सुनसान छ पाेर्चुगल, पाइँदैन काम

photo: Dominic Arizona Bonuccelli
photo: Dominic Arizona Bonuccelli

नयाँ आप्रवासन नीतिले सुनसान पोर्चुगल लगभग सुनसान जस्तै बनेको छ। पोर्चुगलमा यस वर्ष पर्यटक आवागमनमा पनि गिरावट आएको छ।

मौसम प्रभावित हुँदा पर्यटक आउन नसकेकाे बताइए पनि मुख्य कारण उसको नयाँ आप्रवासन नीति रहेको लिस्वनमा रहेका नेपाली व्यापारी बताउँछन्।

यस वर्ष विगतको तुलनामा पोर्चुगलमा जाडो छ। प्रायःजसो चिसो मौसम, बादल लागेका कारण समुद्रतिरका रेष्टुरेष्टहरु प्रभावित भएका छन्।

सहरी क्षेत्रका रेष्टुरेष्ट, होटलहरु पनि सुनसानजस्तै देखिएका छन्। सहरमा पर्यटकहरु आकल, झुकल देखिन्छन्। पर्यटक आवागमनमा कमी भएपछि आर्थिक गतिविधिमा असर पुगेको छ।

पर्यटक, विद्यार्थी तथा जुनसुकै भिसामा आएकालाई यहाँ काम गर्न सहज वातावरण थियो। सेफ लक गरेपछि उनीहरुले तिरेको करका आधारमा आवासीय कार्ड दिँदै आएकोमा ३ जुनपछि बन्द गरिएकाे छ।

नयाँ आउनेले सेफ लक गर्न नपाएपछि आप्रवासीहरु आउने क्रम रोकिएको छ। नयाँ आप्रवासी रोकिएपछि आर्थिक क्रियाकलापमा गिरावटको संकेत देखिएको छ।

रेष्टुरेष्ट, होटल, होस्टललगायत धेरै क्षेत्रमा यसले असर गरेको छ। नयाँ आप्रवासी लक्षित ती क्षेत्रहरुको व्यापार ५० प्रतिशत भन्दा पनि घटेको अनुमान छ।

नयाँ आप्रावासी आउँदा चहलपहल हुने रेष्टुरेष्ट, होस्टलहरु अचेल सुनसानजस्तै भएका छन्।

आर्थिक क्रियाकलाप रोकिएपछि न्युनतम खर्च धान्न नै मुस्किल पर्न थालेको व्यवसायीहरु बताउँछन्। यस्तो क्रम निरन्तर हुँदै गएपछि घर भाडा, स्टाफ खर्च धान्न नै सकस पर्न सक्ने व्यवसायीहरु चिन्ता गर्न थालेका छन्।

पोर्चुगलको कार्ड पाउन ४ लाख १० हजार जना प्रतीक्षामा छन्। ती व्यक्तिको प्रक्रिया पूरा भएपछि मात्रै सरकारले नयाँ आप्रवासीबारे सोच्ने जनाएको छ।

आप्रवासीको ओइरो लागेपछि यहाँ आएका सबैले सजिलै रोजगारी पाउन सकेका थिएनन्। रोजगारदाताले छानीछानी श्रमिक राख्न पाएका थिए। अब नयाँ आउन नपाएपछि पूरानैलाई पनि टिकाउन मुस्किल पर्ने देखिएको छ।

पोर्चुगलले सिधैं श्रमिक ल्याउने तयारीसमेत गरेको छ। यहाँका कम्पनीमार्फत् श्रमिक ल्याउन सक्ने व्यवस्था गर्न लागिएको बुझिएको छ। तर, यहाँका कम्पनीहरु उच्च गुणस्तरका छैनन्।

तर, स्तरवृद्धि गरेर, न्यूनतम मापदण्ड बनाएर सरकारले सिधैं श्रमिक ल्याउने व्यवस्था गर्न सक्छ।

अहिले कृषि कम्पनीहरुले प्रत्यक्ष श्रमिक ल्याइरहेका छन् । तर, धेरै जसो कम्पनीले डाइरेक्ट श्रमिक ल्याउन झन्झट गर्नुभन्दा यहीँ उपलब्ध श्रमिकलाई काममा लगाउँदै आएका छन्।

अब कृषि कम्पनीमात्र नभई रेष्टुरेन्ट, निर्माण कम्पनी लगायत सबैले आफ्नो स्तरअनुसार विदेशबाट श्रमिक ल्याउन सक्ने व्यवस्था गर्न लागिएको बुझिएको छ।

पोर्चुगल सरकारले यहाँ सेफ लक गर्न बन्देज लगाए पनि स्रोतमुलुकबाट श्रमिक ल्याउन सक्ने व्यवस्था खुला नै गरेको छ। त्यसलाई व्यवस्थित गर्न थप मापदण्ड ल्याउन सक्छ।

स्रोतमुलुकसँग सम्झौता गरेर श्रमिक आउन सक्ने देखिएको छ। त्यसका लागि यहाँका कम्पनीको स्तर पनि वृद्धि हुन जरुरी छ। निश्चित मापदण्ड बनाएर श्रमिक ल्याउने व्यवस्था बनाउन सक्छ। अथवा पूरानै अवस्थामा फर्काउन सक्छ।

पोर्चुगल आप्रवासीले धानिएको देश हो। १० लाख आप्रवासी यहाँ काम गर्छन्। यहाँ आएर व्यापार, व्यवसाय गर्नेहरु पनि बढेका छन्। नेपाली, भारतीय, बंगलादेशी, अफ्रिकन, चाइनिज, पाकिस्तानीले लगानी वृद्धि गरेका छन्।

प्रकाशित मिति: : 2024-06-29 09:50:00

प्रतिकृया दिनुहोस्