दसैँका बेला यातायात व्यवसायी भन्छन्- सडक मर्मत र भाडा नबढाए टिकट बुकिङ खुलाउँदैनौँ

File Photo
File Photo

सरकारले आफ्ना मागहरू पूरा नगरेको भन्दै यातायात व्यवसायीहरूले दसैँका लागि ‘अग्रिम टिकट बुकिङ’ खुलाउन मानिरहेका छैनन्।

यातायात व्यवसायीहरूले राखेका मागहरूमा विभागले भने ‘छलफल भइरहेको’ बताएको छ। तर अहिलेसम्म बुकिङ खोल्ने र खुलाउनेबारे कुनै टुङ्गो लागेकाे छैन।

केही समयअघि मन्त्रालयसँगको एउटा छलफलमा असोज दोस्रो सातादेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने भनेर व्यवसायीहरूले भनेका थिए।

यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरी पनेरुले व्यवसायीसँग छलफल भइरहेको बताए। ‘त्यति ठुलो समस्या छैन। हामी सरोकारवालाहरूसँग छलफलमा छौँ। व्यवसायीहरूसँग पनि अनौपचारिक छलफल चलिरहेको छ। हामी प्रयास गरिरहेका छौँ। चाँडै एउटा टुङ्गोमा पुगेर मिति तोक्छौँ’, उनले भने।

पनेरूले व्यवसायीहरूले सुनिश्चितताको माग गरिरहेको समेत बताए। मुख्य गरेर लामो दुरीको यात्रामा सडकको अवस्था नाजुक रहेकोले सडक सुधार गर्नुपर्ने माग व्यवसायीहरूकाे रहेको उनको भनाइ छ।

मुख्य सडकलाई मर्मतरसम्भार गरी यातायात सञ्चालनलाई सहज बनाउन सडक विभागलाई अनुरोध गरिएको पनेरूले बताए।

‘सबैको आ–आफ्नो कुराहरू हुन्छ, नाफा कमाउन सबैलाई मन लाग्छ। फेरि आफ्नो सवारी साधनलाई सुरक्षित रूपमा चलाउनका लागि उहाँहरूको पहल सही हो’, उनले भने, ‘सडक मर्मतलगायतका सुनिश्चितताकाको कुराहरू राख्नुभएको छ। नारायणघाट-बुटवल, मुग्लिन-पोखरालगायतका यी सडकहरू खराब हुँदा समयको खेर हुन्छ।’

उनले सडकको अवस्था सुधार र आवश्यक तयारीका लागि भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले सडक विभागलाई निर्देशनसमेत दिइसकेको बताए।

‘उहाँहरूले सडक सुधारको सुनिश्चितता खोजिरहनुभएको छ,’ उनले भने, ‘सडकको विषयमा सडक विभागलाई मान्त्रीज्यूले निर्देशन दिइसक्नुभएको छ। मिल्नेबित्तिकै सबै कुरा टुङ्गिन्छन्।’

यातायात व्यवस्था विभागसँगको छलफलमा व्यवसायीहरूले सबै वस्तुको मूल्यवृद्धि भएको र सडक पनि राम्रो नभएको भन्दै दसैँमा सार्वजनिक गाडीको भाडा बढाउनुपर्ने माग राखेका थिए।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले सरकारको गैरजिम्मेवारीका कारण अग्रिम टिकट बुकिङको मिति तय हुन नसकेको बताउँछन्।

‘सडकको अवस्था नाजुक छ। अहिले त २४ घन्टा ढिलो पुग्दा पनि यात्रुको गुनसो छैन तर दसैँका बेला बुकिङ भएको गाडी समयमै पुग्न नसके जिम्मेवारी कसले लिने? त्यतिबेला सबै हाम्रो नै दोष देखाउँछन्’, उनले भने, ‘यातायात व्यवस्था विभागले सडक विभागसँग छलफल गरेर कसरी समयमै गाडी ल्याउन र पुर्‍याउन सकिन्छ त्यसबारे सुनिश्चित गर्नुपर्छ।’

उनले अहिले नै पिच गर्न सम्भव नभए पनि कम्तीमा सडकका खाल्डाखुल्डीहरू पुरेर मर्मत गर्न सकिने पनि बताए। व्यवसायीहरूले बिग्रेका र अचानक अवरुद्ध हुनेखालका सडकहरूको सम्भावित ठाउँहरूमा डोजरलगायत आवश्यक मर्मतका साधानहरू तयारी अवस्थामा खडा गर्न पनि भनेका छन्।

‘सडकको यही हालतमा हामीले गाडी बुकिङ खुलाउँ भन्दा सक्दैनौँ’, उनले भने। स्वाँरले अग्रम टिकट बुकिङका लागि समय अझै बाँकी भएको जिकिर गरे। उनले सरकारलाई काम गरेको देखाउन हतार भएकाले व्यवसायीलाई दबाब दिइरहेको पनि बताए।

‘पहिले पनि ७-८ दिन अगाडि खुल्ने गरेको थियो। अझै त्यति हतार भएको छैन। सरकारलाई दसैँका बेला यस्तो काम गर्‍यौं भनेर देखाउन हतार हुनसक्छ। समय भएको छैन’, उनले भने।

अघिल्लो वर्ष पनि सरकार र व्यवसायीबीच यस्तै विवादहरू चलिरहँदा घटस्थापनाको अघिल्लो दिनदेखि मात्रै टिकट बुकिङ खुल्ला गरिएको थियो।

सरकार निमार्णका लागि मात्र निर्देशन दिएर बसेका कारण संकटमा आएको स्वाँरले बताए। अग्रिम टिकट बुकिङ तथा उपत्यकाबाट बाहिरिने र उपत्यकामा भित्रिने यात्रुवाहक सवारी साधनको सहज सञ्चालनमा यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च, व्यवसायी र मजदुरबीच समन्वय हुनुपर्ने उनको भनाइ छ।

त्यस्तै व्यवसायीहरूले दसैँका लागि बस भाडा बढाउन पनि माग गरेका छन्। बजारमा पेट्रोलियमदेखि हरेक कुरामा मूल्यवृद्धि भएअनुसार भाडा समायोजन नभएको पनि बताए।

बैंकबाट ऋण ल्याएर बस चलाइरहेका व्यवसायीहरू अहिले ब्याजको भारले थिचिएको भन्दै सरकारी दररेटको भाडाअनुसार आफूले अब सार्वजनिक यातायात चलाउन नसक्ने अवस्था आइरहेको पनि दाबी गरे।

‘सबैले हामी व्यवसायीहरू नै फटाहा हुन् भन्ने देखाउन खोजिएको छ। बैंकको ब्याज १७ प्रतिशतभन्दा बढी भइसक्यो। हाम्रा बसका भाडा उत्तिकै छ। तर पनि हामी यात्रुप्रति जिम्मेवार छौँ’, उनले भने, ‘यातायात व्यवसायमा १५ लाख रोजगारी छ। १५ खर्व लगानी छ अनि ४० लाख आश्रित परिवार छन्।’

उनले अहिलेको भाडा दरले बस चलाएको खर्चसम्म धान्न नसकिने अवस्था रहेको दाबी गर्दै समयानुकुल भाडा समायोजन नहुँदासम्म दसैँका लागि थप केही व्यवस्था गर्न नसकिने पनि बताए।

‘पेट्रोलियम पदार्थले ३५ प्रतिशतमात्रै भाडाको सम्बोधन गर्छ। बाँकी ६५ प्रतिशत भाडा गाडीमा प्रयोग हुने टायरदेखि अन्य वस्तुको आधारका निर्धारण हुनुपर्छ। राज्यले व्यवसायीको कुरा नसुने दसैँंमा अग्रिम टिकट खुल्दैन,’ उनले भने, ‘खोल्ने/नखोल्ने हाम्रो भन्दा पनि सरकारको हातमा छ। भाडामा बार्गेनिङ गरेको भन्नुहोला तर व्यवसायीसँग गरेको सहमति सरकारले लागू गर्न सरकार तयार छैन।’ 

प्रकाशित मिति: : 2023-10-03 17:28:00

प्रतिकृया दिनुहोस्