इजरायल-प्यालेष्टाइन युद्धकाे असर एनआरएन बेल्जियमलाई 

‘इजरायल-प्यालेष्टाइन युद्धमा मरेका नेपालीहरूको लागि बैंकमार्फत सहयोग पठाउँदा बैंकले २ महिनासम्म पैसा रोक्दियो। ‘हमास’भन्ने शब्दको कारण हामीले बैंकलाई विभिन्न चरणमा स्पष्टीकरण दिएपछि बल्ल रकम नेपाल पुगेको छ !’

नेपाली व्यवसायी संघ बेल्जियमले आयोजना गरेको एक अन्तरक्रिया गरेको कार्यकर्ममा एनआरएन बेल्जियम अध्यक्ष सिता सापकोटाले आफ्नो दुखेसो पोखेकी थिइन्।

एनआरएन बेल्जियमले इजरायल र हमासबीचको युद्धमा ज्यान गुमाएका दश जना विद्यार्थीका परिवारलाई २९ डिसेम्बरमा उक्त सहयोग रकम पठायको थियो।

‘इजरायल हमास आक्रमणबाट पिडित १० जनालाई पत्रकार संघ मार्फत सहयोग वितवरण’ सूचनासहित उक्त रकम एनआरएन बेल्जियमले पठाएको थियो। तर ‘हमास’ शब्दकै कारण बैंकले सोधपुछ सुरु गर्यो। उक्त रकम रोकिदियो। प्राप्त जानकारीअनुसार विभिन्न सोधपुछपछि बैंकले ठिक एक महिनापछि उक्त रकम नेपाल पठाइदियो।

बैंकले एनआरएन बेल्जियमलाई इमेल लेख्दै तीन फरकफरक जानकारी मागेको थियो। जसमा उक्त रकम कुन प्रयाेजनका लागि प्रयोग गरिने हाे भनेर जानकारी माग्दै संलग्न व्यक्तिहरूको बारेमा विवरणहरू दिन भनेको थियो।

त्यस्तै गरेर पत्रकार योगेश रावलको बारेमा विस्तृत जानकारी बैंकले मागेको उसको पत्रमा देखिन्छ। साथै बैंकले ‘के भुक्तानीको हमाससँग प्रत्यक्ष वा अप्रत्यक्ष स्वार्थ छ?’ भन्ने प्रश्न पनि गरेको थियो।

बैंकको सोधपुछको जवाफ एनआरएन बेल्जियमले भौतिक तथा इमेलमार्फत दिएपछि रकम नेपाल पठाइदिएको थियो।

रकम पुगेपछि गैरआवासीय नेपाली संघ बेल्जियमले इजरायल घटनामा ज्यान गुमाएका नेपाली विद्यार्थीका परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ।

युद्धमा ज्यान गुमाएका दश जना विद्यार्थीका परिवारलाई प्रतिपरिवार ५० हजारका दरले ५ लाख आर्थिक सहयोग हस्तान्तरण गरिएको हो।

सुदूरपश्चिम विश्वविद्यालय कृषि संकायका डिन डा. विष्णु बिलास अधिकारीले एक कार्यक्रमकाबीच बुधबार उक्त सहयोग रकम प्रदान गरेका थिए।

‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका दश जना विद्यार्थीको हमासको आक्रमणमा परेर असोज २० गते ज्यान गएको थियो।

प्रकाशित मिति: : 2024-02-08 18:49:00

प्रतिकृया दिनुहोस्