शुक्रबार, २२ अगस्ट २०२५

नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको ‘जिएसपी’ प्रमाणपत्र, दीर्घरोगीका लागि औषधि उत्पादन गर्ने उद्देश्य

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल औषधि उत्पादन अभ्यास (जिएमपी) प्रमाणपत्र प्राप्त गरेको छ। 

लिमिटेडले सम्पूर्ण मापदण्ड पूरा गरेपछि औषधि लिमिटेडले मंगलबार औषधि व्यवस्था विभागबाट अन्तरराष्ट्रिय मान्यताको उक्त प्रमाणपत्र प्राप्त गरेकाे हाे। 

औषधि लिमिटेडले उक्त प्रमाणपत्र प्राप्त भएसँगै कम्पनीमा उत्पादित औषधि विदेशमा निर्यात र अन्तर्राष्ट्रिय स्तरमा बोलपत्रमा सहभागी हुन बाटो खुलेको छ।

नेपाल औषधि लिमिटेड कस्ताे कम्पनी हाे? 

नेपाल औषधि लिमिटेड सरकारी स्वामित्वको एकमात्र औषधि उत्पादक कम्पनी हो। 

कम्पनी ऐन २०२१ बमोजिम ‘शाही औषधि लिमिटेड’ का नाममा २०२९ साल असोज १ गते स्थापित यो कम्पनी लोकतन्त्रको बहालीसँगै ‘नेपाल औषधि लिमिटेड’मा परिणत भएको थियो।

औषधि बेचेर तिर्छौं भन्दा नि सरकारले ऋण दिएन- कैलाशकुमार पनेरु (भिडियाे-अन्तर्वार्ता)

गुणस्तरीय औषधि उत्पादन गरी सुपथ मूल्यमा देशभर उपलब्ध गराउने उद्देश्यका साथ स्थापित यो कम्पनी स्थापनाले २०६० सालसम्म १४६ प्रकारका औषधि उत्पादन गरेकाे थियाे। 

२०६३–०६४ सालसम्म विश्व स्वास्थ्य संगठनले औषधि उत्पादन गर्ने कारखानामा जीएमपी (गुड म्यानुफ्याक्चररिङ् प्राक्टिस्) अनिवार्य रुपमा लागू गर्नुपर्ने गाइडलाइन बनायो।

तर संरचना र आर्थिक अभावका कारण लिमिटेड उक्त गाइडलाइनमा जान सकेन। अर्थात् कम्पनीले मापदण्डअनुसारका औजार र प्रविधिहरू किन्न सकेन।

सरकारी औषधि कम्पनी टिकाउन सरकारसँगै भिडिरहेका ‘जिएम’

विश्व स्वास्थ्य संगठनको जीएमपी गाइडलाइनअनुसार कम्पनी नवीकरण गर्नका लागि सरकारसँग धेरै पटक ऋण सहायताका लागि रकम उपलब्ध गराउन लिमिटेडले अनुरोध गर्‍याे तर असमर्थ रह्यो। 

कम्पनीले वि.सं.२०७४ सालदेखि जीएमपी मापदण्डमा औषधि उत्पादन सुरु गरेपछि  आज मात्रै उक्त प्रमाणपत्र प्राप्त भएको हो। 

कुनैबेला सयथरि औषधि बनाएर चर्चा कमाएकाे कम्पनीलाई फेरि पुरानै लयमा फर्काउन सकिने कम्पनीका महाप्रबन्धक कैलाश पनेरूकाे दाबी छ।

‘नि:शुल्क बाँड्ने औषधि सरकारी कम्पनीले नै उत्पादन गर्नसक्छ’

तर त्यसकाे लागि सरकारबाट आवश्यक बजेट विनियोजन हुनुपर्ने उनी बताउँछन्।  

‘यदी सरकारले हाम्राे कम्पनीलाई विश्वास गर्ने हाे भने हामी पुरानै लयमा फर्किन सक्छाैं’, बिएल नेपाली सेवासँग कुराकानी गर्दै उनले भनेका थिए, ‘सरकारले थोरै लगानी गर्‍यो भने संस्थाले धेरै ठूलो उपलब्धि हासिल गर्नसक्छ।’

जीवनजल, सिटामोल, स्यानिटाइजर, हेमाडाइलासिसलगायतका औषधिजन्य वस्तु बनाउँदैआइरहेकाे कम्पनीले आगामी दिनमा दीर्घरोगीका लागि लक्षित गरी कोलेस्ट्रोल, सुगर र प्रेसरको औषधि उत्पादनका योजना बनाइरहेकाे महाप्रबन्ध पनेरूले सुनाए। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!