बुधबार, १४ अक्टोबर २०२६

कांग्रेसमाथि धावा बोल्नेलाई ठाउँको ठाउँ ठेगान लगाउने मान्छे मै हुँः मोहन बस्नेत

News Image
• • •

नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले विपक्षी दलका नेता तथा कार्यकर्ताले कांग्रेसमाथि धावा बोले आफूले ठाउँको ठाउँ ठेगान लगाउने गरेको बताएका छन्। 

कांग्रेस देउवा समूहको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं. १ को क्षेत्रीय अधिवेशनमा पुगेका नेता बस्नेतले आफू पदमा रहे पनि नरहे पनि कांग्रेसमाथि आक्रमण गर्ने विपक्षीलाई प्रतिवाद गर्ने बताए।

‘विपक्षी पार्टीका नेता–कार्यकर्ताले नेपाली कांग्रेसमाथि धावा बोल्यो भने ठाउँको ठाउँ ठेगान लगाउने मान्छे मै हुँ। पदमा हुँदा पनि, नहुँदा पनि कांग्रेसमाथि धावा बोल्नेलाई प्रतिवाद गर्ने मान्छे मै हुँ,’ 

उनले आफू सधैं कांग्रेसका नेता तथा कार्यकर्ताको साथमा रहने प्रतिबद्धता पनि जनाए। उनले जनतालाई संकटका बेला सहयोग गर्नु नै नेताको मुख्य जिम्मेवारी भएको उल्लेख गर्दै कांग्रेसका नेता–कार्यकर्तालाई सधैं जनताको पक्षमा उभिन आग्रह गरे।

‘जनता भए मात्रै राजनीति हुने हो। जनता भए मात्रै देश हुने हो। जनता भए मात्रै सबै चिज हुने हो, अप्ठ्यारो पर्दा जनताको साथमा उभिन नसक्ने नेता लायक होइन, त्यो नेतै होइन,’ बस्नेतले भने, ‘त्यो क्षमता, हुति र बुद्धि हामीसँग छ,’ उनले भने।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!