एनआरएनए युकेका उपाध्यक्ष श्रेष्ठविरुद्ध इन्टरपोलको ‘रेड नोटिस’

गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतका उपाध्यक्ष दीपक श्रेष्ठको नाममा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन  (इन्टरपोल)ले रेड नोटिस जारी गरेको छ।

स्राेतका अनुसार नेपाल प्रहरीको आग्रहमा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)ले श्रेष्ठको नाममा रेड कर्नर नोटिस जारी गरेको हो।

श्रेष्ठविरुद्ध एक महिलाले जबर्जस्ती करणीको उजुरी दिएपछि प्रहरीले उनीविरुद्ध जबर्जस्ती करणीमा मुद्दा दायर गरेको थियो। श्रेष्ठ बेलायतमा बस्दै आएका छन्।

‘श्रेष्ठ देशबाहिर भएकाले पक्राउ गर्न असम्भव भएपछि हामीले इन्टरपोलको मुख्यालयलाई रेड नोटिसका लागि अनुरोध गरेका छाैँ,’ नेपाल प्रहरीको इन्टरपोल शाखाका प्रमुख एसपी अनुपम समशेर राणाले भने।

श्रेष्ठ अब एक सय ९५ देशको प्रहरीको खोजीसूचीमा परेका छन्। उनी अब जुन देशमा भेटिए पनि पक्राउ गरी इन्टरपोल सदस्य राष्ट्रले नेपाल पठाउने छ।

यसअघि श्रेष्ठ एनआरएनए बेलायतको अध्यक्षमा चुनाव लडेका थिए। तर, चुनावी नतिजा उनको पोल्टामा परेन। अध्यक्षमा निर्वाचित प्रेम गाहामगर पछि शेष घलेको समूहमा लागेपछि उनलाई उपाध्यक्षमा मनोनित गरिएको थियो।

स्रोतका अनुसार श्रेष्ठले आउँदो कार्यकालमा अध्यक्षमा योजना बनाए पनि महिलाले मुद्दा हालेपछि पछि हटेका हुन्।

प्रकाशित मिति: : 2023-07-17 21:40:00

प्रतिकृया दिनुहोस्