इजरायलमाथि इरानले पनि सुरु गर्‍यो आक्रमण, अमेरिका के भन्छ?

प्यालेस्टाइनी विद्रोही समूह हमाससँगको एउटा युद्ध झेलिरहेको इजरायलमाथि इरानले पनि आक्रमण थालेको छ। शनिबार मध्यरातदेखि इरानले सयौँ क्षेप्यास्त्र तथा ड्रोनहरू इजरायलका मुख्य सहरहरूमाथि प्रहार गरेको थियो।

इरानको इस्लामिक रिभोलुसन गार्ड कोप्स(आइआरजिसी)ले खास-खास लक्षित ठाउँहरूमा निशाना बनाएर आक्रमण गरिएको जनाएको छ। भने, इजरायली डिफेन्स फोर्सले ‘आवश्यक ठाउँहरूमा प्रत्याक्रमण जारी रहेको’ बताएको छ।

इरानको आक्रमणपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले मन्त्रिपरिषदको आकष्मिक बैठक बोलाएका छन्। इरानको त्यो लडाकु समूहले इजरायलको ‘अपराधिक क्रियाकलाप’को जवाफ दिएको बताएको छ।

स्थानीयहरूले जेरुसेलम तथा आसपासका सहरहरूमा भंयकर विष्फोटको आवाज सुनेको बताएका छन्। त्यसअघि अप्रिलको सुरुवातमा इजरायलले सिरियास्थित इरानी कुटनीतिक परिसरहरूमा आक्रमण गरेको भन्दै त्यसको जवाफ फर्काएको इरानी समूहले दाबी गरेको छ।

इरानले आक्रमण सुरु गरेपछि इजरेली प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई टेलिफोन गरेका थिए। त्यसअघि बाइडेनले नै इरानले इजरायलमाथि आक्रमण गर्नसक्ने चेतावनी दिँदै त्यसको नमिठो परिणाम भोग्नुपर्ने इरानलाई चेतावनी दिएका थिए।

केही महिनाअघि हमास र इजरायलबीच युद्ध सुरु भएयता नै कतिपय इरानी विद्रोही समूहहरूले इजरायलमाथि आक्रमण गर्न थालिसकेका थिए।

कैयौँ शक्तिशाली क्षेप्यास्त्र तथा रसायनिक हतियारको भण्डारण गरेको भन्दै संयुक्त राष्ट्रसंघले वर्षौं अघिदेखि इरानमाथि सयौँ प्रकारका कडा प्रतिबन्धहरू लगाएको छ।

इजरायली सहरमाथि आक्रमण र प्रत्याक्रमणहरू रोकिएका छैनन्। कैयौँ राष्ट्रहरूले यो युद्धको परिणाम विश्वले नै भोग्नुपर्ने भन्दै इरानलाई ‘थप क्षति बेहोर्नका लागि तयार रहन’ चेतावनी दिएका छन्।

अमेरिकी राष्ट्रपति बाइडेन आफ्नो छुट्टी छोट्याएर सरकारका अधिकारीहरूसँग आकष्मिक बैठक बस्दैछन्।

बेलायतले पनि ‘नराम्रो परिणाम भोग्नुपर्ने’ भन्दै इरानलाई चेतावनी दिएको छ।

प्रकाशित मिति: : 2024-04-14 09:32:00

प्रतिकृया दिनुहोस्