फेरि मागियो उपसभामुखको राजीनामा
उपसभामुख इन्दिरा राना मगरको राजीनामा माग गरिएको छ। सत्तारुढ दल नेकपा एमाले र नेपाली काँग्रेसका सांसदहरूले मंगलबार बसेकाे संसद बैठकमा रानाको राजीनामा माग गरेका हुन्।
तर प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा माओवादी केन्द्रले भने उपसभामुखको राजीनामा माग्नु लोकतन्त्रविरीत भएको बताएका छन्। यद्यपि सत्तारुढ दलहरूले दुई तिहाइको दम्भ देखाउँदै राना मगरको राजीनामा गराउने पक्षमा देखिन्छन्।
रास्वपाबाट उपसभामुख बनेकी रानामाथि केही युवालाई अमेरिका पठाउन अन्तर्वार्ताका लागि समय मिलाइदिन नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेखेको आरोप छ। गएको असार महिनामा पनि सत्तारुढ दलहरूले उनको राजीनामा मागेका थिए।
०००
साढे ४ लाख घुस रकमसहित वडाध्यक्ष र सचिव पक्राउ
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष र वडा सचिवसहित तीन जना घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे टोलीले मंगलबार दिउँसो वडा कार्यालयबाट ५७ वर्षीय वडाध्यक्ष उपेन्द्र सहनी, वडा सचिव ५२ वर्षीय उपेन्द्र साह र ४५ वर्षीय विजय मण्डललाई पक्राउ गरेको हो।
उनीहरूको साथबाट घरबाटो प्रमाणित गरिदिने भन्दै सेवाग्राहीबाट लिएको ४ लाख ५० हजार रुपैयाँ घुस रकम बरामद भएको छ।
०००
रवि लामिछनेलाई सहकारी पीडितको कालो झण्डा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पोखरामा सहकारी पीडितले कालोझण्डा देखाउँदै उनीविरुद्ध नाराबाजी गरेका छन्।
पार्टीको गण्डकी प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्न गएका पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेलाई सहकारी पीडितले कार्यक्रमस्थलमै कालो झण्डा देखाउँदै नाराबाजी गरेका हुन्।
पोखराको सूर्यदर्शन सहकारी संस्थाका बचतकर्ताहरुले कालोझण्डा देखाएर आफूहरुको बचत रकम फिर्ता गर्न माग गरेका थिए। लामिछानेमाथि सूर्य दर्शन सहकारीको रकम हिनामिना गरेको आरोप छ।
०००
पूर्वमुख्यमन्त्री नै अनसनमा
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सरकारविरुद्ध आमरण अनशन बसेका छन्। आफ्नो कार्यकालमा अगाडी सारिएको योजना मुख्यमन्त्री केदार कार्कीले कटौती गरेको भन्दै आमरण अनशन बसेका हुन्।
उनी प्रदेश सभा अगाडिको वनस्खण्डी महादेव मन्दिरको गेट छेउमा अनशन बसेका छन्। यस क्षत्रलाई मोरङ प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको थियो।
तर कार्कीले विभिन्न ९ बुँदे माग राखेर यही क्षेत्रमा मंगलबार साँझ ४ बजे अनसन सुरु गरेका हुन्।
०००
सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली बन्द
सरकारी कार्यालयमा अब सेयर कारोबार गर्ने प्रणाली ‘टीएमएस’ प्रणाली बन्द हुने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालयमा पत्र पठाउँदै टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएको छ।
सिंहदरबारभित्रका कर्मचारीले कार्यालय समयमा टीएमएस चलाएर कारोबार गरिरहेको पाइएपछि सरकारले यो प्रणाली बन्द गर्न निर्देशन दिएको हो। यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कार्यालयमा टीएमएस कार्य रोक्न प्रधानमन्त्री कार्यालयसँग आग्रह गरेको थियो।
०००
३० वर्षपछि भियतनाममा शक्तिशाली आँधी
३० वर्षपछि आएको शक्तिशाली आँधीका कारण भियतनाम अस्तव्यस्त बनेको छ। ‘यागी’ नाम दिइएको आँधीका कारण यो समाचार तयार पार्दासम्म ६० जनाको मृत्यु भएको छ २४० भन्दा बढी घाइते भएका छन्।
आँधीले पुल भत्काउनुका साथै अन्य भौतिक संरचनामा ठुलो क्षति गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। आँधीका कारण १५ लाख नागरिक बिजुलीविहीन भएका छन् भने नदी तटीय सहरहरूबाट झण्डै ५० हजार मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ।
यस्तै उत्तरका विभिन्न प्रान्त विद्यालयहरू बन्द गरिएको छ।