बुधबार, १६ जुलाई २०२५

तन्नेरीजति विदेश धपाइरहेकाे समाज

बिएल संवाददाता

बिएल संवाददाता

पोर्चुगल
2024-12-11 17:38:00
Break n Links
• • •

सन् २०२४ अप्रिलको अन्तिम साता भाइबरमा मेरा काका पर्ने छोराको फोन आयो। म पोर्चुगलको राजधानी लिस्बनबाट पानीजहाज (कोम्बोइयो) चढेर मन्तिजु भन्ने ठाउँमा जाँदै थिएँ। फोन उठाउँ कि न उठाउँ म अलमलमा परेँ। अलमल किनभने करिब १३ वर्षपछि फोन आएको थियो। कुनै समयमा मैले फोन गर्दा रिप्लाई नआउने व्यक्तिबाट फोन आउँदा स्वभाविक नै हो।

फोन भने उठाएँ। 
‘के छ तेरो खबर?’ प्रश्न आयो।
‘ठिक छ’ प्रश्नको जवाफ फर्काएँ।

‘ल राम्रो गरिस् विदेश गएर, अब अलि पैसा बचत गर्नुपर्छ’, काकाका छोराको कुरा थियो। मैले सुनिरहेँ। विदेशमा कस्तो अवस्थामा छस् वा अवस्था के छ त्यस्ता कुनै पनि प्रश्नहरू थिएनन्।

करिब १० वर्ष अगाडि कोरियन भाषा बढेर वैदेशिक रोजगारीमा गएको थियो। त्यसबेलादेखि सम्पर्क थिएन वा मैले गर्दा उसले विदेश गएकै कारणले उठाएको थिएन। सायद त्योबेलामा म नेपालमा भएकाले उसले फोन गर्न योग्य थिइनँ कि!

विदेश गएपछि उसको आफन्तको लिस्टमा परेँ क्यारे! अझ अब बल्ल समाजको सदस्य भएँजस्तो अनुभूति भयो।

यो थियो पहिलो उदाहरण।

विदेश आएपछि पहिला वास्ता नगर्ने आफन्तको फोन सबैभन्दा धेरै आए। एक जना आफन्तको फेसबुक म्यासेन्जरको रिक्वेस्टमा म्यासेज आएकाआयै थिए। मैले साथीका अनुरोध (फ्रेन्ड रिक्वेस्ट) पठाउँदा करिब ३ वर्ष पेन्डिङमै थियो। त्यसपछि आफैँले रिक्वेस्ट हटाएको थिएँ।

उनले फेरि आफैँ पठाएका छन्। उनको रिक्वेस्ट करिब १ हप्तापछि एक्सेप्ट गरेपछि उनले म्यासेन्जरमा अडियो कल गरे, उनको कुरा सुन्दा विदेश आएपछि मात्रै आफन्तको लिस्टमा परेछु भन्ने आभाष भयो।

‘नेपालमै बसिस्, दुख पाउने भइस् भन्ने थियो। अब त युरोप गइछस्, राम्रो गरिस्’ मानौँ कि उनले नै मलाई नेपालमा खान लाउन दिए जसरी कुरा गरे।

‘हामीलाई भुल्लास् नि फेरि! सुख दु:खमा काम लाग्ने दाजुभाइहरू नै हुन्…।’ मानौँ कि उनको आफन्तको अभिन्न अंग हुँ भन्ने फिल गराउन खोज्दै थिए। उनको करिब २० मिनेटको म्यासेन्जर वार्तामा करिब २० शब्द मात्रै मेरा थिए। ती सबै ‘हस्’ अनि ‘हस्’ मात्रै थिए। किनकी उनलाई मैले करिब १२ वर्ष भुलिसकेको थिएँ।

साला! भन्न मन थियो, काठमाडौँमा संघर्षका दिनहरूमा म छु है भनेको भए, अहिले बोलेका यी शब्दहरूलाई कति सम्मान गर्ने थिएँ। नेपालमा हुँदा बोल्न आउँछ कि भनेर तर्किँदै हिँड्नेहरूको यी र यस्ता शब्दहरूले विदेशमा आएपछि निकै पोल्ने रहेछन्। अझ दुःखमा काँधै थापेर बसे जसरी विदेश आएपछि फोन गर्नेहरूलाई ‘विप’ लगाएर गाली गर्न मन लाग्ने म मात्रै होइन होला।

यति मात्रै होइन, नेपाल हुँदा सहयोग गर्ने एकाध दाजुभाइहरू र साथीहरूले बाहेक अरुले विदेशमा पैसा फले जसरी कुरा गर्दा रहेछन्।

यी त आफन्तको कुरा हो। आफ्नै घरमा पनि बुवाले उता गएको छोरा फर्किन्छ कि भनेर बुहारीलाई कैयौँ पटक फोन गरेर ‘विदेशमा अलिअलि दुःख हुन्छ, फेरि फर्केला नि’ भन्ने गरेको कुरा मेरी श्रीमतीले मलाई सुनाई रहन्थिन्।

यी त परदेश आएपछि मेरा धेरै अनुभवमध्ये ५ प्रतिशत मात्रै हुन्। अरु त कति छन्, कति!

यी कुरा किन सुनाइरहेको छु भने, विदेशमा जानका लागि नेपाली युवाहरू मरिहत्ते गर्ने पहिलो कारण माथिका मेरा उदाहरणहरूकै कारण हुन् अर्थात ‘अहिलेको नेपाली समाज’। अहिले नेपालमा राजनीति गर्नेहरूले मात्रै हो सरकारले रोजगारी दिन नसकेर युवाहरू विदेशिएका हुन् भन्ने कुरा उठाउने। तर वास्तवमा यिनै परिवार र यही समाजले नै युवाहरूलाई विदेश पलयान हुन बाध्य बनाएका छन्।

‘मेरो छोरा फलानो देश, ढिस्कानो देश, मेरो ज्वाइँसाब विदेश होइसिन्छ’ भन्ने समाजको परिवेशले विदेश पलायन भएका छन्। पहिला यही देशमा बसेका युवाहरूलाई खान पुगेको थियो र उत्पादनले धानेको थियो। तर अहिले ती खेत बाँझा छन्।

विदेशिने युवाहरूमध्ये सबैभन्दा धेरै गाउँमा बस्नेहरू हुन् भन्ने अर्को भ्रम हो। गाउँमा हुनेहरूले आफ्नो जोहो खोज्न विदेशिन बाध्यता पनि छन्। त्योभन्दा पनि सहरमा बस्ने युवायुवतीहरूको विदेश मोह निकै छ। देशले करिब १२ वर्ष गरेको योगदानलाई खुट्टामा कुल्चेर घरबार नै बिक्री गरेर अमेरिका, अस्ट्रेलिया जस्ता देशमा पलयान हुनेहरूको संख्या निकै छ।

‘मेरो ज्याइँसाब त अस्ट्रेलिया होइसिन्छ,’ जस्ता शब्दहरू अहिले बजारको अवस्था हो। आफ्नो पुर्ख्यौली सम्पत्ति बिक्री गरेर विदेश पठाउने र त्यो पुस्ता उतै पलयान हुने गरेका छन्। यो अवस्था सरकारले भन्दा पनि समाजले सिर्जना गरेका सामाजिक परिवेश हुन्।

काठमाडौँ, पोखरालगायतका देशका ठूला सहरहरूमा बसेर पढ्ने १५ वर्षदेखि २२-२५ वर्षसम्मका ‘अर्लि युथ एज’ हरेकको सपना विदेश छ र विद्यालयहरूमा पनि पढाई त्यसैअनुसारले हुन्छन्।

मैले १२ वर्ष काठमाडौँमा बसेर पत्रकारिता गर्दा करिब दर्जन विद्यालयको प्रेस संयोजक भएर काम गरेको छु। उनीहरूले पछिल्लो समयमा पढाईमा भन्दा पनि भाषा सिकाईमा ध्यान दिने गरेका छन्। पछिल्लो समयमा अङ्ग्रेजीका ब्रिटिस र अमेरिकी एक्सन, कोरियन, जापानिज, डच गर्दा भाषाहरू थपेर पढाउने गरेका छन्।

यो पनि समाजकै उपज हो। व्यवसाय गर्न खोलेका सहरका विद्यालयले दिने शिक्षा समाजले मागेकै हो। त्यसैले नै उनीहरूको आर्थिक उन्नति हुन्छ, राम्रा शिक्षा दिएर होइन। त्यसैले त अरु व्यवसाय खस्किएका समयमा नेपालमा म्यानपावर, कन्सल्टेन्सी जस्ता नेपाली बिक्री गर्ने व्यवसायहरू मौलाएका छन्। त्यसलाई राज्यले रेमिट्यान्सको नाम दिएको छ।

विदेशमा बस्ने नेपालीको मानिसकता

सन् २०२४ मार्च ४ तारिखमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जर्मनीको एउटा कार्यक्रमका लागि उडेको थिएँ। पछिल्लो समयमा नेपालमा सुरक्षा र अपराध मामिलामा पत्रकारिता गर्दै आएको थिएँ। त्यस कारणले जर्मनी र बेल्जियममा केही साथभाइहरू थिए। उनीहरूको जोडबलले नै जर्मनी आएको थिएँ।

मार्च ५ को करिब ३ बजे स्थानीय समय जर्मनीको डेसलजफ्ट अन्तर्राष्टिय विमानस्थलमा ओर्लिएँ। एक जना मित्र (नाम उल्लेख गर्न नचाहेकाले) ले रिसिभ गरे। ‘मैले सबै व्यवस्था गरेको छु, फर्किने मासिकता छ भने त्याग्दे,’ उनको पहिलो शब्द थियो। उसको नियतमा खराब त थिएन तर सामाजिक अवस्थाको प्रतिविम्ब थियो।

जर्मनीको ३ दिनको कार्यक्रम सकेर स्विजरल्याण्ड, फ्रान्स र बेल्जियमसम्म यात्रा गर्दा चिने जानेकाले नेपाल फर्कने मानसिकतालाई ‘हिग्नोटाइज’ गरिसकेका थिए। युरोपभन्दा बाहिर रहेका साथीभाइहरूले सामाजिक सञ्जालमा राखेका फोटोहरू देखेर नफर्कने सल्लाह दिएका थिए।

त्यसै समाजको ‘रिफलेक्ट’ले जित्यो। म पनि परदेशी भएँ। अहिले पोर्चुगलमा सबै नेपालीजस्तै श्रम गरिरहेको छु। तर श्रम भने यहाँ फेरिँदो परिभाषा छ। एक जना मेरा सहकर्मीको शब्दले अहिले मलाई छोइरेहेको छ, ‘दाजु यहाँ जे गरे पनि हरेक घण्टा यूरो झरिरहेको छ।’

नेपालमा दिउँसोभरि काम गरेर थाकेका बाआमाले आफ्नो छोराछोरीलाई खाना पकाउ भन्दा ‘मलाई खान पकाउन आउँदैन’ भनेर जवाफ फर्काउने ती छोराछोरीले अहिले जे काम गर्न पनि तयार छन्।

गाउँमा खेतबारी बाँझो छोडेर लाखौँ खर्च गरेर आएका छोराछोरीले अहिले यूरोपमा खेतीमा काम पाइन्छ कि भनेर एजेन्सीको ढोका ढकढकाइरहेका छन्। र त्यसलाई ‘यूरो झर्छ’ भनिरहेका छन्।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?