थाम्ककी आँबै

कमल प्रभात

अर्घाखाँची
BreaknLinks
BreaknLinks

रुखैरुखले घेरिएको एक्लो घर। आँगनको डिलमा बसेका थिए, सन्तोष जिसी। घरभित्र आँबै आगो फुकिरहनुभएको थियो।

बिहान ११ बजेतिर टुप्लुक्क, पुगेँ म। 

खुसीले गदगद्  हुनुभयो आँबै।

मुसुक्क हाँस्यो सन्तोष।

यही घरको आँगनी र आँबैको अगाडि–पछाडि खेलेर हुर्किएको भएपनि मलाई उहाँको नाम थाहा छैन। उहाँको घर थाम्क (पहाडको अन्तिमतिरको समथर ठाउँ)मा भएकोले हामीले सानैदेखि उहाँलाई ‘थाम्ककी आँबै’ भन्छौं।

थाम्ककी आँबैको उमेर ७० आसपास होला।

थाम्ककी आँबै कम सुन्नु हुन्छ। दुई–चार शब्दबाहेक बाँकी शब्द स्पष्ट उच्चारण गर्न पनि सक्नुहुन्न।

मैले जान्ने बुझ्ने भएदेखि उहाँले राम्रोसँग सुनेको र बोलेको थाहा पाएको छैन।

उहाँको नाती हो, सन्तोष। ऊ मेरै उमेरको हो।

ऊ सुन्न त सुन्छ तर स्पष्टसँग बोल्न सक्दैन। उसका केही–केही कुरा बुझिन्छन्। उसको मानसिक अवस्था पनि कमजोर छ। ऊ हत्तपत्त कुनै पनि काम गर्न सक्दैन।

ऊ पछिसम्म पनि स–साना केटाकेटीहरुसँग स्कुल जान्थ्यो तर पढ्न सकेन। उसको क्षमताअनुसारको सीप वा ज्ञान दिने कोसिस कसैले गरेनन्। ऊ जाँगरिलो र बलियो छ, घरको काम सबै गर्छ। मात्र यत्ति हो, उसलाई उचित बाटो देखाउने कोही भएन।

डेढ दशकअघि ...
थाम्ककी आँबैको घरभन्दा ट्याक्कै मुन्तिर हाम्रो घर थियो। खरले छाएको। झुपडी।

म त्यहाँ जन्मिएको होइन्। हामी अन्तैबाट बसाइँ सरेर गरेका थियौँ। त्यतिबेला आसपासका अन्य गाउँभन्दा यो गाउँ (कोइरालकोटा) सुगम र सहज थियो।

त्यतिबेला मान्छेलाई चाहिने, घाँस, दाउरा, पानी, अन्नबाली, फलफूललगायत सबै कुरा थियो, यहाँ। अन्य सरसामान किन्न भने करिब आधा घण्टा हिँडेर टाढासम्म जानुपर्थ्यो। त्यतिबेला त्यो पनि सुविधा हो। किनभने, हाम्रा बाजे–बराजु नून–चामल किन्न हप्तौँ दिन हिँडेर पथ्थरकोट पुग्नुहुन्थ्यो रे!

कोइरालकोटामा हाम्रोसहित १०–१२ वटा घर थिए। भिरालो जमिनमा लहरै ठडिएका थिए, घरहरू।

गाउँमा खेत–बारी थिए। गहुँ, मकै, कोदो र तरकारी उत्पादन हुन्थ्यो। भिरालो जमिन, उत्पादन भने त्यति धेरै हुँदैन्थ्यो।
घाँस/दाउराको लागि वन–पाखा प्रशस्त थिए। अरु गाउँका मान्छेहरु पनि आउँथे।

गाउँका धेरैजस्तो लोग्नेमान्छे कर्मी काम गर्न टाढा–टाढासम्म पुग्थे। काठ र ढुङ्गा माटोलगायत प्रयोग गरेर घर-गोठ बनाउने मान्छेलाई कर्मी भनिन्छ। कर्मी अर्थात्, सिकर्मी, डकर्मीलगायत काम गर्ने मान्छे। यहाँका मान्छेले यही काम गरेर जीवन चलाएका थिए। 

त्यतिबेला गाउँमा नयाँ घर बनाउनेहरु धेरै थिए। काम पनि प्रशस्तै पाइन्थ्यो।

हामी (केटाकेटी)हरू खेल्थ्यौँ, जंगल–जंगल र खोला–खोला डुल्थ्यौँ। जंगलमा हरेक समय केही न केही फलफूल पाइन्थ्यो। जस्तो: काफल, ऐँसेलु, किम्मु...
०००
हामी जति–जति हुर्किँदै थियौँ, गाउँका विरुवाहरु पनि हुर्किरहेका थिए। बिस्तारै पखेराहरुमा रुखहरु बाक्लिए।

जंगलका बाँदरहरु खेत–बारी हुँदै घर–घर छिर्न थाले। बाँदरले आताङ्क मच्चाउन थालेपछि गाउँलेहरू पनि बिस्तारै गाउँ छाड्दै सहर छिरे।

सहर (सदरमुकाम सन्धिखर्क) छिरेकाहरु बाँगी खोलामा बालुवा चालेर र मजदुरी गरेर जीवन गुजारा गर्न विवश हुनु भयो। उहाँहरु अहिले पनि त्यस्तै त्यस्तै काम गर्नुहुन्छ।

एक–एक गर्दै गाउँ छाड्नेहरू बढे। काेही कता गए, काेही कता। हामी पनि जहाँबाट बसाइँ सरेर गएका थियौँ त्यहीँ फर्कियौँ।

त्यहाँका मान्छेहरु गाउँ सर्नुको मुख्य कारण रोजगारी र पैसाको अभाव हो। त्यतिबेला गाउँका मान्छेहरु काम धेरै नै गर्थे तर कामको सम्मान र पुग्दो पैसा थिएन्।

त्यसमाथि आधुनिकरणको बिस्तारसँगै मान्छेले गाउँमा कमाएको पैसा वा सम्पत्तिले पुग्न छाड्यो।

त्यतिबेला गाउँमा बिजुली थिएन। विद्यालयहरू पनि टाढा थिए।

अन्ततः कोइरालकोट रित्तियो। तीनघर मात्र बाँकी रहे। त्यही तीनघर मध्येको अन्तिमको घर हो थाम्ककी आँबैको। थाम्ककी आँबैको घर अरु दुईघर भन्दा धेरै तल पर्छ।

यही एकान्तको एक्लोघरमा आँबै र सन्तोष मात्र बस्न थालेको डेढ दशक भयो।

थाम्ककी आँबैका श्रीमान बितेको डेढ दशक बित्यो।

उहाँका तीनभाइ छोरा छन्।

गाउँमा रोजगारी नपाएपछि उहाँहरू तीनैभाइ  इन्डियातिरै छन्। परदेशिएको त दुई दशकभन्दा बढी भयो। उहाँहरुको कृषिबाहेक कुनै त्यस्तो विशेष पुर्ख्यौली पेसा थिएन्। सीप नभएपछि रोजगारी नमिल्नु स्वभाविक हो। उहाँहरू कामको खोजीमा भारत जानु भयो। र, उतै घरजम गर्नु भयो।

थाम्ककी आँबैका तीनभाइ मध्ये जेठो छोराको दोस्रो सन्तान हो, सन्तोष। ऊ पनि केही वर्ष भारतमै बसेको थियो। पछि आमा–बुबाले घर ल्याएर छोडेका हुन्।

घरका सबैजना लाहुर गए, आँबै र सन्तोष घरमै छुटे। सायद उहाँहरूको लाहुर गएर काम गर्न सक्ने अवस्था थिएन।

बेला–बेलामा छोराहरु गाउँमा आउनुहुन्छ। केही दिन बस्नुहुन्छ अनि फेरि फर्किनुहुन्छ।

विदेशिनु पर्ने उहाँहरूको बाध्यता हो। गाउँमा एक्लिनु आँबै र सन्तोषको दुर्भाग्य। युवा गाउँमा बस्न पाएनन्, आँबै र सन्तोष परिवारसँग।

०००
थाम्ककी आँबैका छोरा–बुहारीहरू गाउँमा आएर बस्न सक्ने वातावरण छैन। बस्ने पनि कसरी गाउँ बस्न योग्य छैन।

मान्छे सहर छिरे। बाँदर, सारो (दुम्सी), बँदेल, रातेलगायत वन्यजन्तु गाउँ छिरे। यी जनावरले खेत-बारीमा लगाएको अन्नबाली रहन दिन्नन्।

खेत-बारीमा लगाएको अन्नबाली जनावरलाई ठिक्क। यस वर्ष एक डोका मकै पनि उनीहरुले भित्र्याउन पाएनन्, सबै बाँदरले खायो।

बाँदरले मकै नष्ट गरिदिएपछि गाउँपालिकाले १० हजार क्षतिपूर्ति दिने वाचा दिएको थियो रे तर, त्यो कसको खल्तीमा पुग्यो थाहा छैन। उनीहरुले पाएका छैनन्।

गाउँमा कालोपत्रे गरेको सडक छ। बिजुली छ। विद्यालय छन्। स्वास्थ्य चौकी छन्। एम्बुलेन्स छन्। खानेपानी छ। स्वच्छ हावापानी। सबै छ। तर, गाउँका सबै विकास र सुविधालाई ‘राजनीतिक दलाल’हरूले अर्थहीन बनाइदिएका छन्।

गाउँमा विद्यालय छन्। शिक्षक छैनन्, सबै पार्टीका रैतीहरू छन्। उनीहरुलाई नानीबाबूहरूको भविष्यको चिन्ता छैन, पार्टीको चिन्ता छ। उनीहरू खुलेआम राजनीति गरिरहेका छन्। स्थानीय तहमा आउने बजेटदेखि सबै सुविधामाथि ‘दलाल’हरूको रजाइँ छ। त्यसविरुद्ध बोल्ने कोही छैन। गहिरिएर सोच्दा लाग्छ, गाउँ त अब ‘दलाल’हरूको लागि मात्र हो।

गाउँको अवस्था यस्तो बनाइएको छ कि कोही पनि गाउँ फर्किएर टिक्ने अवस्था छैन। कसैका आमा–बुबालाई पनि लाग्दैन हाम्रा सन्तान घर फर्किने छन्।

र, थाम्ककी आँबैलाई पनि लाग्दैन, अब छोरा–बुहारी घर आउनेछन् र गाउँ हराभरा बनाउने छन्।
०००
थाम्ककी आँबैको घर आसपास दिउँसो एक/दुई जना घँसारीहरु आएपनि साँझ परेपछि कोही आउँदैनन्। आउँछ त केबल चराचुरुङ्गी, चितुवा, राते (मृग) र स्यालको चिच्याहट। कहिले काहीँ त बाघ/चितुवा आँगनमै आएर कराउँछ। घरबाहिर बाघ/चितुवाले आतङ्क मच्चाउँदा जे त होला भनेर घरभित्र मुटु दह्रो बनाएर बस्छन्, आँबै र सन्तोष।

चितुवाले कयौँपटक खसी–बाख्रा खायो।

दिउँसो त कोही न कोही मान्छेहरू आइरहन्छन्। तर, जब साँझ छिप्पिदै जान्छ तब डरले आँबै र सन्तोषको मुटु फुल्लिदै जान्छ।

एक्लोघरमा जंगली जनावरको डर जति हुन्छ, त्यति डर मध्यरातमा बिरामी परिने हो कि भन्नेको छ।

त्यही पनि डरै डरमा बस्न विवश छन्, आँबै र सन्तोष।
०००
घरमा खासै मान्छे नआउने। आए पनि नपस्ने। यस्तो बेला एक्कासी टुप्लुक्क म आँगनमा झुल्किँदा आँबैको अनुहारमा छुट्टैखालको खुसी हरहराइरहेको थियो। मलाई देखेर कोही मान्छे यति धेरै खुसी भएको मैले पहिलोपटक देखेँ। जुन खुसी बेग्लै किसिमको थियो।

आँबैले हतार–हतार चिया बनाएर ल्याउनुभयो। सँगै बसेर पिउनु भयो।

आँबैले चिया बनाएर ल्याउँदासम्म मैले झोलाबाट क्यामेरा निकालिसकेको थिएँ। क्यामेरा देखेपछि आँबैको हाउभाउ फेरियो। उहाँ सकभर क्यामेरामा देखिन चाहनु हुन्थ्यो। चिया खाउन्जेल आँबैले धेरै कुरा गर्नु भयो। सायद उहाँको बोलीमा बेदनाहरू थिए होलान्।

मैले धेरै कुरा बुझ्न सकिनँ। मेरा कुरा उहाँले पनि बुझ्नु भएन। कुराकानीको क्रममा कहीँ–कहीँ सन्तोषले पनि सहजीकरण गरेको थियो। तर, मैले राम्रोसँग बुभ्न सकिनँ।

आँबैले छिनभरमै सुन्तला टिपेर ल्याउनु भयो। गोठका भरिभराउ वस्तुभाउ देखाउनु भयो। यी सबै कुराहरु गरिरहँदा आँबै यति खुसी हुनु भयो कि त्यसको कुनै सीमा थिएन्।

म गाउँमा बस्न छाडेको आठ वर्ष बितिसकेको थियो। त्यसबीचमा म कोइरालकोटा गएको थिएन।

आजसम्म त थाम्ककी आँबैलाई पनि लागेको थियो होला, कोही युवा अब गाउँ फर्किने छैनन्। फर्किए पनि आफ्नो घरको आँगनी टेक्ने छैनन्।

गाउँमा युवा छैनन्। सहर र विदेश पसेकाहरुको गाउँ फर्किने आशा पनि छैन। गाउँका बा–आँबैहरूले गाउँ छाडेर सहर र विदेश पसेका सन्तान फर्किन्छ र गाउँमै बस्छन् भन्ने आश मारिसकेका छन्।

अवस्था यस्तै रहिरहे हामी सबैका आमा–बुबा ‘थाम्ककी आँबै’ बन्ने निश्चित छ।

प्रकाशित मिति: : 2023-12-02 19:49:00

प्रतिकृया दिनुहोस्