डोल्पामा पत्ता लाग्याे विश्वकै अग्लो स्थानमा रहेकाे ताल

डोल्पामा विश्वकै अग्लो स्थानमा रहेको ताल पत्ता लागेको छ। जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका वडा–६ मा पर्ने फालगाउँस्थित हिमाल नजिकै उक्त ताल पत्ता लागेको हो।

सिमेन गाउँबाट गएको गाउँपालिकाका उपाध्यक्ष पेमा धोर्चे गुरुङ्ग, वडा–६ का अध्यक्ष नुर्बु डम्डुल गुरुङ्गसहित १६ जनाको टोलीले उक्त ताल पत्ता लगाएको हो।

जनप्रतिनिधिसहित स्थानीयहरुको टोली पहिलो पटक तालको प्रर्वद्धनका लागि त्यहाँ पुगेको र जिपिएस मेसिनबाट उचाइ नाप्दा ५ हजार १ सय ९० प्रष्ट देखाएको वडाध्यक्ष नुर्बु डम्डुल गुरुङ्गले बताए।

‘विश्वकै अग्लो स्थानमा रहेको तिलिचो तालको उचाइ ४ हजार ९ सय १९ छ, तर यो ताल २ सय ७१ मिटर अझ उचाइमा छ। त्यसकारण पनि यो ताल विश्वकै अग्लो ताल भयो’, गुरुङ्गले भने। गुगलबाट म्यापिङ गर्दा लम्बाइ ५ सय ११ मिटर चौडाइ ३ सय १३ मिटर देखाएको उनले बताए।

स्थानीय भाषामा यो तालको नाम कुन्ख्येन फालक रहेको बताइएको छ।

‘पाका पुरानाले त्यहाँ ठुलो ताल छ भनेका थिए, त्यसकारण पनि हामी यसपटक उचाइ नाप्ने तयारीसहित गएका थियौँ, यो तालको रङ आकाशे निलो छ, प्राकृतिक हिसाबमा पनि अत्यन्तै मनमोहक र सुन्दर पनि छ’, उनले भने।

कुन्ख्येन फालक ताल विश्वकै अग्लो ताल भएको पुष्टि भइसकेकाले यथाशीघ्र सरकारले प्रमाणीकरण गर्न गाउँपालिकाका उपाध्यक्ष पेमा धोर्चे गुरुङ्गले आग्रह गरे।

डोल्पोबुद्ध गाउँपालिका नै समुद्रि सतहबाट ४ हजार एक सय पर्ने र त्यहाँबाट त्यो तालसम्म पुग्न मोटरसाइकल र पैदलसहित ६ घण्टा लाग्ने उनले बताए।

वडा–६ मा पर्ने फाल गाउँबाटमात्रै दुई घण्टा मोटरसाइकल र एक घण्टा पैदल गरेर तीन घण्टा लाग्ने स्थानीयले बताएका छन्।

ताल रहेको स्थान चिन र नेपालको सीमा नजिकै पर्ने भएकाले यहाँबाट १५–सीमा स्तम्भमा पुग्न दुई घण्टामात्र लाग्ने वडाध्यक्ष गुरुङ्गले बताए।

यो ताल नजिकै अर्को सानो पनि रहेको बताइएको छ।

प्रकाशित मिति: : 2023-09-04 07:19:00

प्रतिकृया दिनुहोस्