबालिकामध्ये १५ प्रतिशत बालबालिकामाथि सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार भएका छन्। जसमा मोबाइल प्रयोगकर्ता बालबालिकाहरुमध्ये दश प्रतिशत बालिका र ५ प्रतिशत बालक रहेका छन्।

इसीपीटीद्वारा तयार पारिएको प्रतिवेदनमा अनलाइन शोषणसम्बन्धी कमजोर कानुन, सुस्त कारबाही तथा गैरजिम्मेवार अभिभावकका कारण नेपालमा बाल यौन दुर्व्यवहार माैलाएकाे उल्लेख छ।

चिने-जानेकाबाटै यौन दुर्व्यवहार

प्रहरीका अनुसार प्रायः बालबालिकाहरुमाथि चिनेको तथा आफन्तहरुबाट नै यौन दुर्व्यवहार हुने गरेको पाइएको छ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायत दर्ता भएका घटनाहरुमध्ये अधिकांश घटना चिनेका मानिसहरुबाट हुने गरेकाे बताउँछन्।

‘बाल यौन दुर्व्यवहारका घटनाको विषयमा बालबालिकाका आफन्त तथा चिनेजानेका मानिसहरु हिरासतमा पुगेका छन्’, उनले भने, ‘उक्त व्यक्तिहरुले विभिन्न कुराको लोभलालच देखाई अथवा डर, धम्की दिएर बालबालिकामाथि यौनजन्य अपराध गरिआएको पाइएको छ।’

बालबालिकामाथि हुने गरेको अपराधले उनीहरूलाई ठुलो समस्या पार्ने गरेको कडायतले बताए। उनी भन्छन्, ‘बालबालिकाको मस्तिष्कमा सानासाना कुराले गहिरो असर पार्छ। अझ यस प्रकारको गतिविधिले उनीहरुमा ठुलो असर पुर्याइरहेको हुन्छ।’

यस्तो छ कानुनी व्यवस्था

बालबालिकासम्बन्धी ऐन २०७५ का अनुसार बालबालिकालाई अश्लील किताब, पम्प्लेट प्रकाशन वा किनबेच गर्ने, बालबालिकालाई शारीरिक वा मानसिक यातना, हेला, अमानवीय व्यवहार, लैंगिक वा छुवाछुतजन्य दुर्व्यवहार, यौनजन्य दुर्व्यवहार र शोषण गरेको पाइएमा प्रकृति हेरी सजाए हुने छ।

यसैगरी अपराधसंहिता ऐन २०७४ को दफा २२५ र २२६ मा बाल यौन दुरुपयोगअन्तर्गगत कसैले करणीको आशयले बालबालिकालाई एकान्तमा लगेर निजको अंग छोएमा, समातेमा वा आफ्नो अंग निजलाई समाउन वा छुन दिएमा उक्त व्यक्तिलाई तीन वर्षसम्म कैद सजाए र तीस हजारसम्म जरिवानको व्यवस्था गरिएको छ। 

प्रकाशित मिति: : 2023-06-16 21:18:00

प्रतिकृया दिनुहोस्