सरकारले नेपाल प्रहरी महानिरीक्षक आईजीपीमा अतिरिक्त महानिरीक्षक दीपक थापालाई नियुक्त गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले एआईजी थापालाई नेपाल प्रहरीको ३१औं महानिरीक्षकमा नियुक्त गरेको हो।
थापासँगै प्रहरी महानिरीक्षकमा एआईजीहरू सुदीप गिरी र टेकबहादुर तामाङ प्रतिस्पर्धामा थिए।
प्रहरी महानिरीक्षक नियुक्तिमा ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमतालाई आधार मान्ने नियमावलीमा व्यवस्था छ। जसअनुसार एआईजी दीपक थापा महानिरीक्षकमा नियुक्त भएका हुन्।
उनले आफ्नो कार्यकालमा हालसम्म काठमाडौं उपत्यका, जिल्ला, विभागको सफलतापूर्वक जिम्मेवारी पुरा गरेका छन्।
हालसम्म कुनै विवादमा नआएका उनको बढुवाले देशको सुरक्षा र प्रहरी संगठनको विकासका लागि सरकारलाई नै सहयोग हुने विश्वास गरिएको छ।
आजदेखि प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसहित ९ उच्च अधिकृतहरू एकसाथ अवकाशमा गएका छन्।
प्रहरी महानिरीक्षक कुँवरसँगै अतिरिक्त महानिरीक्षकहरू टेकप्रसाद राई, कुवेर कडायत, बुद्धि गुरुङ, दुर्गा सिंह र जनक भट्टराई पनि अवकाश गएका हुन्।
त्यस्तै डीआईजीहरू गणेश चन्द, भोला रावल र ध्रुवराज राउतले पनि ३० वर्षे सेवा अवधिका कारण अवकाशमा गएका छन्।
को हुन् नवनियुक्त आईजीपी थापा?
बुबा रामशरण थापा र आमा सावित्री थापाको कोखबाट २०२८ मंसिर ८ गते भक्तपुरमा जन्मिएका थापा प्रहरी संगठनमा अब्बल प्रहरी अधिकृत हुन्। थापा २०५२ भदौ १९ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरीमा प्रवेश गरेका हुन्। प्रहरी निरीक्षक भएदेखि नै उनी कार्यसम्पादन मूल्याकंनमा उत्कृष्ट हुँदै आएका थिए।
नवनियुक्त आईजीपी थापा व्यवस्थापकीय जिम्मेवारीमा अब्बल मानिनुका साथै कमान्ड नियन्त्रणमा समेत पोख्त छन्।
आईजीपी नियुक्त हुनुअघि उनी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) प्रमुखको रुपमा कार्यरत थिए। त्यसअघि थापाले एआईजीमै उपत्यका प्रहरी कार्यालय र प्रधान कार्यालयको प्रशासन विभागको नेतृत्व गरिसकेका छन्।
२०६३ भदौ ८ गते प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवा भएपछि पनि थापाले विभिन्न युनिट सम्हाले। जिल्ला प्रहरी कार्यालय खोटाङ, प्रधानमन्त्री सुरक्षा कार्यालय बालुवाटार, प्रहरी वृत्त महाराजगन्जको सफल कमाण्ड थापाले सम्हाले।
२०७२ साउन ८ मा प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएपछि अख्तियारको कोहलपुर र बुटवल काम गरेका उनी चितवनको प्रहरी प्रमुख बने।यसैगरी हेडक्वार्टरको बजेट शाखामा पनि उनले काम गर्ने मौका पाए।
२०७५ फागुन ६ गते प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएपछि आर्थिक प्रशासन महाशाखा, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुखको जिम्मेवारी सम्हाले। त्यसपछि वृत्ति विकास महाशाखा, प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा काम गरेका उनी २०७९ असार १७ गते प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भए।
डिआईजी बढुवापश्चात उनको पदस्थापना प्रबन्ध निर्देशनालयमा भयो। केही समय त्यहाँ काम गरेका थापाको पछि बागमती प्रदेश प्रहरी कार्यालयको प्रमुखमा सरुवा भयो। प्रदेश प्रहरी प्रमुख रहँदै थापा २०७९ चैत ६ गते एआईजीमा बढुवा भए।
उनले प्रहरी निरीक्षक आधारभूत तालिमसँगै मानव अधिकार प्रशिक्षक प्रशिक्षण तालिम, विशिष्ट व्यक्तिको सुरक्षा तालिम, अपराध अनुसन्धान तालिम, प्रशिक्षक प्रशिक्षण तालिम, इन्भेस्टिगेटिभ इन्टरभ्यु ट्रेनिङ कोर्षलगायत तालिम गरेका छन्।
यसैगरी प्रहरी सेवाको क्रममा उनले दुर्गम सेवा पदक, गद्दी आरोहण रजत पदक, विरेन्द्र ऐश्वर्य सेवा पदक, दैवीप्रकोप पिडितोद्धार पदक, गोरखा दक्षिणबाहु चौथो, प्रहरी सेवा पदक, संयुक्त राष्ट संघ पदक, परदेश सेवा पदक, प्रबल जनसेवा श्री र सुप्रबल जनसेवा श्री विभुषण पाएका छन्।
यस्तै उनले संयुक्त राष्टसंघ कार्यालयबाट कृतज्ञता प्रमाणपत्र र प्रशंसा प्रमाणपत्र गरी दुईपटक सम्मान भएका छन्। यसैगरी उनलाई राष्टिय सूचना अयाोगले समेत २०७४ असोज २५ गते सम्मान गरेको थियो। २१ पटक नगदसहित पुरस्कृत र ९ पटक प्रहरी प्रधान कार्यालयबाट प्रशंसापत्र पाएका छन्।
थापाले मानविकी तथा समाजशास्त्रमा प्रविणता प्रमाणपत्र, मानविकी तथा समाजशास्त्रमा स्नातक, कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नाकोत्तरसम्मको अध्ययन गरेका छन्। महानिरीक्षक थापाकी श्रीमती रुपा पौडेल थापा, २ छोरी र एक छोरा छन्।