अमेरिकाको मेरिल्याण्ड राज्यमा अक्टोबर ५ मा मनाइयो ‘दशैँ डे’

प्रदीप भट्टराई

बाल्टिमोर, अमेरिका

अमेरिकाको मेरिल्याण्ड राज्यमा रहेका नेपालीले अक्टोबर ५ मा उत्साहपूर्वक दशैँ डे मनाएका छन्। मेरिल्याण्ड राज्यले अक्टोबर ५ लाई 'दशैँ डे' का रूपमा घोषणा गरेपछि पहिलोपटक यो दिवश मनाइएको हो।

अमेरिकामा कानून बनाएरै दशैँ डे घोषणा गर्ने मेरिल्याण्ड पहिलो र एक मात्र राज्य हो। यस राज्यको डिस्ट्रिक्ट ८ बाट निर्वाचित नेपाली-अमेरिकी विधायक डा. ह्यारी भण्डारीको अथक प्रयासपछि दशैँ विधेयक कानूनमा परिणत भएको थियो।  

२०१७ मा पहिलोपटक संसदको तल्लो सदनमा दशैँ विधेयक दर्ता गरेका डेलिगेट डा. भण्डारीलाई यो विधेयक पारित गराउन ६ वर्ष लाग्यो। तीनपटकसम्म गरेको प्रयास अन्तत: यस वर्षको संसद अधिवेशनमा दुबै सदनबाट दशैँ विधेयक पारित गरेपछि साकार भयो। गभर्नर वाइज मोरले विधेयक प्रमाणित गरेर दशैँ डे लाई कानूनी मान्यता दिए।

मेरिल्याण्ड राज्यको कानूनमा हरेक वर्षको अक्टोबर ५ लाई गभर्नरले दशैँ डे घोषणा गर्ने उल्लेख छ। त्यही कानूनअनुसार गभर्नर वेज मोरले यस वर्ष अक्टोबर ५ मा पहिलोपटक दशैँ डे घोषणा गरे।

दशैँ डे को पहिलो वर्ष मेरिल्याण्डमा दुई औपचारिक कार्यक्रम आयोजना भए। एउटा कार्यक्रम मेरिल्याण्ड स्टेट हाउसमा आयोजना गरिएको थियो। गभर्नर वाइज मोरले  मे ३ मा दशैँ विधेयक ९६७ मा हस्ताक्षर गरेर प्रमाणित गरेकै कक्षमा आयोजित कार्यक्रममा मेरिल्याण्डका नेपालीहरू सहभागी भएर खुशियाली मनाए।

कार्यक्रममा डेलिगेट डा. ह्यारी भण्डारी, वासिङ्टन डीसीस्थित नेपाली राजदूताबासका उनियोग उपप्रमुख कुमार खरेल र मेरिल्याण्डको नेपाली समुदायका अगुवा प्रतिनिधिहरूको सहभागिता थियो। कार्यक्रममा अमेरिका भ्रमणमा रहनु भएका नेपालका सांसद डा. चन्द्र भण्डारी विशेष अतिथिका रूपमा सहभागी भएका थिए।

दोस्रो कार्यकम नेपाली अमेरिकी सांस्कृतिक केन्द्रमा आयोजना गरिएको थियो। नेपाली समुदायका सदस्यहरूको स्वस्फूर्तरूपमा उल्लेख्य संख्यामा उपस्थिति रहेको कार्यक्रममा सांस्कृतिक केन्द्रको प्राङ्गणमा बनाइएको नेपालको ठूलो नक्साको किनारामा सहभागीहरूले दीप प्रज्वलन गरी खुशी मनाएका थिए।

हाम्रा पुर्खाले बसुधैव कुटूम्बकम् अर्थात् संसार एक परिवार हो भने। हामी संसारभर फैलिएर हाम्रा पुर्खाले भनेको त्यो विश्वव्यापि परिवारको हिस्सा बनिरहेका छौं। मेरिल्याण्डमा दशैँ डे को घोषणा मेरिल्याण्डमा मात्रै हैन, अमेरिकामा पनि नेपाल र नेपाली बिस्तारित भैरहेको उद्घोष हो।
- डेलिगेट डा. ह्यारी भण्डारी, विधायक, मेरिल्याण्ड 

त्यहाँ आयोजित संक्षिप्त कार्यक्रममा डेलिगेट डा. भण्डारीले दशैँ डे विधेयक पारित गर्ने क्रममा गर्नुपरेको प्रयास र संघर्षको कथा सुनाएका थिए। उनले दशैँ डेलाई हिन्दू चाडभन्दा पनि नेपाली सांस्कृतिक पर्वकारूपमा मेरिल्याण्ड राज्यले मान्यता दिएको बताउँदै यसलाई त्यही रूपमा एक विशेष दिवशका रूपमा बुझिदिन आग्रह गरे।

अमेरिकामा कुनै धर्म विशेष विधेयक दर्ता नहुने, कानून नबन्ने प्रावधान रहेको बताउँदै उनले दशैँ डे विशुद्ध सांस्कृतिक उत्सवका रूपमा मनाउन आग्रह गरे। उनले मेरिल्याण्डको कानूनमै दशैँ नेपालमा उत्पति भई दक्षिण एसियामा फैलिएको र अमेरिकामा रहेका दक्षिण एसियालीले समेत मनाउने असत्यमाथि सत्यको जीतको एक सांस्कृतिक पर्वका रूपमा उल्लेख गरिएको बताए।

दशैँको मर्म नै बसुधैव कुटूम्बकम् भएको मेरिल्याण्डको कानुनमै उल्लेख भएको बताउँदै डेलिगेट भण्डारीले भने, ‘हाम्रा पुर्खाले बसुधैव कुटूम्बकम् अर्थात् संसार एक परिवार हो भने। हामी संसारभर फैलिएर हाम्रा पुर्खाले भनेको त्यो विश्वव्यापि परिवारको हिस्सा बनिरहेका छौं। मेरिल्याण्डमा दशैँ डे को घोषणा मेरिल्याण्डमा मात्रै हैन, अमेरिकामा पनि नेपाल र नेपाली बिस्तारित भैरहेको उद्घोष हो।‘

दशैँ डे को कानूनी मान्यताको ठूलो महत्व रहेको बताउँदै उनले भने, मेरिल्याण्डबाट सुरू भएको यो अभियान एक दिन अमेरिकाभरि फैलिने छ। त्यसले अमेरिकामा नेपाल र नेपाली अरू बढी देखिने छन्, सुनिने छन् जसले गर्दा अमेरिकामा नेपालीहरूको मूलधारमा समाहित हुने प्रक्रियाले पनि मान्यता पाउँने छ।

कार्यक्रममा वासिङ्टन डीसीस्थित नेपाली राजदूताबासका नियोग उपप्रमुख कुमार खरेलले दशैँ डेको उपलक्ष्यमा मेरिल्याण्डमा बसोबास गरिरहेका सम्पूर्ण नेपालीलाई नेपाल सरकार र नेपाली जनताका तर्फबाट शुभकामना दिदै वधाइ ज्ञापन गरेका थिए। उनले भने, ‘संयुक्त राज्य अमेरिकाको एक संस्थापक राज्य मेरिल्याण्डले दशैलाई नेपालमा उत्पति भएको चाडको मान्यता दिदै कनून बनाएरै दशैँ डे घोषणा गर्नु नेपाल र नेपालीका लागि यो अत्यन्तै ठूलो उपलव्धी हो। यो उपलव्धीका लागि डेलिगेट डा. भण्डारी धन्यवादका पात्र हुनुहुन्छ, मेरिल्याण्डका नेपाली बधाइका पात्र हुनुहुन्छ।‘

संयुक्त राज्य अमेरिकाको एक संस्थापक राज्य मेरिल्याण्डले दशैलाई नेपालमा उत्पति भएको चाडको मान्यता दिदै कनून बनाएरै दशैँ डे घोषणा गर्नु नेपाल र नेपालीका लागि यो अत्यन्तै ठूलो उपलव्धी हो। यो उपलव्धीका लागि डेलिगेट डा. भण्डारी धन्यवादका पात्र हुनुहुन्छ, मेरिल्याण्डका नेपाली बधाइका पात्र हुनुहुन्छ।
- कुमार खरेल, नियोग उपप्रमुख, नेपाली राजदूताबास, वासिङ्टन  डीसी 

कार्यक्रमलाई नेपालका सांसद डा. चन्द्र भण्डारीले पनि सम्बोधन गर्दै मेरिल्याण्डका नेपालीलाई दशैँ डेको शुभकामना तथा बधाइ दिएका थिए। उनले यो उलपव्धि एक मानक उपलव्धी भएको बताउँदै यसका बारेमा नेपालको संसदमा कुरा उठाउने र नेपाल सरकारलाई पनि यसको महत्वका बारेमा जानकारी गराउने बताए।

यी दुई औपचारिक कार्यक्रमका अतिरिक्त अरू पनि सामुदायिक तथा पारिवारिक भेटघाट कार्यक्रमको आयोजना गरेर शुभकामना आदानप्रदान गरिएको जानकारीमा आएको छ। यद्यपि, दशैँ डे मनाउन सुरू गरिएको वर्ष भएकाले यसले नेपाली समुदायमा वृहदरूप लिन र पुरै सुमदायले अपनत्व लिन भने बाँकि नै छ।  

वास्तवमा भन्ने हो भने अमेरिकामा कानूनमार्फत् नै दशैँ डे को घोषणा हुनु र मेरिल्याण्डजस्तो ऐतिहासिक महत्व भएको संस्थापक राज्यले नेपालमा उत्पति भएको सांस्कृतिक चाडका रूपमा मान्यता दिनु नेपाल र नेपालीका लागि ऐतिहासिक उपलव्धी हो। यसलाई दशैको टीकाको दिनका रूपमा भन्दा पनि अमेरिकामा मनाइने प्रेसिडेन्ट डे जस्तै एक विशेष दिवशका रूपमा लिनु पर्छ।

हो, दशैँ डे हरेक वर्ष दशैको टीकाकै दिन पर्न सकेको भए सुनमाथि सुगन्ध हुने थियो। तर, तिथिमा मनाइने दशैको बाध्यता र मितिमा मात्र चल्ने अमेरिकी पद्धतिका कारण त्यसमा तालमेल हुन सकेन। कानून बनाउने प्रक्रिया अवलम्बन गर्दा त्यसले प्राविधिक पक्ष सम्बोधन हुन नसक्नु स्वभाविकै थियो । तर, दशैँ डे मेरिल्याण्ड राज्यले नेपालीका लागि दिएको ठूलो उपलव्धी ठानेर यसलाई उत्सवका रूपमा मनाउदै यहाँका नेपाली मरिल्याण्डको मूलधारमा समाहित हुन सके भने समयक्रममा त्यसको सम्भावना हुन सक्छ। त्यसका लागि फेरि पनि विधायक डा. ह्यारी भण्डारीले निर्णायक पहल गर्न सक्छन्। तर, यो विधेयक पारित गर्न ६ वर्ष लागिसकेको र त्यसको अभ्यास नै पहिलो वर्ष भैरहेको अवस्थामा यसैलाई खेतीपातीजस्तो पनि बनाउनु हुदैन। यसै पनि  दशैलाई हिन्दू धर्मको रङ दिएर यसको विपक्षमा जनमत सिर्जना गर्ने पहल भैरहेकै छ। त्यसैले अहिलेका लागि यसलाई सांस्कृतिक पर्वका रूपमा मनाएर यसको स्विकार्यताको परिधि बढाउनु नै उत्तम हुन्छ। त्यसो गरियो भने एक दिन विजयदशमीकै दिन दशैँ डे मनाउने सुनमाथि सुगन्धको दिन पनि आउन सक्छ।

 

प्रकाशित मिति: : 2023-10-11 18:34:00

प्रतिकृया दिनुहोस्