सामाजिक सदभाव बिग्रँदा राष्ट्रिय सुरक्षामै चुनौती

जातीय सद्भाव र धार्मिक सहिष्णुतामा उदाहरणीय रहँदै आएको नेपाली समाजमा पछिल्लो समय एक्कासि अतिवादी घटनाहरू बढ्न थालेका छन्। कतिपय घटना योजनाबद्ध र सुनियोजित भएकाले यो देशको राष्ट्रिय सुरक्षाका लागि दीर्घकालीन चुनौती हुने सुरक्षा निकायको विश्लेषण छ।  

कोशी प्रदेशको नामाकरणलाई लिएर सुरु भएको जात र धर्मको विषयमा भएका हिंसाका घटना पछिल्लो समय तराईंका जिल्लामा पनि बढ्न थालेका छन्। यस्ता घटनाको कारण पत्ता लगाएर तत्काल नियन्त्रण नगरे शान्ति सुरक्षामा दीर्घकालसम्म असर पर्न सक्ने सुरक्षाविद्हरू बताउँछन्। तराईका जिल्लाहरूमा पछिल्लो समय धार्मिक सद्भाव बिथोलिन थालेको छ। मंगलबार दुई समुदायबीच झडप हुने अवस्था आएपछि नेपालगन्जमा कर्फ्यु लगाइएको छ। 

सुरक्षा निकायको विश्लेषण प्रतिवेदनअनुसार सबैभन्दा संवेदनशील अवस्था कोशी प्रदेशमा छ, जहाँ प्रदेशको नामाकरणको विषयलाई लिएर हिंसा सुरु भएकोमा भदौ पहिलो साता धरानमा तनाव बढ्दा प्रशासनले निषोधाज्ञा नै लगाउनुपरेको थियो। कोशीमा आगामी दिनमा जातीय राजनीति अझै बढ्न सक्ने सुरक्षा निकायको विश्लेषण छ। केही समूहले ‘मुक्ति वा मृत्यु’ भनेर सशस्त्र दस्ता बनाएर तालिम दिन थालेका सुरक्षा निकायहरूको प्रतिवेदनमा उल्लेख छ। ‘यही अवस्था रहे आगामी चुनावले कोशी प्रदेशलाई हिंसातर्फ धकेल्न सक्छ,’ एक उच्च सैनिक अधिकारीले भने। 

प्रकाशित मिति: : 2023-10-04 10:52:00

प्रतिकृया दिनुहोस्