सयौँ नेपाली चिकित्सकको यूएसएमएलई परीक्षा रद्द, तुहिदैछ अमेरिकी सपना

प्रदीप भट्टराई

वासिङ्टन डीसी

सयौं नेपाली चिकित्सकहरूको अमेरिकी सपना तुहिने भएको छ। नेपालको प्रोमेटिक सेन्टरमा दिएको युनाइटेड स्टेट्स मेडिकल लाइसेन्सिङ एग्जामिनेशन(युएसएमएलई) परीक्षामा जालसाजी गरी अत्याधिक अंक ल्याएको भन्दै उनीहरूको परीक्षा रद्द गरिदिएपछि यो पेचिलो परिस्थिति सिर्जना भएको हो। योसँगै विदेशी स्नातक चिकित्सकहरूको लागि शैक्षिक आयोग (इसीएफएमजी)ले जारी गरेको उनीहरूको प्रमाणपत्र पनि अमान्य भएको छ।

अमेरिकामा काम गर्न र उच्च शिक्षा अध्यययनका लागि युनाइटेड स्टेट्स मेडिकल लाइसेन्सिङ एग्जामिनेशन (युएसएमएलई) को चरण १ र चरण २ का कठिनतम परीक्षा उतीर्ण गर्नुपर्ने हुन्छ। ३०० पूर्णाङ्कमा गरिने परीक्षामा काठमाडौंस्थित प्रोमेटिक सेन्टरमा परीक्षा दिने नेपाली विद्यार्थीले २९० भन्दा बढी अंक ल्याउँने र एकै वर्षमा तीनै चरणका कठिनतम परीक्षा अस्वभाविक अंकका साथ उत्तीर्ण हुन थालेपछि उनीहरू शंकाको घेरामा परेका हुन्।

यूएसएमएलई र इसीएफएमजी दुबैले अफिसियल स्टेटमेन्ट जारी गर्दै यो दु:खद घटनाको पुष्टी गरेका छन् । इसीएफएमजीको माउ संस्था इन्टेल्थले पनि एक चेतावनी स्टेटमेन्ट जारी गरेको छ।  

यो समाचार सार्वजनिक भएसँगै हजारौंको संख्यामा अमेरिकामा आएका नेपाली चिकित्सकहरूमाझ सनसनी फैलिएको छ। यसरी आएकामध्ये सयौ विद्यार्थीले विश्वविद्यालयमा उच्च शिक्षाका लागि आवेदन दिएका छन् भने सयौले चिकित्सकले रेसिडेन्सी पनि सुरू गरिसकेका छन्। हजारौं अन्तर्वाता पर्खिरहेका छन् भने सयौंको संख्यामा अन्तर्वार्ता दिएर प्रि-म्याचिङ र म्याचिङको प्रतीक्षा गरिरहेका छन्। यसैगरी अमेरिका आएकामध्ये सयौं चिकित्सक चरण ३ को परीक्षामा पनि सामेल भैसकेका छन् ।

अहिले के भैरहेछ ?

२९० भन्दा बढी अंक ल्याएका संदिग्ध नेपाली चिकित्सक (नेपालमा हुन् वा अमेरिकामा रहेका) लाई यूएसएमएलईले परीक्षा रद्द भएको जानकारी इमेलमार्फत् दिइसकेको छ। यसरी इमेल पाउँने नेपाली चिकित्सक सयौंको संख्या भए पनि कोही पनि बताउन तयार छैनन्। नाम नबताउने शर्तमा अमेरिकाको न्युयोर्कमा रेसिडेन्सी गरिरहेका एक चिकित्सकले भने, ‘मेरो २९२ अंक आएको थियो । मैले परीक्षा अमान्य भएको इमेल पाएको छु । इमेल पाएर स्तव्ध छु। के गर्ने के नगर्ने मसँग प्रष्ट रोडम्याप नै छैन।‘

उनले आफूले ठूलो तयारीका साथ त्यो अंक ल्याए पनि आफू घानमा परेको बताए । उनले नेपालमा परीक्षा म्यानुपुलेसन भएको स्वीकार्दै भने, ‘अमेरिकामा रहेका आफन्त चिकित्सक र यो धन्दामा लागेका खराब मान्छेका कारण यो अवस्था सिर्जना भएको हो। यसका लागि केही विद्यार्थी त दोषी छन् नै, सानो देश भनेर नेपाललाई हेप्ने यूएसएमएलई र इसीएफएमजीको हेपाहा प्रवृति पनि दोषी छ । मजस्ता धेरै नेपाली चिकित्सकले पढेर नै त्यो अंक ल्याएका हौं । तर हाम्रो क्षमतामा प्रश्न गरियो, यो दु:खको कुरा हो।‘    


अब के हुन्छ ?

यो परिस्थितिबाट सबैभन्दा पहिले त उच्च अंक ल्याएका संदिग्ध चिकित्सक नै व्यक्तिगत रूपमा ठूलो मारमा पर्छन्। उनीहरूको यूएसएमएलई परीक्षा र इसीएफएमजीको प्रमाणपत्र नै अमान्य हुन्छ। यसको अर्थ उनीहरूले अमेरिकामा उच्च शिक्षा पढ्ने र काम गर्ने दुबै न्युनतम योग्यता नै गुमाउँछन् ।

इसीएफएमजीले रेसिडेन्सी कार्यक्रमहरू, रोजगारदाताहरू, अमेरिकी राज्य मेडिकल बोर्डहरू, र/वा अन्य संस्थालाई पहिले पठाइएको इसीएफएमजी प्रमाणित छैन भनेर अद्यावधिक गर्ने बताएको छ। यसको असर जे-१ भिसामा इसीएफएमजीद्वारा प्रायोजित भएकालाई सिधै असर पर्न सक्छ।

यूएसएमएलईले परीक्षा अमान्य गरेको चरणको परीक्षा पुन: दिएर आवश्यक अंक हासिल गरी पुन: इसीएफएमजी प्रमाणपत्र लिनुपर्ने हुन्छ।

यो घटनाले नेपाल र नपाली चिकित्सको छविमा नै गम्भीर प्रभाव पर्छ। त्यसको पहिलो असर त नेपालको प्रोमेटिक सेन्टर नै बन्द भसक्यो। अब युएसएमएलईको चरण १ र चरण २ को परिक्षा नेपालमा हुँदैन, त्यसका लागि विदेश जानुपर्ने हुन्छ।

अब विदेश गएर परीक्षा पास गरेर इसीएफएमजी प्रमाणिकरण भएका नेपाली चिकित्सकको योग्यतामाथि थप निगरानी राखिन्छ। अहिले नै पनि नेपाली चिकित्सकहरूको अमेरिकामा अवसर पाउँने म्याचिङ रेट ज्यादै कम छ, अब त त्यो अरू घटेर म्याजिक हुनुपर्ने स्थितिमा पुग्न सक्छ ।  

यसबाट अमेरिकामा नेपाली चिकित्सकहरूको अवसरको ढोका खुल्न ज्यादै दूर्लभ हुने दुर्भाग्यपूर्ण परिस्थिति सिर्जना भएको छ ।

नेपालले नेपाली चिकित्सकहरूलाई उच्च शिक्षाका लागि मार्गप्रशस्त गर्न इसीएफएमजी मान्यताका लागि ठूलो धनराशी खर्च गरेको थियो । त्यो खर्च पनि अब एक किसिमले ब्यर्थ हुने भएको छ।

 

प्रकाशित मिति: : 2024-02-02 20:40:00

प्रतिकृया दिनुहोस्