आइतबार, २५ अक्टोबर २०२६

पीसीबीले प्रतिखेलाडी २५ हजार डलर मागेपछि एनपीएलमा पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा

News Image
• • •

नेपाल प्रिमियर लिग (एनपीएल)मा पाकिस्तानी खेलाडीहरूको सहभागीताबारे अन्योलता सिर्जना भएको छ।

एनपीएल सुरु हुन एक दिनमात्र बाँकी रहँदा पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले एनपीएल खेल्न आउने आफ्ना खेलाडीलाई आवश्यक नाे अब्जेक्सन लेटर (एनओसी) दिन ढिलाइ गरेपछि अन्याैल बढेकाे हाे।

पीसीबीले प्रतिखेलाडी २५ हजार अमेरिकी डलर माग्दै खेलाडीको खेलाडीको एनओसी होल्ड गरेको र शुल्क नतिरे नेपाल आइसकेका पाकिस्तानी खेलाडीको एनओसी फिर्ता लिने चेतावनी दिएको ईएसपीएन क्रिकइन्फोले दाबी गरेको छ।

समाचारमा एनपीएल आयोजक टीम र पीसीबीबीच छलफल जारी रहेको उल्लेख छ। यद्यपि पीसीबीले प्रतिखेलाडी शुल्क एनपीएल आयोजकसँग वा क्यानमध्ये कोसँग मागेको भन्ने स्पष्ट छैन। पीसीबीबाट पनि यस विषयमा आधिकारिक पुष्टि भइसकेको छैन।

ईएसपीएन क्रिकइन्फोले पाकिस्तानी खेलाडीहरूलाई अनुबन्ध गरेका एनपीएलका टोलीहरूबाट सूचना प्राप्त गरेको दाबी गरेको छ।

एनपीएलको तेस्रो संस्करणमा चितवन राइनोजले हसन अली र उसामा मिर, जनकपुर बोल्ट्सले इफ्तिखार अहमद, कर्णाली याक्सले पाकिस्तानका टी–२० कप्तान साहिबजादा फरहान र अलराउन्डर हुसेन तलत, सुदूरपश्चिम रोयल्सले हैदर अली र जनकपुर बोल्ट्सले फास्ट बलर हुनैन शाहलाई अनुबन्ध गरेका छन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यता प्राप्त लिगमा सहभागी हुन विदेशी खेलाडीले सम्बन्धित राष्ट्रिय क्रिकेट बोर्डबाट एनओसी लिनुपर्ने व्यवस्था रहेका कारण एनपीएल तेस्रो संस्करणमा सहभागी हुने पाकिस्तानी खेलाडीहरूले पनि त्यहाँको क्रिकेट बोर्डबाट एनओसी लिनुपर्ने हुन्छ।

केही खेलाडीहरू नेपाल आइसकेको अवस्थामा एनओसी होल्ड भएपछि पाकिस्तानी खेलाडीको सहभागिता अनिश्चित बनेको हो।

एनपीएलमा पाकिस्तानी खेलाडीको सहभागीता अब एनपीएल आयोजक र पीसीबीबीचको छलफलबाट टुंगो लाग्नेछ। यदी आयोजकले प्रतिखेलाडी २५ हजार डलर तिर्न तयार भए पीसीबीलाई सात खेलाडी बराबर एक लाख ७५ हजार डलर तिर्नुपर्ने हुनसक्छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!