अमेरिकामा भारी हुँदै ट्रम्पको पल्ला : लेलान् त बाइडेनसँग २०२०को बदला?

प्रदीप भट्टराई

वासिङ्टन डीसी

अमेरिकामा २०२४ को नोभेम्बर ५ मा हुने आमनिर्वाचनको तातो लाग्न थालेको छ। यही दिन अमेरिकाले आफ्नो ४७औं राष्ट्रपति छान्ने छ। अहिलेसम्मको स्थिति हेर्दा फेरि पनि २०२०कै जस्तो जो बाइडन र डोनल्ड ट्रम्प आम्नेसाम्ने हुने सम्भावना बढ्दो छ।

अमेरिकामा नामका धेरै दल भए पनि यो देश मूलत: वैचारिक धरातलमा आधारित दुई दलीय ध्रुवीकरणमा चलेको छ। एकातिर दक्षिणपन्थी रिपब्लिकन पार्टी छ भने अर्कोतिर वामपन्थी डेमोक्रेट्स। सधैंझै यसपटक पनि यी दुई दल नै आम्नेसाम्ने हुँदैछन्।

अमेरिकामा दलीय उम्मेदवार छान्नका लागि उम्मेदवारी आकांक्षीबीच प्राइमरी नामको अन्तरपार्टी चुनाव हुन्छ। अहिले त्यही अन्तरपार्टी चुनावको तयारी जारी छ। सत्ताधारी पार्टी डेमोक्रेट्सबाट बर्तमान राष्ट्रपति जो बाइडेन डिफल्ट उम्मेदवार हुन्। सामान्यत: दोस्रो कार्यकालका लागि सत्ताधारी पार्टीमा प्राइमरी नहुने भए पनि बढ्दो उमेरका कारण बाइडेनले मिनेसोटाका सांसद डिन फिलिप्ससँग प्रतिस्पर्धा गर्नुपर्ने छ । यसैगरी २०२० मा डेमोक्रेटिक प्राइमरीमा प्रतिस्पर्धा गरेकी लेखिका मरियन विलम्सन यसपटक पनि डेमोक्रेटिक उम्मेद्वार आकांक्षी छिन्। तर, नाम मात्रका यी दुई उम्मेद्वारले बाइडेनलाई डेमोक्रेट्स उम्मेदवार हुनबाट रोक्ने कतै सम्भावना देखिदैन।

उता, रिपब्लिकन पार्टीबाट सुरूमा एक दर्जन उम्मेदवार भए पनि अहिले त्यो संख्या झरेर आधामा भएको छ। तर, बाँकी सबैको मत जोड्दा पनि ट्रम्पको जति नहुने भएकाले रिपब्लिकन पार्टीको प्राइमरी औपचारिकता मात्र हुने देखिन्छ। रिपब्लिकन पार्टी अति दक्षिणतिर धकेलिएर ट्रम्पकन भैसकेको अवस्थामा अब अरूले उम्मेदवारी नचिहाए पनि हुन्छ।

हुन त ट्रम्पको विपक्षमा चारवटा अदालतमा फौजदारी/देवानी मुद्दा जारी छन्। तर, मुद्दामा दोषी नै ठहरिए पनि उनलाई उम्मेदवार हुनबाट रोक्ने कानून अमेरिकामा नै छैन। कानूनका पण्डितहरू भन्छन्, 'अमेरिकामा ट्रम्पजस्ता मान्छे राष्ट्रपति होलान् र यस्तो संगीन आरोप लाग्दा पनि राष्ट्रपतिको उम्मेदवार हुन्छन् भनेर कल्पनासम्म पनि गरिएको थिएन। त्यस्तो स्थिति आयो भने त्यो अझ कल्पनाबाहिरको कुरा हुन्छ।'

अमेरिकाको पछिल्लो स्थिति हेर्दा फेरि एकपटक दुई वृद्ध श्वेत अमेरिकाको ४७औं राष्ट्रपतिका लागि आम्नेसाम्ने हुन लगभग निश्चित छ। प्रत्यक्ष राष्ट्रपति निर्वाचन हुने भए पनि अमेरिकामा बढी मत ल्याउने राष्ट्रपति नहुने एउटा गजबको प्रावधान छ। यहाँ त चुनाव जित्न ५० राज्यमा बाँडिएको ५३८ इलेक्ट्रोल कलेज मतको बहुमत अर्थात् २७० इलेक्ट्रोल मत ल्याउनुपर्छ।

अमेरिकामा ४४ राज्य रातो (रिपब्लिकन) र नीलो (डेमोक्रेट्स)मा स्पष्टसँग बाँडिए पनि ६ राज्य भने यताउता भैरहन्छन्। स्विङ स्टेट भनिने पेन्सेल्भेनिया (१८), नर्थक्यारालाइना (१७), विस्कन्सन (१०), जर्जिया (१६), मिशिगन (१४) र एरिजोना (११)को ८६ इलेक्ट्रोल कलेज मत नै निर्णायक हुन्छ। यी राज्यमा जो विजयी हुन्छ, उही अमेरिकाको ४७औं राष्ट्रपति हुन्छ।

चुनावको मौसम सुरू हुनासाथ अमेरिकामा चुनावी सर्वेक्षणको मौसमी खेती पनि सुरू हुन्छ। हरेक साताजस्तो नयाँ-नयाँ मत सर्वेक्षणका परिणाम सार्वजनि भैरहेका हुन्छन्। पछिल्लो समय तीव्र प्रतिस्पर्धामा रहेकाे छ स्विङ स्टेट्सको मत सर्वेक्षणले ट्रम्पको पल्ला भारी भैरहेको देखाएका छन्। यो वर्तमानको मत सर्वेक्षण हो। अबको ११ महिनापछि चुनाव हुँदा यही मत आँकलन कायम रहला भन्न सकिन्न। 

अमेरिकामा २०२४ को आम निर्वाचन नजिकिदै गर्दा फेरि एकपटक बाइडेन र ट्रम्प नै आम्नेसाम्ने हुने सम्भावना बढ्दैछ। अहिलेसम्मका अधिकांश मत सर्वेक्षणले ट्रम्पकै पल्ला भारी देखाइदिँदा रिपब्लिकनहरूको अनुहार उज्यालिदैछ भने डेमोक्रेट्सहरूको अनुहारको चमक क्रमश: फिक्का हुदैछ। 

यसैबीच पछिल्लो समय वाल स्ट्रिट जर्नलको मत सर्वेक्षणको परिणाम सार्वजनिक भएको छ। दक्षिणपन्थी खेमाको पक्षपोषण गर्ने वाल स्ट्रिटको मत सर्वेक्षणमा अनुमान गरिएअनुसार नै ट्रम्प अगाडि छन्। ट्रम्पलाई ४७ प्रतिशत मत दिँदा बाइडेनलाई ४३ प्रतिशत मत दिइएको छ।

अमेरिकामा ट्रम्प रिपब्लिकन पार्टीभित्र लोकप्रिय भए पनि आम अमेरिकीमा उनी लोकप्रिय छैनन्। २०१६ मा राष्ट्रपतिमा विजयी हुँदा पनि उनले कूल मतको ४५.९ प्रतिशत मत पाएका थिए भने पराजित भएकी हिलारी क्लिन्टनले ४८ प्रतिशत मत पाएकी थिइन्। हारजितका लागि निर्णायक मानिने कलेज इलेक्ट्रोल मत चाँहि ट्रम्पले ३०६ पाउँदा हिलारीले २३२ मात्र पाइन्। २०२० को चुनावमा बाइडेनको लोकप्रिय मत ५१.३ प्रतिशत र इलेक्ट्रोल कलेज मत ३०६ पाएका थिए भने ट्रम्पको लोकप्रिय मत ४६.९ प्रतिशत र इलेक्ट्रोल कलेज मत २३२ थियो।

बाइडेनका लागि बढ्दो उमेर, छोरा हन्टरको कर छलीको फौजदारी मुद्दा, आकासिएको महङ्गी र दक्षिणपन्थी हावा प्रतिकूल देखिन्छन् तर उनको प्रतिस्पर्धामा उत्रने ट्रम्पका लागि पनि जीत सहज छैन। उनको उमेर पनि बाइडेनकै हाराहारीमा भएकाले उनका लागि उमेर खासै फाइदाको एजेण्डा हुँदैन। मुद्दा मामिलाको कुरा गर्दा त ट्रम्प आफैं चारवटा संगीन मुद्दा खेपिरहेका छन्। आकासिएको महङ्गी र दक्षिणपन्थी हावा भने उनको पक्षमा छन्।

तर, जब चुनावको निर्णायक मोड आइपुग्छ, त्यतिबेला अमेरिकाले ट्रम्प र बाइडेनमध्ये एक छान्नुपर्ने हुन्छ। यो गर वा मरको अवस्थामा भने अमेरिकीले दावी गर्दै आएको अमेरिकी क्यारेक्टर ट्रम्पमाभन्दा बाइडेनमै बढी नदेख्लान् भन्न सकिन्न।

त्यसैले अहिले नै अमेरिकाको ४७औं राष्ट्रपति ट्रम्प नै हुन्छन् भनेर ठोकुवा गर्न सकिन्न तर पछिल्लो एक मत सर्वेक्षणका आधारमा भन्ने हो भने आज ट्रम्प ४७ प्रतिशतमा छन् भने बाइडेन ४३ प्रतिशतमै मात्र छन्।

प्रकाशित मिति: : 2023-12-10 17:30:00

प्रतिकृया दिनुहोस्