प्रसाईं समर्थकहरू किन जुधिरहेका छन् प्रहरीसँग?

कमल विक

काठमाडौं
तस्बिर: रविन पुन मगर (आइडु)
तस्बिर: रविन पुन मगर (आइडु)

‘राज्यसत्ता’ उल्टाउने घोषणासहित बिहीबार बल्खुमा आन्दोलन गरेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले शुक्रबारको प्रदर्शन तीनकुनेमा गर्ने तय गरेको थियो।

पूर्वनिर्धारित योजनाअनुसार दुर्गा प्रसाईंले नेतृत्व गरेको अभियानका समर्थकहरु बिहान तीनकुनेमा भेला हुँदै थिए। तर, उनीहरुले तीनकुनेमा पाइला के टेकेका थिए, प्रहरीले झ्यापझुप समातेर गाडीमा हाल्यो।

तीनकुनेमा समर्थक समातिँदा भक्तपुरस्थित निवासमा दुर्गा प्रसाईंसहित अभियानका प्रमुख व्यक्तित्वहरु प्रहरी घेरामा थुनिएका थिए। पुरानोठीमिस्थित प्रसाईंको घर सयौँ प्रहरीले घेरेको छन्, जहाँ प्रसाईंसहित नेताहरु छन्।

आफ्नो घर प्रहरीले घेरेपछि प्रसाईंले यसलाई सरकारकाे ‘होम एरेस्ट’ भनेका छन्।

यो समाचार तयार पर्दासम्म प्रहरीले प्रसाईंका दुई सय बढी समर्थकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अधिकांश तीनकुनेमा आन्दोलन गर्न आउनेहरु छन्। भने, केहीलाई पार्टी प्यालेस र धर्मशालाबाट पक्राउ गरेको छ।

‘हाम्रा दुई सयभन्दा बढी समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको छ,’ आन्दोलन संयोजक हरि कार्कीले टेलिफोन सम्वादमा भने, ‘हामीविरुद्ध प्रहरी आक्रमक देखियो, दुर्गा प्रसाईंको घर घेरेको छ, होटल र पार्टी प्यालेसमा पुगेर सबैलाई समातेको छ, कोही त बाटोमा हिँड्दा पनि पक्राउ परेका छन्।’

काठमाडौँका तीनै जिल्लाका प्रशासनले प्रसाईंका समर्थकलाई जहाँ भेट्यो त्यही समात्ने अघोषित नीति लिएको छन्।

किन?

प्रसाईं नेतृत्वको अभियानले केही महिना अगाडिबाटै माइतीघर मण्डलामा आन्दोलन गर्ने घोषणा गरेको थियो। तर, प्रसाईंलाई टक्कर दिन नेकपा (एमाले)निकट युवा संघले पनि एकैदिन (मंसिर ७)गते माइतीघरमै आन्दोलन गर्ने घोषणा गर्‍यो।

प्रसाईं र युवा संघका महेश बस्नेत एकअर्काविरुद्ध आक्रमक बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले दुवै समूहलाई आन्दोलनको लागि छुट्टछुट्टै स्थान तोकिदियो। प्रसाईंको भागमा बल्खु पर्‍यो, युवा संघको भागमा तीनकुने।

दुवै समूहले बिहीबार आ–आफ्नो ठाउँमा आन्दोलन गरे।

युवा संघले तीनकुनेमा शान्तिपूर्ण आन्दोलन गर्दा बल्खुमा हजारौँको भीडमा उभिएका प्रसाईंले युवा संघसँग भिड्न नपाएकोमा चिडिए।

र, उनले त्यही भिडबाट घोषणा गरे,– भोलि हाम्रो कार्यक्रम तीनकुनेमा हुन्छ।

प्रसाईंलाई युवा संघ जहाँ उभिन्छ, त्यही उभिने सोख थियो।

उनी शुक्रबार (आज) तीनकुने आएर युवा संघलाई देखाउने घोषणा गरेर उत्तेजित भिडलाई अलपत्र छाडेर लुसुक्क घरतिर लागे।

समर्थकहरु भने प्रहरीसँग पैँठेजोरी खेलिरहे।

दुर्गा प्रसाईं आज (शुक्रबार) बिहान तीनकुनेमा पुगेर महेश बस्नेतलाई गाली गर्ने र सरकारविरुद्ध नाराबाजी गर्ने योजना बुन्दै थिए। जिल्ला प्रशासन काठमाडौँले विज्ञप्ति निकालेर बन्यो,– दुर्गा प्रसाईंलाई तीनकुनेमा आन्दोलन गर्ने अनुमति छैन।

दुर्गा प्रसाईंले अटेरी गरे।

आफू घरमा बसेर समर्थकलाई तीनकुने पठाए। तिनै समर्थकहरुले प्रहरीको लाठी खाए। समातिएर ‘खोर’मा पुगे।

तीनकुनेमा समर्थक पक्राउ पर्दैगर्दा प्रसाईंले घरमा पत्रकार बोलाइसकेका थिए।

घरको दैलोमा ‘पोडियम’ ठड्याएर भने,– ‘अब यी चेलिबेटीसहित हामी प्रचण्ड र ओलीको घर घेर्न जानेछौँ। अब उनीहरुले नै उहाँ (महिला)हरुको जिम्मा लिनुपर्नेछ।’

त्यसपछि प्रसाईंका समर्थक झन् उत्तेजित बने।

प्रसाईंको आन्दोलनमा सहकारी पीडित, लुघवित्त पीडित, राजावादी र कट्टर हिन्दूवादीहरु छन्। उनीहरु यसै निराश र आक्रोशित छन्, त्यसमाथि दुर्गा प्रसाईंले उत्तेजित अभिव्यक्ति दिएर उचालिरहेका छन्।

प्रसाईंका अभिव्यक्ति सुन्दा लाग्छ,– कोही पनि मान्छे अडिन सक्दैन, आक्रमक बनिहाल्छ। जुन दुई दिनयताका परिदृश्यहरु हेर्दा हुन्छ।

शुक्रबार बल्खुमा शान्तिपूर्ण आन्दोलन भइरहेको थियो। त्यही क्रममा भिडबाट सम्बोधन गरिरहेका दुर्गा प्रसाईंले भने,– अब हामी सहर पसऔँ।

सरकार र व्यवस्थाविरुद्ध चर्काे भाषण गर्दै प्रसाईंले समर्थकलाई सिंहदरबार घेर्न जाने भन्दै भीडलाई कालीमाटीतर्फ मोडे।

भीडलाई सिंहदरबार छिर्न आदेश दिएर प्रसाईं घर फर्किए।

निषेधित क्षेत्र तोडेर कालीमाटीतर्फ छिर्न खोजेका प्रसाईंका समर्थकहरुमाथि प्रहरीले अश्रुग्यास र पानीका फोहरा प्रहार गर्‍यो। त्यसक्रममा प्रहरी र समर्थकबीच भिड्न्त भयो। केही प्रहरीसहित एक दर्जन कार्यकर्ता घाइते भए। उनीहरुकाे अहिले पनि उपचार भइरहेकाे छ।

प्रहरीमाथि ढुङ्गामुढा प्रहार गर्ने प्रसाईंका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। अन्यलाई खोजिरहेको छ।

त्यस्तै प्रसाईंले बुधबार राति युवा संघका कार्यकर्ताबाट दुर्व्यवहारमा परेका महिलाहरुको घटनालाई लिएर भिडलाई अझै उत्तेजित पारिरहेका छन्, न कि उनको संगठनले दुर्व्यवहारको कानुनी उपचार खोज्यो।

प्रसाईंको उत्तेजना र समर्थकको आक्रोशबाट हुन सक्ने सम्भावित जोखिम न्युनिकणको लागि उपत्यकाका तीनै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) प्रशासनले केही स्थानहरुमा निषेधाज्ञ जारी गरेका छन्।

यता दुर्गा प्रसाईं भने आफ्नो एजेन्डाहरु उचित ढङ्गले प्रस्तुत गर्नुको साटो निरन्तर भिडलाई उत्तेजित पार्नमा उद्त देखिन्छन्, जसकारण प्रसाईंकाे समर्थक बनेका सहकारी तथा लघुवित्त पीडितहरुको टाउको लाठी बर्सिरहेको छ। पक्राउ परिरहेका छन्।

अर्थात्, प्रसाईंले सहकारी र लघुवित्त पीडितको भावनालाई जबर्जस्त प्रहरीसँग जुधाइरहेका छन्।

सम्बन्धित भिडियाे :

प्रकाशित मिति: : 2023-11-24 22:23:00

प्रतिकृया दिनुहोस्