नेपालको सबैभन्दा लामो बाइक टूर गर्ने ६ युवाको कथा

नेपालको पर्यटन प्रवर्द्धन, पर्यटनमा जलवायु परिवर्तनको असर र दिगो पर्यटनको मुद्दा बोकेर पत्रकार र कलाकार सम्मिलित ६ युवाको टोलीले साहसिक ताप्लेजुङ–दार्चुला बाइक टूर गरेको छ। काठमाडौंबाट जेठ १० गते सुरु भएको यात्रा ताप्लेजुङ, झापा, महेन्द्रनगर, दार्चुला, पोखरा हुँदै जेठ ३२ गते टिम काठमाडौँ फर्किएको थियो।

२३ दिन लामो यात्रामा ६ युवा पत्रकार र कलाकारको टोलीले ४५ भन्दा बढी जिल्ला पुगेको थियो। करिब चार हजार किलोमिटर यात्रा गरेको टोलीले नेपालको पर्यटन प्रवर्द्धनको वर्तमान अवस्था, जलवायु परिवर्तनको असर र दिगो पर्यटनको एजेन्डालाई लिएर नेपालको सबैभन्दा लामो बाइक टूर गरेको हो।

एनटीपी मल्टिमिडिया ग्रुपको संयोजनमा भएको टूरमा नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ, होटल एशोसिएसन अफ नेपाल हान र नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को सहयोग तथा सहकार्य रहेको थियो।

ग्रुपका अध्यक्ष तथा नेपाल टूरिजम फेस्टिभलका संयोजक विष्णु विवेकले नेतृत्व गरेको टिममा कलाकार पवित्रा खडका्, पत्रकार चन्द्र तामाङ, रियाज पौडेल, चन्द्रकला कार्की र रितास्मा मुखिया रहेका थिए। काठमाडौँमा ताप्लेजुङ जाँदा विनेश खनाल, डिके कार्की, गोपाल खनालसमेत टिममा भएपनि उनीहरु आफ्नै प्राविधिक कारण खोटाङ र धनकुटाबाट फर्किएका थिए। दार्चुलासम्म पुगेकी पत्रकार रितास्मा मुखिया भने चितवनबाट जोडिएकी हुन्।

नेपालको राजधानी काठमाडाैँबाट सुदूरपूर्वी जिल्ला ताप्लेजुङ पुगेर झापा हुँदै महेन्द्रनगर भएर सुदूरपश्चिमको जिल्ला दार्चुला पुगेको ६ युवाको साहसिक टिमले पहिलोपटक चीन र भारत छुने दुवै जिल्ला ताप्लेजुङ–दार्चुला बाइक टूर सफलतापूर्वक सम्पन्न गरेको हो।

निकै जोखिमपूर्ण भएपनि सफलतापूर्वक यात्रा सम्पन्न गरेका ६ युवा पत्रकार तथा कलाकारको संक्षिप्त परिचय र साहसिक कथा यसप्रकार छः

१.विष्णु विवेक, संयोजक

‘नेपाल टुरिजम प्रोमोशन टूरः ताप्लेजुङ टु दार्चुला’को मुख्य योजनाकार पत्रकार विष्णु विवेक हुन्। विगत डेढ दशकदेखि पत्रकारितामा सक्रिय उनले रेडियो पत्रकारितामा करिब एक दशक बिताएका छन्। आवाजको दुनियाँमा विष्णु विवेकले आफ्नो बेग्लै पहिचान बनाएका छन्।

कर्णाली प्रदेश, सुर्खेतको चौगुने गाउँपालिका– ९ घाटगाउँमा जन्मिएका विवेक तीसौँ वसन्तमा हिँडिरहेका छन्। राजनीति, समाज, शिक्षा, साहित्य लगायत विधामा लेख्दै/बोल्दै आएका विवेक पछिल्लो दुई वर्षदेखि पर्यटन पत्रकारितामा सक्रिय छन्। पर्यटन क्षेत्रमा पत्रकारिताका साथै अभियन्ताका रूपमा सक्रिय छन्, विवेक।

विवेकको संयोजकत्वमा नेपालमै पहिलो पटक पर्यटनका विविध आयाम र नीतिगत तहमा छलफल गर्ने उद्देश्यले गत वैशाख १ र २ गते काठमाडौंको वसन्तपुरमा नेपाल टुरिजम फेस्टिभल सम्पन्न भएको थियो। हालै सम्पन्न टूरको संयोजन पनि विवेकले नै गरेका हुन्।

त्यसो त उनले नेपाल सरकार, पर्यटन विभाग, नेपाल पर्यटन बोर्डसहित पर्यटन सम्बद्ध सङ्घ संस्थाद्वारा आयोजना गरिने कार्यक्रमहरूमा मिडिया संयोजकको भूमिका पनि निभाउने गरेका छन्। पछिल्लो समय नेपाल पर्यटन बोर्ड र नाट्टाको सहकार्यमा लुम्बिनीमा सम्पन्न बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट–२०२३ मा मिडिया संयोजकको रूपमा काम गरेका थिए।

विवेकले सुर्खेतबाट नै पर्यटन प्रवर्द्धनको अभियान थालेका थिए। यसअघि उनले काठमाडौँदेखि मुगुको रारासम्म बाइक टूर गरेका थिए। पर्यटन प्रवर्द्धनका लागि पर्यटकीय गन्तव्यमा बसेर नै छलफल चलाउनुपर्छ भन्ने उनको मान्यता छ।

चौगुने– ९, घाटगाउँमा रहेको सरस्वती माविबाट एसएलसी, जनमावि सुर्खेतबाट साइन्समा प्लस टु गरेका उनले काठमाडौं आएर अस्कल क्याम्पसमा विएससी अध्ययन गरेका हुन्। विवेकले रत्नराज्यलक्ष्मी क्याम्पसबाट आमसञ्चार तथा पत्रकारितामा स्नातक गरेका छन्।

उनले सुर्खेतमा जागरण एफएम र बुलबुले एफएम, काठमाडौँमा नवज्योती एफएम, क्यापिटल एफएम, अन्नपूर्ण एफएम र उज्यालो रेडियोमा फ्रन्ट लाइनमा बसेर काम गरेका छन्। अहिले उनी न्यूजरुमबाट बाहिर निस्केर अभियन्ताको रूपमा बढी सक्रिय छन्। यद्यपि, फ्रिल्यान्सरको रूपमा विभिन्न माध्यममा लेख्दै र बोल्दै आएका छन्।

पहिलो पटक ताप्लेजुङ–दार्चुला बाइक टूरको संयोजन गरेर यात्रा सम्पन्न गरेका उनी भन्छन्, ‘नेपाल टुरिजम प्रोमोशन टूरः ताप्लेजुङ टू दार्चुला साँच्चै एक ऐतिहासिक यात्रा रह्यो। हामीले ४५ भन्दा बढी जिल्लाहरू पार गर्दै २३ दिनमा करिब चार हजार किलोमिटर मोटरसाइकलमा यात्रा गर्‍यौँ। यो बाइक टूर यात्राले नेपालको पर्यटनमा दीर्घकालीन महत्व राख्ने विश्वास छ।’

यसअघि काठमाडौँ–रारा बाइक टूर गरेका विष्णु विवेकले ताप्लेजु–दार्चुला बाइक टूरका सफल राइडर पनि हुन्।

२. पवित्रा खड्का, कलाकार

ऐतिहासिक मोटरसाइकल यात्रामा सहभागी एक मात्र कलाकार हुन्, पवित्रा खड्का। उनी थिएटर आर्टिस्ट (रङ्गकर्मी) हुन्। विगत डेढ दशकदेखि रङ्गकर्ममा समर्पित हुँदै आएकी पवित्रा प्रारम्भिक समयदेखि नै शिल्पी थिएटरमा आबद्ध छिन्। अथवा भनौँ, रङ्गकर्मीको रूपमा शिल्पी थिएटरमा नै फक्रिएकी हुन्, पवित्रा खड्का।

कुमार नगरकोटीको लेखन र घिमिरे युवराजको निर्देशन रहेको ‘कोमा अ पोलिटिकल सेक्स’ नामक नाटकबाट रङ्गमञ्चमा होमिएकी पवित्राले हालसम्म डेढ दर्जन बढी नाटकमा अभिनय गरिसकेकी छन्। खुला रङ्गमञ्चमा थुप्रै नाटकमा अभिनय गरिसकेकी छन्। पवित्रा भन्छिन्, ‘बन्द रङ्गमञ्चमा १५–२० वटा नाटकमा अभिनय गरेकी छु। खुल्ला रङ्गमञ्चमा अभिनय गरेको नाटक गन्न अलि समय नै लाग्छ होला !’

पवित्रा अभिनयको अलावा नाटक निर्देशन पनि गर्छिन्। सरुभक्तको लेखन रहेको नाटक ‘भृकुटी’ उनको पहिलो निर्देशन थियो। उनले खुल्ला ठाउँमा मञ्चन हुने नाटक र स्टेज नाटक पनि निर्देशन गरेकी छन्। तर, आफ्नो रुचि अभिनयमा नै रहेको पवित्रा बताउँछिन्।

पवित्राले भारत र बङ्गलादेशसहित नेपालको ७० भन्दा बढी जिल्लाहरू घुमिसकेकी छन्। पछिल्लो बाइक टूरमा उनको लागि नयाँ जिल्ला दार्चुला मात्रै थियो। बाँकी जिल्लाहरूमा उनी पहिला नै पुगेकी थिइन्।

पवित्राले नयाँ बानेश्वस्थित केएनके कलेजबाट जेन्डर स्टडीजमा स्नातकोत्तर तह अध्ययन गर्दै छिन्। उनले पद्मकन्या कलेजबाट लोकनृत्यमा स्नातक गरेकी छन्।

रङ्गकर्मसँगै लेखन र चलचित्र निर्माणमा पनि रुचि राख्छिन् पवित्रा। उनका लेखहरू विभिन्न सञ्चारमाध्यमहरूमा प्रकाशित भएका छन्। पवित्राले नाटक र अभिनयलाई चाहिने कार्यशाला पनि सञ्चालन गर्दै आएकी छन्। रङ्गमञ्चमा उनको अनवरत यात्रा जारी छ। अवसर आए चलचित्रमा पनि अभिनय गर्ने उनको इच्छा छ। उनी भन्छिन्, ‘अहिलेसम्म नाटकमा निरन्तर छु। फिल्मतिर पनि कसैले पत्याएर चरित्र दिनुभयो भने काम गर्नेछु।’

यात्रा गर्नु, गीतसङ्गीत सुन्नु, नृत्य गर्नु, खानु र सुत्नु उनको रुचि हो। आफूलाई अलि सौखिन भन्न रुचाउँछिन् पवित्रा। उनी कति सौखिन छिन् भन्ने थाहा पाउन उनीसँग सङ्गत गर्नैपर्छ।

३. रियाज पौडेल, मल्टिमिडिया पत्रकार

ऐतिहासिक मोटरसाइकल यात्रा, ‘ताप्लेजुङ–दार्चुला बाइक टूर’का अर्का एक जना क्रु मेम्बर हुन्, रियाज पौडेल। उनको वास्तविक नाम राजाराम भए पनि उनी रियालको नामले बढी चिनिन्छन्। धादिङको सिद्धलेक गाउँपालिका वडा नं. ७ पुर्ख्यौली घर भई हाल काठमाडौंको कलङ्कीका बासिन्दा रियाज विगत एक दशकदेखि मल्टिमिडिया र पत्रकारिता क्षेत्रमा सक्रिय छन्।

रियाज हाल हिमाल मल्टिमिडिया प्रालिद्वारा सञ्चालित हिमाल दर्पण डटकमको सञ्चालकको भूमिकामा छन्। पर्यटन क्षेत्रमा समर्पित अनलाइन हो, हिमाल दर्पण डटकम। यस अनलाइनले विगत डेढ वर्षदेखि पर्यटकीय गतिविधिमा केन्द्रित समाचारकासाथै यसका विविध आयामहरूमा खोजमूलक लेखहरू प्रकाशित गर्दै आएको छ। प्राकृतिक/पर्यापर्यटन, धार्मिक पर्यटन, सांस्कृतिक पर्यटन र ग्रामीण पर्यटनलाई विशेष महत्त्व दिएर काम गरिरहेको छ।

‘नेपालको आर्थिक विकासको सम्भावित क्षेत्रहरूमध्ये पर्यटन एक महत्त्वपूर्ण क्षेत्र हो। पर्यटन र पर्यटनसँग सम्बन्धित विषयवस्तुहरूलाई नेपालका मूलधारका मिडियाहरूले स्थान नै दिन सकेका छैनन्’, रियाज भन्छन्, ‘नेपालको पर्यटन प्रवर्द्धन, विकास र विस्तारमा टेवा पुर्‍याउने उद्देश्यले पर्यटनमा केन्द्रित पत्रकारिता सुरु गरेका हौँ।’

पर्यटकीय गतिविधि, पर्यटकीय सम्भावनाका क्षेत्र, नीतिगत तथा कानुनी व्यवस्था लगायत विषयमा नागरिकलाई सुसूचित गर्ने र पर्यटनबारे बहस सिर्जना गर्न पब्लिक स्फेयर प्रदान गर्ने आफ्नो उद्देश्य रहेको रियाज बताउँछन्। मूलधारका भनिएका सञ्चारमाध्यमले नसमेटिएका विषय/घटना तथा समाचारजन्य सामाग्रीहरूलाई पनि हिमाल दर्पणले स्थान दिँदै आएको छ।

उनले शङ्करदेव क्याम्पसबाट बिजनेस म्यानेजमेन्टमा स्नातकोत्तर गरेका छन्। पत्रकारिताका अलावा विभिन्न सामाजिक गतिविधिमा पनि उत्तिकै सक्रिय छन्, रियाज। उनले नेपालका ६५ भन्दा बढी जिल्लाहरूको भ्रमण गरिसकेका छन्।

४. चन्द्र तामाङ, पत्रकार

ऐतिहासिक ‘नेपाल टुरिजम प्रोमोशन टूरः ताप्लेजुङ टु दार्चुला’का अर्का एक जना राइडर तथा क्रु मेम्बर हुन्, चन्द्र तामाङ। उनी विगत पाँच वर्षदेखि पत्रकारितामा सक्रिय छन्। राजनीति, समाज, शिक्षा, कृषि, विकासलगायत खासगरी ग्रामीण क्षेत्रका ओझेल परेका विषयवस्तु र समस्याहरूलाई उठाउँदै आएका चन्द्र पछिल्लो समय पर्यटन पत्रकारितामा बढी सक्रिय छन्।

धादिङको बेनीघाट रोराङ– १, जरूङ गाउँमा जन्मिएका चन्द्र पत्रकारिताका अलावा विभिन्न सामाजिक कार्यहरूमा पनि सक्रिय छन्।

उनले त्रिभुवन विश्वविद्यालय, आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागबाट आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेका छन्। बेनीघाट रोराङ– १, जरूङ गाउँमा रहेको श्री जरुङ सिम्टार आधारभूत विद्यालयबाट प्राथमिक शिक्षा लिएका उनले धादिङको गजुरी– १ स्थित श्री आदर्श उच्च माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका थिए। चन्द्रले रत्नराज्यलक्ष्मी क्याम्पसबाट समाजशास्त्रमा पनि स्नातक गरेका छन्।

उनले भारतसहित नेपालका ६० भन्दा बढी जिल्लाहरूको भ्रमण गरिसकेका छन्। नेपालको वर्तमान राजनीतिक प्रणाली, कर्मचारी प्रशासन, अर्थव्यवस्था, सामाजिक व्यवस्था, शिक्षा प्रणालीमा पुनर्विचार (रि–थिङ्किङ) गर्न जरुरी रहेको बताउने चन्द्र खासगरी भूगोल, समाज र संस्कृतिको अध्ययनकै लागि आफूले घुम्ने गरेको बताउँछन्।

चन्द्र भन्छन्, ‘मानिसहरू कि आनन्द प्राप्तिको लागि घुम्छन्  कि त अध्ययनको लागि। तर, म चाहिँ अध्ययनकै लागि घुम्छु, किनकि म अध्ययनबाटै आनन्द प्राप्त गर्छु।’

राज्यको चौंथो अङ्ग मानिएको पत्रकारिताको साख गिर्दै गएकोमा चिन्तित छन्, चन्द्र। मोफसलका पत्रकार र पत्रकारिताको अभ्यास थाहा पाउन पनि आफूले निरन्तर यात्रा गरिरहेको उनी बताउँछन्। आवाजविहीनहरूको आवाज भनिएको/बन्नुपर्ने पत्रकार र पत्रकारिता अहिले हल्ला गर्ने समूहमा परिणत भएको चन्द्रको अनुभव छ।

उनी भन्छन्, ‘आवाजविहीनहरूको आवाज भनेपछि जो बोल्न सक्दैनन्, तिनकाबारे लेख्नु/बोल्नुपर्ने होला नि ! तर, हेर्नुस् त, जो आफैँ ठुला–ठुला स्वरमा कराउन सक्छन्, तिनीसँगै चिच्याएर हल्ला गरिरहेका छन्, पत्रकारहरू।’

पत्रकार र पत्रकारिता सहरमा सीमित हुन नहुने उनको तर्क छ। ‘पत्रकार र पत्रकारिता सहरमा मात्रै केन्द्रित र सीमित हुनु दुर्भाग्य हो। नेपालका बहुसङ्ख्यक जनता ग्रामीण क्षेत्रमा बस्छन्। तिनका आवाज कहिले सुन्ने ? कहिले सुनाउने ?’, चन्द्र प्रश्न गर्छन्।

समग्र यात्राबारे उनी थप अगाडि भन्छन्, ‘ताप्लेजुङ–दार्चुला बाइक टूर मेरो लागि  अविस्मरणीय रह्यो। पत्रकार कलाकार सम्मिलित टोलीले गरेको पहिलो लामो बाइक टूर पनि रहेछ। टूर ऐतिहासिक बनेकोमा अझ खुशी छु। यो टूरले नेपालको पर्यटन प्रवर्द्धनमा निकै ठूलो अर्थ राख्नेछ। यात्राका क्रममा हामीले स्थानीय समुदाय र सरोकारवालाहरूसँग गरेको छलफलले नेपालको समग्र पर्यटन क्षेत्रको तस्बिर बाहिर ल्याउन मद्दत पुगेको छ।’

५. चन्द्रकला कार्की, पत्रकार

ऐतिहासिक ताप्लेजुङ–दार्चुला बाइक टूरका अर्को एक जना क्रु मेम्बर हुन्, चन्द्रकला कार्की। खोटाङको ऐँसेलुखर्क गाउँपालिका– १ मा जन्मिएकी २३ वर्षीय चन्द्रकला विगत दुई वर्षदेखि अनलाइन पत्रकारितामा सक्रिय छिन्। समाचार सङ्कलन, फिचर तथा कथा लेखनमा उनले दुई वर्षको अनुभव बटुलेकी छन्।

समाज र संस्कृतिको अध्ययनमा खास रुचि राख्ने चन्द्रकलाले बागबजारस्थित पद्मकन्या क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर गरेकी छन्। उनी भन्छिन्, ‘समाज र संस्कृतिको अध्ययन मेरो रुचि हो। त्यसैका लागि यात्रामा निस्कने गरेकी छु।’ उनले थाइल्याण्डसहित नेपालका ५० भन्दा बढी जिल्लाहरूको यात्रा गरेकी छन्।

अत्यन्तै कम बोल्ने भलाद्मी स्वभावकी चन्द्रकलालाई यात्रा गर्न, साहित्य पढ्न, गीतसङ्गीत सुन्न र चलचित्र हेर्न मन पर्छ। उनका बाँकी स्वभाव र रुचि थाहा पाउन सङ्गत गर्नैपर्ला !

६. रितास्मा मुखिया, पत्रकार

ताप्लेजुङ–दार्चुला बाइक टूरका एक जना क्रु मेम्बर हुन्, रितास्मा मुखिया। तर, उनी पश्चिमको यात्रामा मात्रै जोडिएकी हुन्। उनी चितवनबाट दार्चुलासम्म टिममा जोडिएकी थिइन्।

रितास्मा विगत करिब एक दशकदेखि प्रसारण पत्रकारितामा सक्रिय छिन्। उनी अहिले प्राइमटाइम्स टेलिभिजनमा समाचार वाचक र उत्पादकका रूपमा कार्यरत छिन्। झापाको विर्तामोडस्थित सनराइज एफएममा कार्यक्रम प्रस्तोता र प्राविधिकको रूपमा प्रसारण पत्रकारितामा होमिएकी रितास्माले यसअघि सूर्योदय टेलिभिजनमा समाचार वाचक, सम्पादक र उत्पादकको रूपमा काम गरेकी थिइन्।

टेलिभिजन पत्रकारितामा सक्रिय उनी वास्तविक जीवनमा भने कम बोल्छिन्। रितास्मा भन्छिन्, ‘बोलेर भन्दा गरेर देखाउनुपर्छ भन्ने मान्यता छ। त्यसैले कम बोल्छु।’

पाँचथर जिल्लाको हाङगुम गाविसमा जन्मिएकी रितास्माको बाल्यकाल गाउँमै बित्यो। कम बोल्ने र मेहनती रितास्माले माध्यमिक शिक्षा गाउँमा नै पुरा गरिन्। झापाको विर्तामोडस्थित कन्काई कलेजबाट व्यवस्थापनमा स्नातक गरेकी छन्।

प्रकाशित मिति: : 2023-07-02 12:12:00

प्रतिकृया दिनुहोस्