मुलुकले विकासको गति लिएको छः अध्यक्ष ओली

फाइल तस्बिर
फाइल तस्बिर

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकले विकास गति लिएको बताएका छन्।

बुढानीलकण्ठ नगरपालिकाले निर्माण गरेको नगर अस्पतालको उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले मुलुकको स्वास्थ्यको स्थिति विगतको भन्दा केही सुध्रिएको बताएका छन्। उनले हिजो ओरोलो लागेको अर्थतन्त्रको स्थितिलाई रोकेर विकासको सकारात्मक बाटोमा मुलुकलाई लैजान वर्तमान सरकार लागेको बताएका हुन्। 

उनले कोरोना भाइरसले स्वास्थ्य क्षेत्रमा काम गर्नुपर्छ भन्ने आँखा खोलिदिएको बताएका छन्। उनले भने, 'अहिले स्वास्थ्यको स्थिति नेपालमा सुध्रिएको छ, अलि राम्रो भएको छ।' उनले जनताले लामो सङ्घर्षपछि प्राप्त भएको उपलब्धि र संविधान नमान्ने समूह विकास र देश विरोधी शक्ति भएको बताए।
 
संवैधानिक दायराभित्र आएर संविधानले दिएको अधिकारभित्र रहेर आफ्ना माग राख्न आग्रह गर्दै उनले संवैधानिक प्रक्रिया र लोकतान्त्रिक माध्यमबाट नै कुनै पनि समस्या सम्बोधन हुने बताएका हुन्। 

'संवैधानिक र लोकतान्त्रिक विधिबाट कुनै पनि माग पूरा गर्न कतै प्रतिबन्ध छैन', उनले भने, 'राजतन्त्र भएको बेला जनताका अधिकार पटक-पटक खोसिएको थियो। यो राजतन्त्र नभई गणतन्त्रको समय हो। जनताका अधिकार खोस्न मिल्दैन। जनताका अधिकार सुरक्षित छन्।'

उनले सबै कुरा माग्न पाइने भन्दै ती माग संविधानभित्रबाट मात्र हुनुपर्ने बताएका हुन्। अध्यक्ष ओलीले अहिले नेपालमा केही हुँदैन भन्दै गलत प्रचार भइरहेको भन्दै नेपालमा धेरै कुरा भइरहेको र गर्न सकिने बताए। 'केही हुँदैन, केही भएको छैन भन्ने होइन, नेपालमा काम भइरहेका छन्', उनले भने। 

बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले अस्पतालले अहिले बहिरङ्ग सेवा (ओपिडी) सेवा प्रदान गर्ने र चाँडै नै १५ शय्या सञ्चालनमा आउने बताएका हुन्।

प्रकाशित मिति: : 2024-04-13 20:47:00

प्रतिकृया दिनुहोस्