‘न्यायको ढोका’मा भावुक प्रणाम

दिपा धिताल

रुकुम पश्चिम
Breaknlinks
Breaknlinks

‘भाइ बगाउने भेरीहरू–नबगाउनु फेरि अरू’, ‘छोरा मरे–न्याय मरेन’, ‘न्याय पाए आमाले–शान्ति पाए आत्माले’, ‘सकियो अब भन्ने वात–अदालतलाई धन्यवाद’ लगायतका नारा गुञ्जाउँदै मुसिकोटमा र्‍याली निकाल्दै गर्दा धेरैलाई न्याय मरेको रैनछ भन्ने लाग्यो।

जिल्ला अदालतबाट मंगलबार बेलुकी ‘रुकुम नरसंहार’काे फैसला भएपछि पीडितका परिवारजनले अदालतलाई सम्मान गर्दै ‘अदालतकाे आँगन’मा  ढाेग गरे। र, पुष्प बर्साए।

अन्तरजातीय प्रेम र विवाहको विषयलाई लिएर हत्या गरिएका जाजरकोटका नवराज विककी आमा उर्मिला विश्वकर्मासहित गत शनिबारदेखि जिल्ला अदालत रुकुम पश्चिमको गेटमा धर्नामा बसेका थिए। अदालतमा बहस भइरहँदा आमाहरू न्याय पाउने आशामै थिए। देशमा न्याय मरेको हाेहल्ला भइरहँदा उनीहरूलाई चासो र चिन्ताले थप सताएको थियो।

मानव जगतलाई नै स्तब्ध बनाएको पश्चिम रुकुमको सोती घटना यतिखेर फेरि चर्चामा छ। पीडित र पीडकका परिवारले अलि बढी चासो दिएको यो घटनासँग सम्बन्धित न्याय क्षेत्र र सुरक्षा निकाय वा घटनाबारे प्रत्यक्ष संलग्नबाहेक अन्यले यतिबेला उक्त घटना करिब–करिब मनबाट निकाली सकेका थिए।

घटनापछिका केही दिन आन्दोलनमै बिते। कतैकतै विरोध गरियाे– त्याे पनि प्रेस विज्ञप्तिमै। अनि सुनसान भयाे रुकुम, साम्य भयाे नरसंहारकाे कहालीलाग्दाे कथा। नेपालको संविधानले नै छुवाछूत र जातीय विभेदलाई दण्डनीय बनाएको छ। जातीय विभेद कसुर सजाय ऐन–२०६८ ले पनि त्यसलाई निषेध गरेको छ। तर सुध्रिएन हाम्राे समाज, हटेन अमानवीयता।

जातीय भेदभाव र छुवाछूतकै कारण रुकुमको घटना भयो। उसाे त छुवाछूतले सकसमा पारिएका खबरहरू हिजाेआज पनि सतहमा आइरहन्छन्। जातीय विभेदको सवालमा मुख्य समस्या भनेको कानुन कार्यान्वयनको हो। संसदबाट समिति बन्छन्, स्थलगत अनुगमन र अनुसन्धान गरिन्छ। तर ती फाइलहरू सहजै नभेटिने दराजमा थन्काइन्छन्।

२०७७ जेठ १० गते अन्तरजातीय प्रेम गरेका कारण अमानवीय ढंगले मारिएका नवराजलगायत उनलाई साथ दिन हिँडेका पाँचजनाको हत्याले एक्काइसाैँ सताब्दीको हाम्रो अवस्था उदाङ्गो बनाइदिएको छ। नवराजको मल्ल थरकी एक किशोरीसँग दुई वर्षदेखि प्रेम सम्बन्ध रहेको र उक्त सम्बन्धलाई किशोरी पक्षले अस्वीकार गरेका कारण नवराजहरू भेरीमा बगे।

छोरीको प्रेम सम्बन्ध मल्ल परिवारले सदाको लागि छुटाउन चाहन्थ्यो तर प्रेमी–प्रेमिकाले त्यो सम्बन्धलाई बिहेमा परिणत गरेर अझ मजबुद बनाउन चाहन्थे। कथित माथिल्लो जातकी किशोरीसँग नवराजले प्रेम गर्दा ज्यानै गुमाउनुपर्‍याे। कथित जात मात्र नभइ गरीब परिवारका कारण किशोरीका आमाबाबुले त्यो प्रेमलाई स्वीकार गर्न नसक्दा ६ जनाको सामूहिक नरसंहार भयाे।

विभिन्न स्थलगत प्रतिवेदनअनुसार जाजरकोट रानागाउँका २१ वर्षीय नवराज विक २०७७ जेठ १० गते बेलुका १९ जनाको टोलीसहित सोती पुगे। किशोरीको घरमा नपुग्दै ‘दलितको छोरो ठकुरीकी छोरी लिन आउने आँट गर्ने’ भन्दै सोतीका स्थानीयले लखेट्दै भेरी किनारमा पुर्याएर कुटीकुटी मारेर ६ जनालाई नदीमा फालिदिए। बाँकी अरुले भागेर ज्यान जोगाए। नवराजसहित भेरी नगरपालिका–४ का सन्दीप विक र गणेश बुढा, भेरी नगरपालिका ११ का लोकेन्द्र सुनार, भेरी नगरपालिका–११ का गोविन्द शाही र चौरजहारीका टीकाराम सुनारले घटनामा परी ज्यान गुमाए।

घटनालगत्तै संयुक्त दलित जनअधिकार मञ्चले सोती घटना जातीय विभेदको पराकाष्ठा भएको निष्कर्ष निकालेको थियो। स्थलगत अध्ययनपछि सार्वजनिक गरिएको १५ पेजको प्रतिवेदनको ८ बुँदामा जातीय अहंकारले ठूलो दुर्घटना भएको निष्कर्ष निकालिएको हो। उक्त घटनामा संलग्न भएको भन्दै रुकुम जिल्ला अदालतले २४ जनालाई जन्मकैदको फैसला गरेको छ। जिल्ला न्यायाधीश खड्कबहादुर केसीको एकल इजलासले घटनामा मुद्दा दर्ता भएका ३४ जनामध्ये २४ जनालाई जन्मकैदको फैसला सुनायाे।

अदालतकाअनुसार चौरजहारी नगरपालिका–८ का तत्कालीन वडाध्यक्षसमेत रहेका डम्बरबहादुर मल्ल, डिल्लीबहादुर ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुनमगर, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, सर्वजीत भनिने सविन पुन, तिलक चन्द, इन्द्रबहादुर भनिने इर्दबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनाेद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, धनराज राना, नवीनकुमार घर्तीमगर, विराज पुनमगर, भिमबहादुर पुन, रमित पुनमगर, बिष्णु मल्ल र तीन जना नाम परिवर्तित छन्।

नाम परिवर्तित तीनजना घटनामा मृतक नवराजकी प्रेमिका भनिएकी किशोरीका बुवा, दाइभाइ हुन्। त्यसैगरी जन्मकैद फैसला भएका २४ जनामध्ये मल्ल ठकुरी थरका सबैजनालाई जातीय छुवाछूततर्फ दुईवर्ष कैद र ५० हजार जरिवानासमेत गरिएकाे छ। नवराजकी प्रेमिका भनिएकी किशोरी र निजको आमालाई जातीय छुवाछूततर्फ दुईवर्ष कैद र ५० हजार जरिवाना गरिएकाे छ।

तारेखमा रहेका अन्य आठ जनालाई उक्त मुद्दामा सफाइ दिइएको छ। सफाइ पाउनेहरूमा तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन, भिमबहादुर बुढा, इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल र दीपेन्द्र चन्द छन्। यसैगरी पीडितका परिवारहरूलाई प्रतिवादीका तर्फबाट जनही ४० हजार जरिवाना दामासाही तरिकाले उपलब्ध गराउने फैसला भएको छ। जाहेरीवालाको तर्फबाट सरकारी वकीलसहित १५ जना र प्रतिवादीको तर्फबाट ६ जना कानुन व्यवसायीले बहस गरेका थिए।

आधुनिक नेपाली समाजलाई चुनौती दिँदै घटेको घटनाका दाेषीलाई दण्डको फैसलासँगै फूल चढाएर अदालतकाे आँगन ढोगेका पीडितहरूले ‘अदालतलाई मन्दिर र न्यायधीशलाई भगवान’को संज्ञासमेत दिएका छन्। मन्दिर र भगवानको उपाधि पाएको रुकुम अदालत परिवारजस्तै देशैभरका न्यायालयहरूले न्यायसंगत फैसला गरिरहून् शुभकामना छ।

लेखक ओरेक रुकुमका जिल्ला संयोजक हुन्।

प्रकाशित मिति: : 2023-12-07 12:55:00

प्रतिकृया दिनुहोस्

    सललल बगेकाे लेखाइँ। एकैछिनमा पुरै बढेँ। ‘भाइ बगाउने भेरीहरू–नबगाउनु फेरि अरू’, ‘छोरा मरे–न्याय मरेन’, ‘न्याय पाए आमाले–शान्ति पाए आत्माले’, ‘सकियो अब भन्ने वात–अदालतलाई धन्यवाद’। क्या राम्राे तथ्यऽ याे शासन जनताकाे शासन हाेऽ न्याय हराएकाे हुनसक्छ तर न्याय नमर्दाे रहेछ। पीडितहरूले गरेकाे धैरिएता र न्यायमूतर्ति प्रतिकाे भराेसा नेपाली समाजले भुल्ने छैन।

    • 2 महिना अगाडि
    • Saa Ruu Gurung

    Ramro x Article. sadhai yastai lekhnu hola medam. Nepal ma kanunko raj x bane kura ko praman pani ho rukum adalat. jay nepal

    • 2 महिना अगाडि
    • Krishna Sagar DC