शनिबार, १२ जुलाई २०२५

ढोलाहिटी घटना: अपशब्दबाट सुरू भएको विवाद हत्यासम्म

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडौं
2024-03-26 12:14:00
News Image
• • •

हाेलीकाे दिन आइतबार ललितपुरकाे ढोलाहिटीमा २ जनाको हत्यामा संलग्न भएकाे आरोपमा पक्राउ परेका ४ जनालाई प्रहरीले सार्वजनिक गरेकाे छ।

प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरे पक्राउ परेका चारै जनालाई सार्वजनिक गरेको हाे। प्रहरीका अनुसार घटनामा संलग्न एक जना भने फरार छन्।

पक्राउ पर्नेमा खोटाङको साकेला गाउँपालिका–२, सेखुवा स्थायी वतन भई हाल ललितपुर महानगरपालिका–२६ जैनखेल बस्ने होटल सञ्चालक ३१ वर्षीय विजय राई, खोटाङको साकेला गाउँपालिका–२ सेखुवा स्थायी वतन भई ललितपुर–१५ खुमलटार बस्ने होटल सञ्चालक वर्ष ३० का सुलभ राई रहेका छन्।

यसैगरी भोजपुरको ट्याम्केमयुङ गाउँपालिका–२ अन्नपूर्ण स्थायी वतन भई हाल ललितपुर–२६ जैनखेल बस्ने वर्ष ३८ का विशाल हाङ मुकारुङ राई र काठमाडौँको गोकर्णेश्वर–११ स्थायी वतन भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–६ सानागाउँ बस्ने वर्ष २५ का छेड्वीहाङ राई छन्।

घटनामा संलग्न भएकाे आरोपमा लागेका राजु गुरुङ फरार रहेको र उनकाे खोजी भइरहेको प्रहरीले जनाएको छ। थप अनुसन्धानका लागि ८ जनालाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका चार जना र फरार एक जनासहित पाँचजनाविरुद्ध कर्तव्य ज्यान कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएकाे छ।

आइतबार राति १० बजेको ललितपुर महानगरपालिका-२६ ढोलाहिटीस्थित विजय राईसमेतले सञ्चालन गरेको ‘डी पोपिना’ रेस्टुरेन्टमा युवाहरुको समूहबीच विवाद भएकाे थियाे। साेही क्रममा रेस्टुरेन्ट सञ्चालक राई समेतले भान्सामा रहेको चक्कुले प्रहार गर्दा जिल्ला पाँचथर मिक्लाजुङ गाउँपालिका-६ स्थायी वतन भएको २७ वर्षीय पुजन राई र सुनसरी धरान उपमहानरपालिका-१३ जिरो प्वाईन्ट स्थायी वतन भएको २८ वर्षीय रेवश राई गम्भीर घाइते भएका थिए। उनीहरूकाे उपचारको क्रममा सोही दिन राति मृत्यु भएकाे थियाे।  

तिहारकाे समयमा साहिल श्रेष्ठले छिङबिहाङ राईलाई हाच्याए अपशब्द बाेलेकाे विषयमा विवाद भएकाे थियाे। त्यसपछि पनि सामान्य विवाद भएकाे थियाे।

प्रहरीका अनुसार विजय, सुलभ र भूपालले सञ्चाल गरेकाे ‘डी पोपिना’ रेस्टुरेन्टमा राति ८/१० जना रमाइलाे गरिरहेका थिए। राति साढे ८ बजेकाे समयमा छिङबिहाङलगायत साेही रेस्टुरेन्टमा गएर साहिलले आफूलाई हेपेर हाेच्याएकाे कुरा उठान गरेका थिए। त्यसपछि एकछिन विवाद भएकाे थियाे र यस्ताे कुरा गर भनेर विशाल हाङ मुकारुङसँग विवाद गर्न खाेज्दा सञ्चालकमध्ये सुलभ राईले उनीहरूलाई घर जान भन्दै सडकसम्म पुर्याएका थिए।

त्यसलगत्तै छिङबिहाङले मृतक रेवशलाई फाेन गरेर ‘आफूहरूलाई ‘डी पोपिना’ मा हेपेर बाहिर निकाल्याे, दुर्व्यवहार गर्याे, हामी बाहिर सडकमा छाैँ’ भनेका थिए। अन्दाजी राति १० बजे रेवशसमेतकाे समूह आएर बन्द अवस्थामा रहेकाे रेस्टुरेन्टकाे सटर खाेलेर ‘मेराे भाइहरूलाई हाेच्याउने धम्क्याउने काे हाै’ भनेर विवाद गरेपछि मृतक रेवश र विशाल हाङ मुकारुङबीच धकेलाधकेल सुरू भएकाे थियाे।

रेस्टुरेन्ट सञ्चालकमध्येकाे विजयले रेशवलाई रेस्टुरेन्ट बाहिर निकाल्न खाेज्दा उनीहरूबीच विवाद भएकाे प्रहरीले जनाएकाे छ। त्यसपछि  रेस्टुरेन्ट सञ्चालक विजयले किचेनमा रहेकाे चक्कुले रेशवलाई हान्न खाेज्दा सडकमा उभिएका पुजन राईले त्यस्ता गर्न हुँदैन भने विजयका हातकाे चक्कु खाेस्न खाेज्दा उक्त चक्कु पुजनकाे बायाँ तिघ्राेमा लागेका प्रहरीकाे भनाइ छ।

त्यसपछि विशाल र सुलभले घाइते पुजनलाई भित्र लगिएकाे थियाे। विशाल र सुलभ बाहिर निस्किएर एकआपसमा धकेलाधकेल गरिरहेकाे अवस्थामा विजयले रेशवलाई छाती र काेखामा चक्कु प्रहार गरेर गम्भीर घाइते बनाएका थिए।

घाइते पुजनलाई उपचारको लागी धापाखेलमा रहेको सुमेरू अस्पतालमा पुर्याइएको र रेवशलाई लगनखेलस्थित पाटन अस्पतालमा ल्याईएकोमा उपचारको क्रममा दुवै उनीहरुको मृत्यु भएकाे हाे। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?