जुम्ला रारा अल्ट्रा म्याराथनको पाँचौ संस्करण बैशाख एक गतेदेखि

हरेक वर्ष कर्णाली स्पोर्ट्स क्लबले आयोजना गर्ने ‘जुम्ला रारा अल्ट्रा म्याराथन’को पाँचौ संस्करण आउने बैशाख ५ गतेदेखि हुने भएको छ। ०८१ बैशाख १ गते प्रतियोगितको उद्घाटन गरिनेछ।

जुम्लालाई उच्च पर्वतीय खेलकुद प्रशिक्षण केन्द्रका रुपमा विकास गर्ने र खेलकुदको महत्वबारे जनचेतना अभिवृद्धि गराइ समग्र समाजमा खेल संस्कृतिको विकास गराउन जुम्ला रारा अल्ट्रा म्याराथनको आयोजना गर्न लागिएको कर्णाली स्पोर्ट्स क्लबका अध्यक्ष सरोज शाहीले बताए। 

‘हरेक वर्ष हुँदै आएको प्रतियोगिताको निरन्तरताले कर्णाली क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने आशा लिएका छौं’, अध्यक्ष शाहीले भने, ‘कर्णाली क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य भएको हुनाले पनि यस्ता गतिविधिको निरन्तरता जरुरी छ।’

अल्ट्रा म्याराथन प्रकृतिका सबै पक्षहरूमा साहसिक अनुभव गर्ने म्याराथ भएको कर्णाली स्पोर्ट्स क्लबका संरक्षक, गिनिज बुक अफ वल्र्ड रेकर्डर तथा एभरेष्ट म्यारथन ह्याट्रिकर हरि बहादुर रोकायाले बताए। 

‘अल्ट्रामा दौडने खेलाडीहरुले आफ्नो सीमा र समुदायको भावना खोज्छ। जुन आन्तरिक रूपमा आरामदायी छ’, उनले भने, ‘यो सूर्यास्तमा रमाइलो गर्ने, गाउँ ठाउँमा रमाउने, पहाडमा दौडिँदै र प्रवाहको अवस्थामा पुग्दा शान्तिको आनन्द लिने म्याराथन हो।’

उनका अनुसार विश्वमा हिमाली तथा पहाडी क्षेत्रमा आयोजना हुँदै आएका यस्ता साहसिक खेलकूद प्रतियोगिता गर्ने देशहरुमा नेपाल स्थान उच्च रहेको छ भने नेपाल असाध्यै सम्भावना युक्त क्षेत्र पनि हो। विश्वको अग्लो स्थानमा हुने एभरेष्ट म्यारथन नेपालमै हुन्छ।

२०१९ मा गोल्डेन वल्र्ड ट्रेल सेरिजको फाइनल अन्नपूर्णमा गरिएको थियो। जसमा विश्वका शीर्ष १० फाइनलिस्ट पुरुष र महिला खेलाडीहरूका साथमा नेपाली खेलाडीहरुसँगै दौडेका थिए। 

जुम्लाबाट रारासम्म हुने ४९ किलोमिटर दूरीको दौड प्रतियोगितालाई स्थापित गरी कर्णालीलाई रोग र भोग भन्दा माथि उठेर नयाँ परिचय स्थापित गराउन निरन्तरता दिने कोसिस गरिएको अध्यक्ष शाहीले बताए। 

उनका अनुसार गत वर्ष एसिया ट्रेल मास्टर्सको क्यान्डिडेट रेस र यस वर्ष एसिया ट्रेल मास्टर्सको छनोट खेलको रुपमा नेपालमा दुईवटा जुम्ला रारा अल्ट्रा म्यारथन र मन्जुश्री ट्रेल रेस आयोजना हुन लागेका छन्।

उनले थपे, ‘फ्रान्स स्थित विश्वभरका ट्रेल रेस आयोजकहरुको छाता संस्था इन्टरनेशनल ट्रेल रनिङ एसोसिएसन (आइटिआरए) र विश्वव्यापी रूपमा ट्रेल धावकहरूको स्तर मूल्याङ्कन तथा निर्धारण गर्ने संस्था युटिएमबीको सम्बन्धन प्राप्त भएकाले मञ्जुश्री ट्रेल रेसलाई अन्तर्राष्ट्रिय स्तरमा महत्वका साथ हेरिन्छ।’

विश्वस्तरीय प्रतियोगिता अनुरुपको जुम्ला रारा अल्ट्रा म्याराथन चन्दननाथ भैरवनाथको आँगन, खलंगा बजार, जुम्लाबाट सुरु भई मुगु, रारा तालको हुटु छेउमा अन्तय हुनेछ। विगतमा विभिन्न १८ जिल्लाका साथै  बेलायत, नेदरल्याण्ड, भारत, इटाली, अमेरिकाबाट गरि कुल १८ बढी खेलाडीले सहभागिता जनाइसकेका छन्।

यस वर्षको पाँचौं जुम्ला रारा अल्ट्रा म्यारथनमा विभिन्न विधा गरी करीब एक हजार जनालाई सहभागी गराउने लक्ष्य लिइएको प्रतियोगिताका इभेन्ट म्यमनेजर उमेश रोकायाले बताए।

‘प्रतियोगिताका विभिन्न विधाहरु गरी ४४ जना जना धावकहरुलाई नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिनेछ। यस वर्ष विगतमा प्रदान गरिएको पुरस्कार राशी अनुसार नै प्रदान गरिने छ,’ उनले भने, ‘लामो दूरीमा सहभागी हुन अनुकूल नहुनेलाई सहभागिताका लागि विभिन्न उमेर समूहको लागि छोटो दूरीका दौडहरु पनि राखिएको छ।’

आयोजकले ४९ किलोमिटर अल्ट्रा म्याराथनका महिलारपुरुष तर्फ सार्क राष्ट्रका धावकहरुका लागि १४ हजार पाँच सय, अन्य देशका धावकहरुका लागि १६ हजार शुल्क निर्धारण गरेको छ। त्यस्तै नेपाली धावकहरुका लागि सात हजार र स्थानीय धावकहरुका लागि पाँच हजार तोकिएको छ भने प्रतियोगिता कुल पैंतिस लाख खर्च सिमाभित्र रहेर सम्पन्न गरिने क्लबका अध्यक्ष शाहीले बताए। 

‘वैशाख १ गते हुने प्रतियोगिताको तयारी विभिन्न चार ठाउँहरुमा चेक पोइन्ट, विभिन्न उपसमिति तथा दौड हुने रुटका बजार तथा गाउँहरुमा खेलाडीहरुको स्वागत तथा सत्कारका लागि समूहहरु बनाएर काममा खटाइएको छ,’ उनले भने, ‘त्यस्तै सदाझैँ ४९ कि।मी तर्फको दौडमा भागलिने सम्पूर्ण खेलाडी तथा व्यवस्थापनमा खटिने सम्पूर्ण कर्मचारीहरुको पाँच लाख बराबरको दुर्घटना विमा समेत गरिनेछ।’

यसैबीच सोमबार जुम्ला खलंगामा गरिएको एक पत्रकार सम्मेलनबाट जुम्ला रारा अल्ट्रा म्याराथनको प्रचारका निम्ति बनाइएको ट्रिजर समेत सार्वजनिक गरिएको थियोे।

प्रकाशित मिति: : 2024-03-18 17:36:00

प्रतिकृया दिनुहोस्