म्यान्मारमा बेग्लैछ ‘पानी पर्व’को रौनकः रमाउँदै छन् नेपालीभाषी

बर्मेली सैनिकको सास्ती भुल्दै नाम्टु नगर (शान स्टेट) का नेपालीहरूले नाचगानसहित ‘पानी पर्व अर्थात् ‘थिंग्यान’ मनाएका छन्।

तीन महिनाअघि मात्रै नागरिक समूह ‘टीएनएलए’ले आफ्नो कब्जामा लिएको म्यान्मारको नाम्टू नगरलाई एक दशकअघि दोस्रो नेपाल भनिन्थ्यो।

नाम्टूमा हजारौँ नेपालीहरू बसोबास गर्छन्। उनै नेपालीहरूले गालामा चन्दनको लेप र हातमा पहेंलो फूल समात्दै म्यान्मारको परम्परागत नयाँ वर्षलाई स्वागत गरेका हुन्।

उनीहरूले बुट्टेदार चाँदीको भाँडोमा फूल डुबाउँदै भर्खरै विजय प्राप्त गरेका विद्रोही सिपाहीलाई शुभकामना सन्देश बाँडे।

नेपाली परम्परागत कला–संस्कृतिमा सजिएका नेपालीहरूले शनिबार नाम्टूलाई ‘नेपालमय’ बनाएका थिए।

नेपाली चेलीहरूले ‘आँखैमा राख्छु मेरो देश’ बोलको गीतमा नृत्य गरेका थिए। उनीहरूले नेपाली जातिको भाषा, साहित्य–सभ्यता, संस्कृति, रीतिरिवाज र परम्परालाई प्रस्तुत गरेका थिए।

नेपालीसहित अन्य जातिहरूले पनि आफ्नो जातीय पहिचार झल्काउँदै पानी मेलामा भाग लिइरहेका छन्। पानी उत्सव पूर्ण उत्साहका साथ म्यान्मारभर मनाइन्छ।

बर्मेलीहरू एकअर्कालाई पानी छ्यापेर होलीकै शैलीमा ‘पानी पर्व’ मनाउँछन्। अप्रिल मध्येतिर मनाइने ‘पानी उत्सव’ म्यान्मारमा पाँच दिनसम्म चल्छ।

पर्वको एकखाले बेग्लै धार्मिक महत्व पनि छ। बौद्ध धर्मावलम्बीहरूले प्यागोडा र गुम्बाहरूमा भेटीहरू चढाउँछन्। पानी पर्वः अघिल्लो वर्षको दुर्भाग्य र पापहरू पखाल्दै नयाँ वर्षलाई स्वागत गर्ने एक प्रतीक मानिन्छ। मानिसहरू एकअर्कालाई बाल्टिन र पाइपको पानीले भिजाउँछन्।

म्यान्मारभरका सडकहरू थिंग्यानको समयमा पानीमय हुन्छन्। सबै उमेरका मानिसहरूले उत्सवमा भाग लिन्छन्, स्पिकरबाट बजिरहेको संगीतमा नाच्छन्। सडकमा खानाको आनन्द लिन्छन्।

पानी पर्वले म्यान्मारको सामुदायिक एकतालाई एकै ठाउँमा ल्याउन र मित्रताको भावनालाई बढावा दिन्छ, जब मानिसहरूले नयाँ वर्ष मनाउन हात मिलाउँछन्।

थिंग्यानले चाडपर्वको जीवन्तता र उत्साहलाई तन्काउँदै आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटकहरूलाई आकर्षित गरेको छ।

नाम्टू नगरमा नागरिक शासक फर्किएपछि त्यहाँ स्थानीयहरू खुसी छन्। नागरिक समूहले सबै जाति–जनजातिलाई समान अधिकार प्रर्दान गदै आएको छ।

सैनिक शासन लागू हुँदा थुनिएका बर्मेलीहरू विस्तारै खुल्दैछन्।

प्रकाशित मिति: : 2024-04-14 15:03:00

प्रतिकृया दिनुहोस्