बुधबार, ३० जुलाई २०२५

जुम्लाका पालिकाहरुले ल्याए नीति तथा कार्यक्रमसहित बजेट 

News Image
• • •

संवैधानिक व्यवस्थाअनुसार जुम्लाका सबै स्थानीय तहहरुले असार १० गते नीति तथा कार्यक्रम र बजेट ल्याएका छन्। एक नगरपालिका र सात गाउँपालिकाले कुल ३ अर्ब ३८ करोड १९ लाख बजेटसहित नीति तथा कार्यक्रम ल्याएका हुन्।

चन्दननाथ नगरपालिकाले आर्थिक वर्ष ०८०/८१ काे लागि ५५ करोड १० लाख ८० हजार बजेटसहित नीति तथा कार्यक्रम ल्याएको नगर उपप्रमुख रामदेवी खड्काले बताइन्। उनले भनिन्, 'मुलभुत नीति तथा कार्यक्रमसहित बजेट ल्याएको हो।'

नगरपालिकाले भौतिक विकास, व्यवस्थित शहरीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, बायो इन्जिनियरिङ्ग, फोहोरमैला व्यवस्थापन र खानेपानी तथा सरसफाइसम्बन्धी नीति तथा कार्यक्रम ल्याएको छ।

महिला तथा बालबालिका, स्वास्थ्य शिक्षा युवा तथा खेलकुद, कृषि, संस्कृति तथा पर्यटन र सूचना सञ्चार प्रविधि नीति तथा कार्यक्रममा सूचना प्रविधि नीति बनाई विस्तृत एंवम् एकीकृत कार्ययोजना बनाएर लागु गरिने नगरप्रमुख राजुसिंह कठायतले बताए।

हिमा गाउँपालिकाले ३९ करोड ९७ लाख ४८ हजार रुपैयाँ बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरिएको अध्यक्ष लक्ष्मण शाहीले बताए।

तिला गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि ४४ करोड ९२ लाख ८४ हजार ९९३ रुपैयाँको संक्षेपमा प्रस्ताविक बजेट ल्याएको छ। गाउँ सभाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपाध्यक्ष गोरीकला बुढाले आर्थिक वर्ष २०८०/८१ का लागि ४४ करोड ९२ लाख ८४ हजार ९९३ रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन्।

नीति तथा कार्यक्रममा कृषि पशु विकास, लघु उद्यम विकास तथा गरिबी निवारण कार्यक्रम, समाजिक विकास, शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका, सामाजिक सुरक्षा, खानेपानी तथा सरसफाई, सिचाई, जलविद्युत, सञ्चारलाई विशेष प्राथमिकतामा राखेर नीति तथा कार्यक्रममा समावेश गरिएको उपाध्यक्ष बुढाले बताइन्।

गुठीचौर गाउँपालिकाले ३२ करोड ५८ लाख २५ हजार ७ सय रुपैयाँको बजेटसहित नीति तथा कार्यक्रम ल्याएको उपप्रमुख शान्तिकुमारी मल्ल भण्डारीले बताइन्।

'शिक्षामा लगानी गरौँ, पढाउँ लेखाऔँ बालबालिका र सामूहिक संकल्प गरौँ, बनाउ सुरक्षित गाउँपालिका' भन्ने मुल नारासहित आर्थिक वर्ष ०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट ल्याएको गुठीचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले बताए।

उनले भने, '१०औँ गाउँ सभाबाट मदिरा नियन्त्रण कार्यविधि, आर्थिक ऐन, निर्माणजन्य ढुंगा गिट्टी बालुवा उत्खनन तथा प्रशोधन र बिक्री वितरण सम्बन्धी कार्यविधि र वडा विभाजन सम्वन्धी निर्णय पनि पारित भएको हो। वडा नम्बर ४ र ५ वडालाई विभाजन गर्ने निर्णय पारित भएको हो।'

कनकासुन्दरी गाउँपालिकाले ४८ करोड २९ लाख ४३ हजार रुपैयाँ बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको प्रधानमन्त्री रोजगार संयोजक हंशराज न्यौपानेले बताए। 

उनले भने, 'गाउँपालिकाले कोटघरमा बेलिब्रिज पुल निर्माण र नाग्म गमगढी सडकअन्तर्गत हाडसिंजा सडक खण्डदेखि कनकासुन्दरी मन्दिर जाने झोलुङ्गे पुल निर्माण गर्ने महत्वपूर्ण नीति तथा कार्यक्रम ल्याएको छ।'

सिंजा गाउँपालिकाले ३७ करोड ३९ लाख २० हजार ३ सय रुपैयाँ बजेटसहित नीति तथा कार्यक्रम ल्याएको उपप्रमुख शितली रोकायाले बताइन्।

त्यस्तै पातारासी गाउँपालिकाले धार्मिक एवं पर्यटकीय क्षेत्रकाे पहिचान गरि पर्यटन प्रवर्द्धन गरिने नीति ल्याएकाे अध्यक्ष पूर्णसिंह बाेहाेराले बताए।

'पातारासी भित्रका तालतलैया, देवस्थल, ऋणमाेक्ष माई, पटमारा चुली, पेरेकाे शङ्कर झरना, गाेठेला झरना, घारीखाेला धार्मिक स्थल र पातारासी हिमाललाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने छ,' अध्यक्ष बाेहाेराले भने।

उनका अनुसार गाउँपालिकामा सञ्चालनमा रहेका विभिन्न कृषि फर्म पशुपालन र एग्राे रिसाेर्ट जस्ता आर्थिक गतिविधिलाई पर्यटकीय गतिविधिसँग आवद्व गर्ने तथा आयआर्जन वृद्वि गर्ने नीति लिइएकाे छ।

आ.व २०८०/०८१ का लागि पातारासी गाउँपालिकाकि उपाध्यक्ष जनमाया राेकायाले ४० करोड, ४५ लाख, ३७ हजार रुपैयाँकाे बजेट प्रस्तुत गरेकी छन्।

तातोपानी गाउँपालिकाले १३औं गाउँसभामा आर्थिक वर्ष २०८०/०८१ काे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पालिका भित्रका खाेलानालामा विद्युत उत्पादनका लागि सम्भाव्यता अध्ययन गरिने अध्यक्ष नन्द प्रसाद चाैलागाईंले बताए।

उनले भने, 'तातोपानी विद्युत उत्पादनका दृष्टिले प्रचुर सम्भावना बाेकेकाे पालिका हाे। गिडीखाेला, सर्मीकाे घट्टेखाेला, सुर्की, ताम्ती, बारागाउँका खाेला, बुंतडी खाेला, टाेप्लाकाे सुडाखाेला, इमाल्चा खाेलालगायतका खाेलाकाे पानीबाट प्रशस्त बिजुली निकाल्न सकिने छ।' तातोपानीले ४९ कराेड, २७ लाख ३१ हजार २ सयकाे बजेट ल्याएकाे उपाध्यक्ष रेवती रावलले बताइन्।

सोमबार, असार ११, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)