‘स्वास्थ्य चौकी भवन’ व्यक्तिको नाममा!

लुङ्ग्री गाउँपालिका रोल्पाका तत्कालीन अध्यक्ष दुर्गाबहादुर खड्का र तत्कालीन वडाध्यक्ष शिवराम खत्रीले ‘व्यक्तिको नाममा रहेको जग्गा’मा स्वास्थ्य चौकी भवन बनाएको खुलेको छ।

गाउँ कार्यपालिकाको बैठक र गाउँसभाको निर्णयबिनै तत्कालीन अध्यक्ष खड्का, तत्कालीन वडाध्यक्ष खत्री, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र इन्जिनियर बरुणप्रसाद राजवंशीको मिलेमतोमा स्थानीय झके खड्काको व्यक्तिगत जग्गामा स्वास्थ्य चौकीको भवन बनाइएको हाे।

विवादित जग्गामा स्वास्थ्य चौकीको भवन नबनाउन आफूले पटकपटक ताकेता गर्दापनि आफू सबैतिरबाट अल्पमत परेको र त्यही जग्गामा भवन बनाएकाे तत्कालीन गाउँ कार्यपालिका सदस्य टेकबहादुर सुनारले बताएका छन्।

‘व्यक्तिको नाममा रहेको जग्गामा स्वास्थ्य चौकीको भवन बनाइएको छ। तर त्यो जग्गामा भवन बनाउने कुराकाे निर्णय नै छैन। भवन बनाउने प्रक्रिया हुनुअघि नै मैले कुरा उठाउँदा गाली खाएँ। ‘तँ नबोल् तेरो अधिकार छैन’ भन्नुभयो तत्कालीन वडाध्यक्ष शिवराम खत्रीले,’ तत्कालीन कार्यपालिका सदस्य सुनारले भने।

जग्गाधनी खड्का र तत्कालीन वडाध्यक्ष खत्री माओवादी केन्द्रका स्थानीय नेता–कार्यकर्ता र तत्कालीन गाउँपालिका अध्यक्ष कांग्रेस राेल्पाका नेता हुन्। वडा कार्यालय र स्वास्थ्य चौकी एउटै जग्गामा बनाउँदा घर–जग्गाको मूल्य बढ्ने र घडेरीको कारोबार फस्टाउनसक्ने देखेपछि तत्कालीन वडाध्यक्ष खत्री र जग्गाधनी खड्काले तत्कालीन गाउँपालिका अध्यक्ष दुर्गाबहादुर खड्कालाई भवन निर्माण गर्न मनाएका थिए।

वडाध्यक्ष खत्रीको चलाखी नबुझी लिखित सम्झौताबिनै ‘व्यक्तिको नाममा रहेको जग्गा’मा स्वास्थ्य चौकीको भवन बनाउन तत्कालीन गाउँपालिका अध्यक्ष खड्का पनि सहमत भए। लगतै, तत्कालीन वडाध्यक्ष खत्रीले आफ्नै दाजु केशर खत्रीलाई उपभोक्ता समितिको अध्यक्ष बनाएर काम सुरु गरिहाले।

२७ लाखको लागतमा निर्माण गरिएको एकतले र दुईकोठे स्वास्थ्य चौकीको भवनमा आर्थिक अनियमितता भएकोसमेत माओवादी केन्द्र लुङ्ग्री गाउँ कमिटीका एक सदस्यले आरोप लगाएका छन्।

‘हामीहरूले नम्जा स्वास्थ्य चौकीको भवनको बारेमा पार्टीभित्र पनि कुरा उठाएका छौँ। भवन बनाउने प्रक्रियामात्र गलत छैन, स्वास्थ्य चौकी भवन बनाउँदासमेत अनियमितता भएको छ। यत्तिका वर्ष भइसक्दा पनि कोही बोल्दैनन्, यस्तै हो भने हामीहरू चाँडै अख्तियारमा उजुरी हाल्छौँ,’ ती सदस्यले भने।

अनुगमन समितिका तत्कालीन सदस्य सुनारले निजी जग्गामा भवन बनाउनुहुँदैन भनेर ‘आफूले बहस चलाएको र त्यसो भन्दाभन्दै आफू नै सबैको तारो बनेको’ गुनासो गरेका छन्।

‘उपाध्यक्षको नतृत्वमा अनुगमन समिति बनेको थियो, त्यसको सदस्य म पनि थिएँ। भवन गुणस्तरीय थियो। प्रक्रिया जे–जस्तो भएपनि काम राम्रो भएको थियो,’ उनले भने। व्यक्तिको नाममा रहेको भवन बनेको दुई वर्षमै स्वास्थ्य चौकी सरिसकेको छ। तर त्यो भवन भएको जग्गा झके खड्काकै नाममा छ। उनी त्यो जग्गा आफ्नो निजी भएको दाबी गर्छन्।

‘जग्गा मेरो हो, मेरो जग्गा सरकारलाई किन दिने! भवन बनाउँदा मलाई कसैले सोधेनन्,’ उनले भने।

एक स्थानीय बासिन्दाका अनुसार तत्कालीन वडाध्यक्ष खत्री र जग्गाधनी खड्काबीच एकखाले मौखिक सम्झौता भएको थियो। त्यतिखेर खड्का स्वास्थ्य चौकीको भवन बनाउने मात्रै होइन, वडा कार्यालयको भवन बनाउने जग्गा दिन पनि तयार थिए। तर उनले सर्त राखेका थिए–वडा कार्यालय बनाउने ठेक्का चाहिँ आफूले नै पाउनुपर्ने!

त्यो कुरामा वडाध्यक्ष खत्री र जग्गाधनी खड्का सहमत नै थिए। हेर्दाहेर्दै स्थानीयबीच विवाद उत्पन्न भयो। वडा कार्यालय र स्वास्थ्य चौकी एकैठाउँमा नबन्ने भयो। वडाध्यक्ष र जग्गाधनीको कमाउ धन्दाको खेतीपाती गर्ने सपना चकनाचुर भयो। अनि, रिसाए झके खड्का।

स्थानीयका अनुसार उनले स्वास्थ्य चौकीको भवन रहेको जग्गा धितो राखेर गाउँकै एक लघुवित्तबाट ऋण लिएका छन्। व्यक्तिको नाममा रहेको जग्गामा बनेको स्वास्थ्य चौकीको भवनलाई आफ्नै पहलमा, काम सकिएपछि भुक्तानी दिएको तत्कालीन गाउँपालिका अध्यक्ष दुर्गाबहादुर खड्काले बताएका छन्।

‘जग्गाधनीलाई वडाध्यक्ष शिवराम खत्रीले सहमतिमा ल्याउनु भएको रहेछ! मैलेचाहिँ उहाँलाई सोधेको थिइनँ। स्वास्थ्य चौकी भवन बनाउने भनेर बजेट बिनियोजनचाहिँ मैले नै गरेको हुँ। भवनको काम सकिएपछि अनुगमन समिति बनाएका थियौँ,’ तत्कालीन अध्यक्ष खड्काले भने, ‘काम सम्पन्न भएपछि त्यतिखेरै रकम पनि भुक्तानी भइसकेको हो।’

कांग्रेस क्षेत्रीय सभापतिसमेत रहेका तत्कालीन गाउँपालिका अध्यक्ष खड्का र माओवादी नेता शिवराम खत्री, माओवादीकै कार्यकर्ता झके खड्काको ‘मिलेमतो वा संलग्नतामै व्यक्तिको नाममा रहेको जग्गामा स्वास्थ्य चौकीको भवन’ बनाइएको नेपाली कांग्रेस लुङ्ग्रीका एक पदाधिकारीले दाबी गरेका छन्।

तत्कालीन वडाध्यक्ष खत्रीले जग्गाधनी झके खड्कासँगको मौखिक सहमतिमै आफूहरूले भवन बनाएको बताएका छन्। ‘भवन सम्पन्न भएपछि उहाँले स्वास्थ्य चौकी वा सरकारी पक्षको नाममा जग्गा पास गरिदिन्छु भन्नुभएको थियो। तर उहाँले अहिले आएर बोली फेर्नूभयो,’ उनले भने।

जग्गाधनी खड्काले आफूसित वडापालिका वा गाउँपालिकाका प्रतिनिधिले आफ्नो जग्गामा स्वास्थ्य चौकीको भवन बनाउनेबारे छलफल–सहमति नगरेको दाबी गरेका छन्। 

प्रकाशित मिति: : 2024-02-26 18:09:00

प्रतिकृया दिनुहोस्