ओपनहाइमर: परमाणु बमका आविष्कारको कथा 

काई वर्ड र मार्टिन जे सेर्विनले संयुक्त रुपमा लेखेको पुलित्जर पुरस्कार बिजेता किताब हो, ‘अमेरिकन प्रोमेथियस: द ट्रायम्फ एन्ड ट्रेजेडी अफ जे रोबर्ट ओपनहाइमर।’

यही किताबका आधारमा बनेको फिल्म ‘ओपनहाइम’ शुक्रबार (२१ जुलाईमा) रिलिज भएको छ। यो सिनेमालाई क्रिस्टोफर नोलेनले निर्देशन गरेका छन्। 

अमेरिकी भौतिकशास्त्री तथा परमाणु बमका अविष्कारक जे रोबर्ट ओपनहाइमरको ‘बायोपिक’ यो सिनेमामा अमेरिकी सेनाका लागि ‘ओपनहाइमर’को नेतृत्वमा भएको संसारकै पहिलो परमाणु बम परीक्षण भन्दा पहिले र त्यसपछिको घटनाका रोचक प्रस्तुति छन्। 

सिनेमाको एक दृश्यमा एक जोडीले यौन सम्पर्क राख्दा भागवत गीताको श्लोक उच्चारण गरेको बिषयलाई लिएर संसारभरिका हिन्दु धर्मालम्बीहरूले बिरोध गरेका छन्।

बायोपिक भएको कारण पूरै सिनेमा एउटै पात्र अर्थात् जे रोबर्ट ओपनहाइमर (सिलियन मर्फी) को वरिपरि घुमेको छ। 

अमेरिकामा शरण लिने यहुदी परिवारमा जन्मेका ओपनहाइमरलाई आफ्नै अविस्कारप्रति अपराधबोध थियो। जस्तो कि डाइनामाइटका अविस्कारक अल्फ्रेड नोबल। 

जर्मनीसँग रगतको नाता भएको कारण पनि हिट्लरले सुरु गरेको दोस्रो विश्वयुद्ध समाप्त पार्नका लागि ओपनहाइमरको अविस्कारले अहम भूमिका खेलेको थियो। सिनेमामा परमाणु बमको अविस्कार र यसको परीक्षणको कथा मात्र नभएर आजसम्म पनि विश्वमहाशक्ति राष्ट्रहरूबीच हुने बिबादलाई समेत समेटिएका छन्। जो समय सापेक्ष छ। 

सिनेमाको कथा अगाडी बढाउन इमिली ब्लाण्ट, म्याट डेमन, रोबर्ट डाउनी जुनियर जस्ता लोकप्रिय कलाकारहरूको सहयोग लिइएको छ। 

आफ्नो अविस्कारप्रति ओपनहाइमरलाई कस्तो प्रकारको पछुतो थियो यो बुझ्न भने सिनेमा नै हेर्नुपर्छ।

आफ्नै खोजप्रति घृणा गर्ने विद्वानको भूमिकामा सिलियन मर्फीले सबै कलाकारहरूलाई पछाडी पारेका छन्, यद्यपि अन्य कलाकारहरूको अभिनयमा पनि खोट लगाउने ठाउँ छैन। 

निर्देशक नोलेनले परमाणु बमको परीक्षण र त्यसले निम्ताएका खतराहरूलाई विस्तारका साथ र रोचक ढंगले प्रस्तुत गरेका छन्। लुडविग गोरान्सनको संगीत दर्शकहरूलाई भावुक बनाउन सफल छ। 

दोश्रो विश्वयुद्धको इतिहासप्रति रुचि भएका र अंग्रेजी भाषामा दखल भएका दर्शकहरूले यो सिनेमा हेरेर हिटलरको फाँसिवादबाट बच्न एक युवा वैज्ञानिकको खोज अन्तमा गएर मानव विनासको कारण भएको जानकारी पाउन सक्छन्। 

तिन घण्टा दश मिनेट लामो यो सिनेमाले आजको समयमा महाशक्ति राष्ट्रहरूबीच परमाणु बमको विषयलाई लिएर समय समयमा हुने आरोप प्रत्यारोपलाई पनि गम्भीर भएर सोच्न बाध्य बनाउन मद्दत गर्छ।

प्रकाशित मिति: : 2023-07-24 09:38:00

प्रतिकृया दिनुहोस्