ब्लू बिटल: पारिवारिक समस्यामा बनेकाे दर्शनीय सिनेमा

पोर्टो रिकोमा जन्मे, हुर्केका र बाल्यकालमा गरिबी देखेका तथा डिनर पार्टी (सन् २०१८)जस्तो बहुचर्चित सिनेमाकाे निर्देशन गरिसकेका एन्जल मेनुयल सोटो नयाँ सिनेमा ‘ब्लू बिटल’ लिएर दर्शकमाझ आएका छन्, जो शुक्रबार (१८ अगस्ट)मा रिलिज भएको छ।

डिसी कमिक्सको चर्चित पात्र जेमी रेयस र उनको जीवनमा आउने सुख र दु:खको कथामा आधारित यो सिनेमा विशेष गरेर ८० को दशकमा किशोर उमेरका दर्शकहरुलाई प्रिय लाग्न सक्छ। यद्यपि, अन्य उमेरका दर्शकहरुबीच पनि यो पात्र लोकप्रिय रहेको कुरालाई नकार्न सकिन्न। जिन्दगीमा सुख दु:ख आउँछ तर परिवारमात्र लामो समयसम्म हाम्रो साथमा रहन्छन भन्ने मूल विषयमा आधारित यो सिनेमाले नायकको जीवनको उतारचढाबलाई क्रमिक रुपले प्रस्तुत गर्दछ।

सिनेमाको कथाअनुसार जेमी रेयस (जोलो मरिदुएन) जब आफ्नो पढाइ समाप्त गरेर घर फर्किन्छ, त्यसपछि उसलाई आफ्नो परिवार आर्थिक सङ्कटमा भएको थाहा हुन्छ। जुन घरमा उनको परिवार निकै लामो समयसम्म बसेका थिए, त्यसको मालिकले तीन गुणा बढी घरको भाडा वृद्धि गरेको हुन्छ। रेयस एउटा सानो काम गरेर आफ्नो परिवारलाई सगयोग गर्दै गरेको अवस्थामा उनको भेट जेनी कोर्ड (ब्रूना मार्केजिन) नामकी सुन्दर युवतीसँग हुन्छ। जसको सहयोगले रेयस ‘सुपर हिरो’ हुन्छन् तर सुपर हिरो हुने क्रममा उनलाई निकै धेरै शारीरिक पीडा हुन्छ तर उनले यो पीडा सहन्छन्।

जेनीको फुपू भिक्टोरिया कोर्ड (सुसन सरण्डन) कोर्ड इण्डस्ट्रिज नामको एउटा ठुलो सूचना प्रविधिको कम्पनीको मालिक हुन्छिन् तर उनी निकै दुष्ट छिन, भिक्टोरियाको स्वभाव र कुरा एकआपसमा मिल्दैन। जेनीले पिज्जाको बक्सामा लुकाएर रेयसलाई दिएको यन्त्र अर्थात् ‘ब्लू बिटल’ अत्यन्तै संवेदनशील छ र त्यसलाई रेयसले लुकाउने र भिक्टोरियाले खोज्ने क्रममै सिनेमाको अन्त: हुन्छ। यो दौडमा कसको विजय हुन्छ ? त्यसको लागि सिनेमा हेर्दा मात्र पूर्णमनोरन्जन प्राप्त हुन्छ।

कलाकारहरुको अभिनयको कुरा गर्दा नायक मरिदुएनले कलेजको छात्रदेखि सुपर हिरोसम्मको यात्रामा उत्कृष्ट अभिनय गरेका छन्।

त्यस्तै ब्राजिलकी सुपर मोडल नायिका मार्केजिनले आफ्नो सुन्दर अनुहार र शरीरलाई खुलेर प्रदर्शन गरेकी छिन्। यद्यपि, उनको अभिनय पनि सन्तोषजनक नै छ।

अन्य कलाकारहरुमा रेयसको हजुरआमा नाना रेयस (एड्रियाना बर्राजा), पिता अल्बर्टो रेयस (डेमियन अलकजार), काका रुडी रेयस (जर्ज लोपेज), बहिनी मिलाग्रो रेयस (बेलिसा एस्कोबेडो) र भिक्टोरियाको बडिगार्ड काराप्क्स (राउल ट्रूजिलो)को अभिनय आफ्नो आफ्नो स्थानमा राम्रो छ। त्यसमा पनि भिक्टोरिया कोर्डको भूमिकामा नायिका सरण्डनले सफल व्यवसायी महिला र युवा अवस्थामा रहस्यमय रुपमा गायब भएका भाइको सम्झनामा विक्षिप्त दिदीको रुपमा गरेको अभिनय उत्कृष्ट छ।

निर्देशक सोटोले भिज्युल इफेक्ट्सको सहयोगमा एक्सन दृशलाई अत्यन्तै रोमान्चक बनाएका छन्। यसको साथै सिनेमाको भावनात्मक दृश्यहरुले पनि दर्शकको मन तान्छ। अब्दुल रहमान र अब्दुल रहिम दुई भाइले आफ्नो समूहसँग मिलेर गरेको भिज्युल इफेक्ट्सको कामलाई जति तारिफ गरे पनि कम हुन्छ। ‘द हक्सन क्लक’ समूहको सङ्गीत र पवेल पोगोरेजेस्कीको छायाँकनको साथै अन्य सबै प्राविधिकहरुको काममा खोट लगाउने ठाउँ छैन। कूल मिलाएर एउटा दर्शनीय सिनेमाको निर्माण गर्ने निर्देशक सोटो धन्यवादकाे पात्र छन्।

यदी तपाईं अंग्रेजी भाषामा दखल राख्नुहुन्छ र सुपर हिरोको सिनेमाको पारखी हुनहुन्छ भने यो सिनेमा अवश्य हेर्नुहोला। तर, यी दुवै कुरामा तपाईंको ज्ञान छैन भने तपाईंलाई यो सिनेमा बाँदरको पुच्छरजस्तै हुन्छ, त्यसलाई तपाईं लौरो वा हतियारको रुपमा प्रयोग गर्न सक्नुहुन्न।

@twitter#naviinr

ट्रेलर :

प्रकाशित मिति: : 2023-08-19 18:23:00

प्रतिकृया दिनुहोस्