सरकारसँग चिनी किन्न, डाक्टर–नर्सलाई दिन पैसा छैन तर विदेश घुम्न जत्ति पनि छ

यही भदौ ३० मा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका उडेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुई हप्ता विदेशमै हराए। 

उनी विदेश उडेदेखि यता नेपालमा भने शिक्षक–चिकित्सकको आन्दोलन उग्र बन्यो।

तर प्रचण्डले विदेश भ्रमण छोट्याउने कुनै कोशिस गरेनन्। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क गएका उनी उतैबाट असोज ५ मा चीन भ्रमणमा गए। 

त्यहाँ कूटनीतिक भेटघाट सकेर एक साताजति उनी ल्हासाको पोताला दरबारदेखि कैलाश मानसरोबरसम्म घुम्न भ्याए।

अमेरिका र चीनको १५ दिन (आधा महिना) को भ्रमण सकेर उनी असोज १३ मा मात्र स्वदेश फर्किए।

प्रचण्ड चीन भ्रमणमा हुँदा चीनमै थिए, परराष्ट्रमन्त्री एनपी साउद, युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, खानेपानी मन्त्री महेन्द्रराय यादव पनि।

उनीहरु चीनको हाङचाउ सहरमा आयोजना गरिएको १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुन गएका थिए। 

प्रधानमन्त्री प्रचण्ड पनि १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुन गएका थिए। प्रचण्ड उक्त कार्यक्रममा जाने पूर्व कार्यक्रम हुँदाहुँदै अन्य मन्त्रीहरुको पनि सोही कार्यक्रमका लागि मन्त्रिपरिषद्ले भ्रमण स्वीकृत गरेको थियो। 

माओवादी केन्द्र (प्रचण्ड) नेतृत्वको सरकारका मन्त्रीहरु पछिल्लो समय विदेश भ्रमणमा जाने प्रतिष्पर्धा नै चलेको छ। राष्ट्रसंघको महासभामा सहभागी हुन प्रचण्डअघि परराष्ट्रमन्त्री एनपी साउद अमेरिका पुगिसकेका थिए। 

२६ भदौमा अमेरिका उडेका उनी उतैबाट प्रचण्डसँगै चीन भ्रमणमा गए। 

यतिमात्र होइन, प्रचण्ड सरकारका आधा मन्त्री विदेश हुँदै गर्दा अर्थमन्त्री डा. प्रकाशशरण महत ५ असोजमा उजिप्ट उडे।

असोज ८ र ९ गते इजिप्टमा भएको एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको आठौँ वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री मतको नेतृत्वको टोली इजिप्ट उडेको थियो। 

यसअघि जेठ १७ गतेदेखि २० गतेसम्म प्रचण्डको भारत भ्रमणका क्रममा उनी पनि थिए। १३ असारमा जी ट्वान्ट्वी फाइनान्स ट्र्याकको बैठकमा सहभागी हुन फेरि महत भारत पुगे। 

अझै अर्थमन्त्रीको भ्रमण सकिएको छैन। उनी आउने मंसिर ७ मा बेलायत जाँदैछन्। उच्चस्तरीय लगानी सम्मेलनमा सहभागी हुन बेलायत जानका लागि भ्रमणको कार्यतालिका पनि मन्त्रिपरिषद्बाट स्वीकृति गराइसकेका छन्। 

कर्मचारीलाई तलब खुवाउने पैसा छैन, मन्त्रीहरू विदेश घुम्न मै मस्त

‘कोभिडका बेलामा राखिएका २ सय चानचुन कर्मचारीलाई अहिले तलब दिन नसकिने भएपछि निकालिएको छ,’ मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले एक कार्यक्रममा भने। 

मन्त्री तहबाट तलब दिन सकिएको छैन भन्दै खुला कार्यक्रममा कर्मचारी निकालियो भन्ने यो विषय वीर अस्पतालको हो। कोभिडको समयमा वीर अस्पतालले २७६ जना स्वास्थ्यकर्मी करारमा नियुक्त गरेको थियो। 

तर अहिले तलब खुवाउन सकिएको छैन भन्दै उनीहरुलाई अस्पतालबाट निकालिएको छ। स्वास्थ्यकर्मी अस्पतालबाट निकालेपछि मन्त्री बन्नेतको आलोचना भएको छ। 

किनकी वीर अस्पतालबाट २७६ जना निकालिएपछि अहिले अस्पतालकाे सेवा प्रभावित भएको छ। वीर अस्पतालका निर्देशक सन्तोष पौडेलले कर्मचारी निकालेपछि सेवा प्रभावित भएको बिएल नपाली सेवासँग बताए। 


याे पनि

कोरोनाकालमा ‘ज्यान थापेका’ डाक्टर–नर्सलाई पैसा नदिएरै निकाल्यो सरकारले


वीरका स्वस्थ्यकर्मीलाई मात्र तलब खुवाउन समस्या भएको होइन। अहिले देशकै आर्थिक अवस्था नाजुक रहेको छ। समयमै बजेट खर्च हुन सकेको छैन। सरकार मातहका कयौँ कर्मचारीले न्युनतम पारिश्रमिक पाएका छैनन्। 

जसमा पैसाको अभाव भएकाले तलब खुवाउन नसकिएको सरकारको प्रतिक्रया आउँछ।

काम गरेको पैसा नभएको भन्दै आन्दोलन गरिरहेका निर्माण व्यवसायीहरू थाकिसकेका छन्। तर दसैंका बेलामा पनि सरकारले उनीहरूलाई भुक्तानी दिन सकेको छैन।

यसअघि अर्थमन्त्रीले नै निर्माण व्यवसायीलाई तिर्नका लागि सरकारसँग पैसा नभएको भनिसकेका थिए। 

अर्थतन्त्र डामाडोल छ। सहरका सटरहरू ‘डाउन’ भइरहेका छन्। ठूला पर्वले आँगन टेकिसक्दा पनि बजार भने सुनसानजस्तै छ। 

सरकारले बजारमा पैसा निकाल्न सकेको छैन। चाडपर्वका बेला चिनीलगायत खाद्यवस्तुको अभावसँगै मूल्य आकाशिएको छ। भारत सरकारसँग किन्ने भने पनि चिनी ल्याउन सरकारसँग पैसा छैन। 

तर सरकारका मन्त्रीदेखि सांसद, सचिव, सरकारी क्षेत्रका उच्च तहका कर्मचारीको विदेश भ्रमण भने प्रतिपर्धाका रुपमा देखिएको छ। 

पछिल्लो दुई महिनाको मन्त्रिपरिषद्को निर्णय हेर्ने हो भने प्रत्येक मन्त्रिपरिषद्को बैठकमा मन्त्रीको विदेश भ्रमण स्वीकृत नभएकाे निर्णयनै भेटिदैन। 

विदेश भ्रमणको विषयलाई लिएर प्रश्न उठ्न थालेको छ। प्रचण्डको चीन भ्रमणका क्रममा नेकपा एमाले सचिव योगेश भट्टराईले मन्त्रीहरुको विदेश भ्रमणलाई लिएर हरेक दिन मन्त्रीको विदेश भ्रमण हुने गरेको टिप्पनी गरेका थिए। 

उनले अधिकृत जाने ठाउँमा मन्त्रीहरु गएको बताउँदै मन्त्रीहरुको विदेश भ्रमणको औचित्यमाथिसमेत प्रश्न उठाएका थिए। 

साउनयता कुन मन्त्रीको भ्रमण कहिले भयो स्वीकृत? 

असोज १६ गतेको मन्त्रिपरिषद्को बैठकले गरेका भ्रमण स्वीकृति:
– सिटी अफ लण्डनको मनसन हाउसमा आयोजना हुने उच्चस्तरीय लगानी सम्मेलनमा सहभागी हुन अर्थमन्त्री डा. प्रकाशशरण महतको प्रतिनिधि मण्डलको टोलीलाई स्वीकृति 

– नेपाल सरकार र जर्मनी सरकार एवम् नेपाल र रोमनीया सरकारबीच द्वीपक्षीय श्रम सम्झौतासम्बन्धी कार्यक्रममा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको नेतृत्वलाई स्वीकृत 

भदौ २९ गते
– मोरोक्कोको माराकेसमा आयोजना हुने विश्व बैंक समूह र अन्तराष्ट्रिय मुद्रोकोषको संयुक्त वार्षिक बैठकमा भाग लिन अर्थमन्त्रीको टोलीलाई स्वीकृति

– प्रधानमन्त्रीको असोज ६ गते देखि १३ गतेसम्म चीनको औपचारिक भ्रमणको कार्यक्रम स्वीकृति 
– चीनको होङझाओ शहरमा आयोजना हुने १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुन खेलकुद मन्त्री र सचिवलाई स्वीकृति 

भदौ २१ गते
– चीन बेइजिङमा असोज ८ देखि ९ गतेसम्म आयोजना हुने ग्लोबल सस्टेनेवल ट्रास्टपोर्ट विषयक कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चापागाईलाई सहभागी हुने स्वीकृति 

भदौ १२ 
– नेदरल्याण्ड्समा हुने पुर्वाधार लगानी सम्बन्धी कार्यक्रममा सहभागी हुन शहरी विकास मन्त्री सीता गुरुङको नेतृत्वलाई स्वीकृति 

– इजिप्टको राजधानी कायरोमा हुने एक कार्यक्रमका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतलाई सहभागी हुन स्वीकृत

साउन ३०
– असोज ८ र ९ गते इजिप्टको शार्म एल शेखमा आयोजना हुने एसियाली पूर्वाधार लगानी बैंको बोर्ड अफ गभर्नर्सको आठौँ वार्षिक बैठकमा अर्थमन्त्री नेतृत्वको टोलीलाई सहभागी हुन स्वीकृति 

– न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्र संघको ७८औँ महासभामा सहभागी हुन प्रधानमन्त्री मण्डलको प्रतिनिधि टोलीलाई स्वीकृति

साउन २३ 
– थाइल्याण्डको बैंककमा भदौ ५ र ६ गते आयोजना हुने एलएलडिसीमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई स्वीकृति 

असार २६
– थाइल्याण्डले आयोजना गर्ने बिमस्टेक परराष्ट्र मन्त्रीहरुको रिट्रिटमा भाग लिन परराष्ट्रमन्त्री नारायण प्रकास साउद (एनपी साउद)को टोलीलाई स्वीकृति 

असार १९
– थाइल्याण्डको बैंककमा हुने एक कार्यक्रमका लागि शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीलाई स्वीकृति 

असार १२
– साउन ८ गतेदेखि १० गतेसम्म युएईमा हुने अन्तराष्ट्रिय सौर्य गठबन्धनको क्षेत्रीय समितिको पाँचौ बैठकमा सहभागीका लागि उर्जा, जलस्रोत तथा सिंचाईमन्त्रीलाई स्वीकृति 


याे पनि

सहरमा पैसा छैन अचेल, महँगीमात्रै छ, ब्यापार छैन सटरमात्रै छन् त्यो पनि खाली

प्रकाशित मिति: : 2023-10-12 21:26:00

प्रतिकृया दिनुहोस्