छाेरीकाे मुटु जाेगाउँदा-जोगाउँदै हजार मुटु चिरेका डाक्टर

मिनु गोले

काठमाडाैँ
BreaknLinks
BreaknLinks

वर्ष दिनपछि रसियाबाट घर फर्किएका थिए, प्रेमराज वैद्य। वर्ष दिनअघि छुटेका साथी, आफन्तलाई भेट्न। अनि भेट्नु र हेर्नैपर्ने सबैभन्दा प्रियजन थिइन्, डेढ वर्षकी छोरी।

श्रीमती सुशिला शाक्य (वैद्य)सँगै ३ महिनाकी छोरी छोडेर उनीहरू डाक्टरी पढ्न रसिया पुगेका थिए। कलेज बिदाको मेसो मिलाएर उनीहरू घर आए।

जन्मिएको ३ महिनामा छाडेको छोरीसँग भेट हुँदै थियो। घरका आमाबा, साथीभाइ, आफन्तसँग। घर फर्किएर रम्ने योजना पनि थियो, रसियामै हुँदा।

तर, उनको रसियामा अंकुराएका खुसी घरको सम्झनाले टिक्न सकेनन्। घर आएपछिमात्रै थाहा भो- छोरी बिरामी थिइन्। अस्पतालबाट फर्काइएकी।

घरमा आएपछि भने आमाबाले भने, ‘छोरी बिरामी परेर पाटन अस्पतालमा उपचार गएर ल्याएको हौँ।’

छोरी दुब्ली भएकी थिइन्, ख्याउटे अनुहार।

छोरीको मुटुमा समस्या देखाइदिएको थियो अस्पतालले।

छोरीको बिरामीको त्यो खबर प्रेमराजले रसिया हुँदा पाएका थिएनन्। प्रेमराजले मात्र होइन, उनकी श्रीमती सुशीलाले पनि खबर पाएकी थिइनन्। किनकी उनीहरु रसियामा परीक्षा दिँदै थिए। त्यसैकारणले घरबाट बिरामीको खबर उनीलाई सुनाइएको थिएन।

बिरामी छोरीको उपचार गर्न नेपालमा कति सम्भव छ? उनीहरुले सोचे। पढ्न त प्रेमराज पनि डाक्टरी पढ्न रसिया गएका थिए। सानैदेखि बाको क्लिनिकमा बिरामी, औषधि, सुईसँग परिचित भएका उनी एचए (हेल्थ असिस्टेन्ट) पढेर केही अस्पतालमा काम पनि गरिसकेका थिए।

उनले नेपालमा छोरीको उपचार नहुने थाहा पाए। भारतमा पुगेर चेकजाँच गर्दा मुटुमा समस्या भएको रहेछ। त्यसपछि उपचारका लागि छोरी पनि रसिया लगे।

रसियामा उपचार सम्भव थियो। छोरीको उपचार भयो। सँगै बसेर छोरीलाई पनि केही समय उतै पढाए।

सन् १९९८ मा श्रीमान-श्रीमती दुबैले एमबीबीएस अध्ययन पूरा गरे र त्यसपछि विशेषज्ञ अध्ययनमा लागे।

छोरीको कारण मुटु रोग विशेषज्ञ

प्रेमराजले डाक्टर बन्ने सपना ७ कक्षा पढ्नुअघि नै देखिसकेका थिए। जब उनले आफ्नो बुवाको क्लिनिकमा काम गर्न थाले, त्यसपछि उनीलाई डाक्टर बन्छु भन्ने थियो।

उनका बुवा जागिरका दौरान तेह्रथुम थिए। प्रेमराज उतै जन्मिए, हुर्किए। बुवाले जागिर छाडेर हेटौँडा गए। उनी पनि उतै गए। त्यसपछि उनको हेटौँडाबाट औपचारिक शिक्षा सुरु भयो।

७ कक्षा पढ्दै गर्दा बिरामी, औषधि, सुईसँग खेल्न थालिसकेका थिए, उनी। ‘बुवाको क्लिनिकमै सानैदेखि काम गरेको हुँ। प्राथमिक उपचार गर्ने, घाउमा ड्रेसिङ, औषधि दिने काम पहिले नै गरेँ मैले,’ प्रेमराज भन्छन्।

सानैदेखि डाक्टर बन्ने सपना भएपनि कुन डाक्टर भन्ने थिएन। तर, जब छोरी मुटु रोगको बिरामी भइन्। नेपालमा उपचार त के, रोगसमेत पत्ता लागेन, अनि उनी मुटु रोगसम्बन्धी पढ्न थालेको बताउँछन्।

२०१७ सालमा तेह्रथुममा जन्मिएका प्रेमराजका ६ दाजुभाइ र एक बहिनी थिए। सबैलाई डाक्टर पढ्न इच्छा भए पनि अन्य दाजुभाइले भने डाक्टरी पढ्न पाएनन्।

१९ वर्षमा जागिर

१६ वर्षमा प्रेमराजले एसएलसी पास पारे। एसएलसीपछि काठमाडौँको महाराजगञ्जमा एचए (हेल्थ असिस्टेन्ट) पढे। १९ वर्षकाे हुँदा उनी स्वास्थ्यकर्मी भइसकेका थिए।

अर्थात जागिर खान थालिसकेका थिए। २०३६ मा एचए सकेर मकवानपुरको कुलेखानीस्थित मार्खु स्वास्थ्य चौकीमा पुगे। जागिरको समयमा दैनिक १५० जनासम्म बिरामी हेर्नु परेको उनी सुनाउँछन्।

जागिरे जीवनलाई नौ महिनामै अन्त्य गरेका उनले पछि हेटौँडामा बुवाको क्लिनिकमा काम गरे। तर, उनको मन एचएसम्ममा मात्रै अडिएको थिएन। त्यसैले उनी रसियातिर लागे। त्यहाँ एमबीबीएसको तयारी र त्यसपछिको विशेषज्ञ पढाइका लागि उनीहरूले दश वर्ष बिताए।

सन् २००१ तिर नेपाल फर्किँदा उनी मुटुको शल्यचिकित्सक भइसकेका थिए।

वीरमा बन्द भएको मुटुको शल्यक्रिया सुरु

नेपालको ठुलो सरकारी अस्पताल वीरमा मुटुको शल्यक्रिया हुँदैनथियो। अर्थात बन्द भएको थियो। रसियाबाट फर्किएर प्रेमराजले डिसेम्बर २००१ देखि वीरमा ६ महिना बिना तलब काम गरे।

उनी त्यसपछि भक्तपुर जिल्ला अस्पतालमा अस्थायी जागिरे बने। त्यहाँ धेरै काम गरेनन्। वर्ष दिन नपुग्दै फेरि वीरमा फर्किएका प्रेमराजले वीरमा बन्द भएको मुटुको शल्यक्रिया पुनः सुरु गरेका थिए।

‘म आएपछि वीर अस्पतालमा बन्द भएको मुटुको शल्यक्रिया पुनः सुरु गरेँ। त्यसपछि वीरमा बिरामी आउन थाले। त्यसपछि मेरो काम देखेर मन्त्रालयले पनि मलाई तलब दिन थाल्यो,’ उनी भन्छन्।

नेपालदेखि विदेशी अस्पतालको अनुभव

प्रेमराज डाक्टर बनेर आएपछि सुरुमा वीर अस्पतालमा काम गरे। त्यसपछि भक्तपुरको जिल्ला अस्पतालमा अस्थायी जागिरे भए। त्यहाँ काम गरेको तीन महिनापछि उनलाई काजमा सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा पठाइयो।

त्योबेला गंगालालको नेतृत्वमा डा. भगवान कोइराला थिए। तर, गंगालालमा तीन महिनासम्म काम गर्दा पनि तलब पाएनन्। त्यहाँबाट नर्भिक अस्पतालमा जागिरे हुन पुगे।

त्यहाँबाट पनि उनलाई विदेशी अस्पतालबाट धेरै नै अफर आयो। उनी श्रीलंकामा पुगे। त्यहाँ प्रेमराजको सरकारी जागिर थियो। तर, उनी छ वर्षपछि नेपालमा मुटु ट्रान्सप्लान्ट गर्ने सेन्टर खुलेको छ भन्ने खबर सुनेपछि दुई जना साथीसहित २०७२ सालमा नेपाल फर्के।

नेपाल फर्केपछि भक्तपुरमा ओपन हार्ड सर्जरीमा काम गर्न थाले। करिब १९ जना बिरामीको सर्जरी पनि भयो। कही वर्षपछि सर्जरी गर्दा बिरामीलाई बेहोस पार्ने अर्को डाक्टरले त्यहाँबाट राजीनामा दिए।

त्यसपछि बेहोस गर्ने डाक्टर पाउनलाई मुस्किल भएपछि प्रेमराज र उनका साथीले कोभिड–१९ को समयमा त्यहाँबाट राजीनामा दिए। अहिले पनि भक्तपुरको ओपन हार्ड सर्जेरी खुल्न नसकेको उनी सुनाउँछन्।

डा. प्रेमराज ७४ वर्ष भइसकेका छन्। उनी अहिले पनि बिरामीको उपचारमा सक्रिय छन्। उनले केएमसी, किष्ट, नर्भिक, धुलिखेल, बीएण्डबी, सुमेरु, निदान, नेपाल क्यान्सर अस्पताल र नेशनल क्यान्सरजस्ता अस्पतालमा पार्ट टाइमका रुपमा काम गर्छन्।

प्रेमराज अब मुटुको शल्यक्रिया मात्र गर्दैनन्। उनी आवश्यकताअनुसार डायलाइसिस गर्ने विभिन्न अस्पतालमा पुग्छन्। पाँच वर्ष अघिसम्म उनी बढी मुटुको मात्रै शल्यक्रिया गर्थे। अहिले नसासम्बन्धी (भास्क्यूलर) शल्यक्रिया पनि गर्छन्।

मुटुको भल्भ फेर्ने, मुटुको प्वाल टाल्ने, मुटुको शल्यक्रिया गर्ने गर्छन्। डाक्टरी पेशामा हाेमिएका उनले हालसम्म ५ हजार बिरामी मुटुको शल्यक्रिया गरिसकेका छन्। ओपन हार्ड सर्जरी भने छ/सात हजार बिरामीको शल्यक्रिया गरेको उनी बताउँछन्।

सानै उमेरमा डाक्टर बनेर बिरामीलाई नयाँ जीवन दिन सफल भएका प्रेमराज कयौँ नेपालीहरुको लागि प्रेरणाको स्रोत बनेका छन्।

उनका अनुसार नेपालमा सबै छ तर अझै पनि डाक्टरको कमी छ, त्यसमाथि स्रोतसाधनको उत्तिकै अभाव छ। नेपालमा मुटुको शल्यक्रियाका लागि चाहिने १३ वटा मात्रै मेसिनहरू छन्, त्यसमाथि पनि चलाउनसक्ने मान्छे चार/पाँज जना मात्रै छन्। शल्यक्रियाका लागि ल्याइएको ती मेसिन पनि राम्रोसगँ चल्न सकेको छैन। जनशक्ति पनि छैन।

‘नेपालमा मुटुसम्बन्धी उपचार गर्ने डाक्टरहरूकाे नै अभाव छ। कहिल्यै त पछि आफ्नै उपचार गर्ने डाक्टर पनि नपाउने हाे कि भन्ने चिन्ता पो लाग्छ,’ उनले भने, ‘सरकारले अब जनशक्ति थप्नमा ध्यान दिनुपर्छ।’

श्रीमतीसँगै एमबीबीएस अध्ययन

एचए सकाएर प्रेमराजले काठमाडौँ पाटन अस्पतालमा जागिर गर्दै थिए। पाटनमा उनले करिब तीन वर्ष काम गरे। पाटनमा जागिर गर्दागर्दै उनको विवाह भयो। गाउँकै सुशीला शाक्यसँग।

विवाहपछि श्रीमती कम्प्युटर इन्जिनियर पढ्ने र प्रेमराज एमबीबीएसका लागि रसिया पुगे। त्यसपछि श्रीमती सुशीलले पनि डाक्टर पढ्ने रहर गरेको उनी बताउँछन्।

उनले श्रीमतीलाई डाक्टर पढ्नलाई सजिलो छैन भन्दै आग्रह गरे पनि उनले मानिनन् र, अन्ततः सुशीलाले पनि डाक्टर नै पढिन्।

अहिले डा.सुशीला वैद्यले नशा च्यापिएका, घुँडा दुख्ने समस्या भएका, बाथ रोगका कारण मांसपेशीमा दुखाई भएका, हाडजोर्नीसम्बन्धी बिरामीको उपचार गर्छिन्। उनी स्त्री क्यान्सर रोग तथा लेजरथेरापी विशेषज्ञ हुन्।

भिडियाे

प्रकाशित मिति: : 2023-12-04 18:30:00

प्रतिकृया दिनुहोस्