
तेजन खड्का
गत भदौ २३ र २४ गते दुई दिनसम्म भएको जेनजी आन्दोलनका कारण देशका अन्य ठाउँझैं दमकमा पनि सरकारी र निजी सम्पत्ति ध्वस्त बनाइयो।
यसमा सबैभन्दा ठूलो मारमा नगरपालिका परेको छ।
दमक नगरपालिकाका दुईवटा कार्यालय भवन पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने नगरपालिकाका सवारीसाधनसहितका कागजात जल्दा करोडौं रुपैयाँको क्षति भएको छ।
तत्काल नगरपालिकाबाट नागरिकलाई दिइने सेवा सुरु गर्ने अवस्था नै रहेको छैन।
त्यसका साथै इलाका प्रहरी कार्यालय दमकको भवन समेत जलेर पूर्ण रूपमा नष्ट भएको छ। त्यस्तै, निजी घर भाडामा लिएर सञ्चालन भैरहेको आन्तरिक राजस्व कार्यालय पनि जलेर ध्वस्त भएको छ।
यस्तो अवस्थामा सरकारी संरचना तत्काल पुनर्निर्माण गरी नागरिकलाई सेवा प्रवाह सुरु गर्न पहल गर्नु पर्नेमा नगर प्रमुखको घर निर्माणका लागि सहयोग समिति गठन गरेर नागरिकसँग सहयोग माग्न थालिएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका कोशी प्रदेश अध्यक्षसमेत रहेका दमक नगरपालिकाका प्रमुख राम थापाको घर निर्माणका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी झापा क्षेत्र नम्बर ५ का क्षेत्रीय अध्यक्ष तथा दमक वडा नम्बर ७ का वडा अध्यक्ष भीम पौडेलको संयोजकत्वमा 'राम थापा घर बनाउ नागरिक अभियान’ घोषणा गरी रकम संकलन थालिएको हो।
दमकमा थापा सहित प्रधानमन्त्री केपी शर्मा ओली बस्ने निजि घर, पूर्व नगरप्रमुख रोमनाथ ओलीको घर, एमाले नेताहरू गोविन्द थापा र होम थापाको घर, दमक नगर उपप्रमुख रेगिना भट्टराईको घर, वडा नम्बर १ का अध्यक्ष हरि न्यौपाने र वडा नम्बर ३ का अध्यक्ष नविन बरालको घरसहित माओवादी केन्द्रका नेता गगन पुरीको घरसमेत जलाइएको छ। त्यस्तै, कांग्रेस, एमाले र माओवादीका पार्टी कार्यालयहरू पनि जलाइएका छन्।
तर नागरिकको सेवा प्रवाहका लागि नगरपालिका, प्रहरी कार्यालय र आन्तरिक राजस्व कार्यालय तत्काल पुनर्निर्माण हुनुपर्ने अवस्थामा नगर प्रमुखको व्यक्तिगत घर निर्माणका लागि जनतासँग सहयोग संकलन थालिएको भन्दै विरोध सुरु भएको छ।
अझ चाडपर्व नजिकिएको सन्दर्भमा इलाका प्रहरी कार्यालय समेत नहुँदा नागरिकमा असुरक्षा बढिरहेको छ।
आन्दोलनमा विस्थापित भएको प्रहरी अहिले आएर बस्ने ठाउँसमेत नभएको अवस्थामा नगर प्रमुखको घर निर्माणलाई प्राथमिकता दिइराख्नु र जनप्रतिनिधिकै अगुवाइमा समिति गठन हुनु नागरिक स्तरमा असन्तुष्टि चुलिनुको कारण बनेको छ।
अझ रोचक कुरा त, आन्दोलनकारीले आगो लगाएर नगरपालिकाको भवन जलेर नष्ट हुँदै गर्दा दमक नगरपालिकाका प्रमुख राम थापा स्वयं तत्कालीन प्रधानमन्त्रीको राजीनामाको माग गर्दै आन्दोलनकारीसँगै नाराबाजी गरिरहेका थिए।
इलाका प्रहरी कार्यालयसहितका संरचनामा आक्रमण गर्न आएको टोलीमा समेत थापाका निकट व्यक्तिहरू र राप्रपाका कार्यकर्ताहरूले सुरुवाती अग्रता गरेका थिए।
देशभर राप्रपाका नेताको घर वा कार्यालयमा आगजनी नभएको अवस्थामा केवल दमकमा मात्र थापाको घर जल्नु र लगत्तै 'राम थापा घर बनाउ नागरिक अभियान’ गठन गरी सहयोग संकलन गरिनुले पनि यो नियोजित त होइन भन्ने आशंका उत्पन्न भएको छ।
यसै सन्दर्भमा हामीले पौडेलसंग जिज्ञासा राख्दा उनले भने, `हो हामीले आन्दोलनकारीद्वारा ध्वस्त पारिएको मेयर साबको घर निर्माण गर्न मेरै संयोजकत्वमा सहयोग संकलन समिति बनाएका छौ , स्वतस्फूर्त सहयोग गर्न चाहानेहरुले सहयोग गर्नुहुन्छ हामी कसैलाई दबाब सृजना गरेर सहयोग माग्दैनौं। ध्वस्त भएका सार्वजनिक संरचना निर्माणमा सहयोग माग्न चैं सीडीओले नै रोकेको हुदा हामीले त्यतापट्टी सहयोग मागेका छैनौं।´
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया