मिटरब्याज पीडित भन्छन्– न्याय नपाएसम्म घर फर्किँदैनौं (भिडियोसहित)

Breaknlinks
Breaknlinks

रौतहटका नारायण चौधरीले २ वर्षअघि दुई लाख रुपैयाँ सापटी लिए, छोराको विवाहको लागि। साहुबाट लिएको ऋणले उनले छोराको विवाह धुमधामसँग गराइदिए। तर त्यही दुई लाख रुपैयाँले उनलाई दिनरात पिरोलिरह्यो।

पुर्ख्यौली जग्गा १० धुर थियो नारायणसँग। तर त्यो जग्गा अहिले साहुको नाममा छ। अब बाँकी एउटा तीन कोठे माटोको घर छ। त्यसमा पनि साहुको नजर छ। ‘घरजग्गा राखेर दुई लाख रुपैयाँ निकालेको थिएँ तर साढे दुई लाख तिरिसकेँ तर अझै तीन लाख मागिरहेका छन्’, बिएल नेपाली सेवासँग दुखेसो पोख्दै उनले भने, ‘अब मैले त्यत्रो पैसा कहाँबाट ल्याएर दिनू?’

उनीसँग पुर्ख्यौली सम्पत्ति छैन, खेती–किसानी गरेर अन्न उब्जानी गर्न। दुई छाक खानको लागि ज्याला–मजदुरी गर्ने उनी भन्छन्, ‘खेतबारी भए पो अन्न बेचेर पैसा आम्दानी गरेर ऋण तिर्नु! पुर्ख्यौली सम्पत्ति छैन। भएको जग्गा पनि लुटिसक्यो, अब कहिले तिरिसक्नु र, कहिल्यै नसक्किने साहुको ऋण?’

साहुबाट लिएको दुई लाख रुपैयाँ जसातसो तिरेका थिए नारायणले ५० हजार ब्याज दिएर। ‘साहुको ऋण तिर्न छोरालाई वीरगञ्जमा भरिया बन्न पठाएँ। तर अझै ऋण तिरेर सकिएन तर छोरा अहिले पनि भारी बोकिरहेको छ’, उनले सुनाए।

जग्गा र दुई लाख रुपैयाँ तिरिसकेका नारायणको मनमा अहिले एउटा त्रास छ– घर पनि साहुले लैजान्छ होला! त्यही डर बोकेर उनी काठमाडौँ छिरेका छन्, श्रीमतीको साथमा।

‘साहुले बारम्बार थर्काएर जान्छन्, घर लिलाम गर्छु भन्दै धम्की दिन्छन्। ऋण तिर्न सक्दैनस् भने मेरो घरमा नोकर बन् भन्दै गाली गर्छन्’, ५८ वर्षका  नारायणले भने, ‘साहुको धेरै गाली खाएर न्याय माग्न काठमाडौँ आएँ।’

२५ दिनदेखि लगातार हिँड्दै काठमाडौँ आएका नारायणको शरीर थाकिसकेका छन्। हात–गोडा सुन्निएका छन् तर न्याय पाउँछु भन्ने विश्वास छ उनमा।

राम्रोसँग हिड्ँन सक्दैनन् नारायण। तर बाध्यताले उनलाई घर बस्नै दिएन। न्यायको खोजी भौतारिँदै काठमाडौँ आइपुगेका उनी भन्छन्, ‘साधारण मान्छे जस्तो हिँड्न सक्दिनँ। दुःख गरेर भोकभोकै हिँड्दै काठमाडौँ आएँ। अब न्याय नपाएसम्म घर फर्किँदैनाैँ।’

दिनको एक छाक खाएर हिँड्दै काठमाडौँ पसेका नारायणको एउटै माग छ– सरकारले मिटरब्याजी साहुलाई कारबाही गरोस्!

‘ज्यानको बाजी राखेर काठमाडौँ आएको छु। अब न्याय नपाएसम्म घर जान्नँ। बरू, मेरो लास जाओस्’, उनको अडान छ। 

प्रकाशित मिति: : 2024-02-23 17:54:00

प्रतिकृया दिनुहोस्