शुक्रबार, २७ नोभेम्बर २०२६

नेपाली काँग्रेस ‘फुटकर’ अभियानमा अल्झिनु हुँदैन : केन्द्रीय सदस्य पराजुली

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शोभाकर पराजुलीले सरकारले ‘कच्चा’ कुटनीति प्रदर्शन गरेको भन्दै त्यसका लागि नेपाली काँग्रेसले खबरदारी गर्नुपर्ने बताएका छन्। पार्टीको केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्ने क्रममा पराजुलीले हालै प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबारे टिप्पणी गर्दै यस्तो बताएका हुन्।

‘कच्चा र अनुभवहीन सरकारले संवाद र घरेलु शक्तिहरूबीच न्यूनतम सहमति जुटाउने कुरालाई पूर्ण बेवास्ता गर्दा छिमेकीहरूको रणनीति पनि फेरिँदै गएको देखिन्छ। यो संवेदनशील बेलामा आफ्नो राष्ट्रिय दायित्वबोध गर्दै कांग्रेसले संवाद र परिपक्व कदम प्रदर्शन गर्नुपर्छ’ पराजुलीले भनेका छन् ‘कमजोर कूटनीतिका कारण हामी फेरि अन्तर्राष्ट्रिय मञ्चमा फिक्का बन्दै छौँ। जलवायु न्याय तथा स्वाभिमानसहितको स्वीकार्यता स्थापित गर्नका लागि हाम्रो कूटनीतिक अभ्यासलाई समयसापेक्ष हेरफेर गर्ने बेला भइसकेको छ। प्रधानमन्त्रीको भारत भ्रमणले हाम्रो राष्ट्रिय गरिमा बढाएन, बरु निहुरिनकै लागि भारत गएको हो भन्ने सन्देश देखाइरहेको छ। यस्तो अवस्थाले हाम्रो स्वाभिमान र कूटनीतिक मर्यादामाथि गम्भीर प्रश्न उठाएको छ।’

त्यस्तै उनले अहिलेको अवस्थामा देश गम्भिर मोडमा पुगेको भन्दै नेपाली काँग्रेसले आफूलाई फुटकर कार्यक्रमहरूमा मात्रै सिमित राख्न नहुने पनि बताएका छन्। यति बेला पार्टी जीवनसँगै राष्ट्रिय दायित्व निर्वाह हुनेगरी आफूलाई प्रस्तुत गर्न पनि उनले नेपाली काँग्रेसका सभापतिलाई आग्रह गरे।

लोकतन्त्रको असल अभ्यास गर्ने सन्दर्भमा अहिलेको सरकार र संसद दुवै चुकिरहेको बताउँदै उनले नेपाली कांग्रेसले सरकारलाई, संसदलाई र राज्यका अन्य सबै संरचनाहरूलाई लोकतान्त्रिक विधिबाट सञ्चालन हुनका लागि दबाब, गम्भीर बहसको थाली र आवश्यक परे कठोर निर्णयहरूसमेत गर्नुपर्ने बताए।

अहिलेको सरकार संवैधानिक बाटोबाट टाढिदैं गइरहेको सन्दर्भ निकाल्दै पराजुलीले त्यसको खबरदारीका लागि नेपाली काँग्रेसको ‘छाँया सरकार’ अझ चनाखो र प्रभावकारी रुपमा प्रस्तुत हुनुपर्ने पनि बताए।

‘नेपाली काँग्रेसले शक्ति सन्तुलनको सिद्धान्त,  संसदको भूमिका, सरकारको कार्यशैली, अदालतको विश्वसनीयता, संवैधानिक अंगहरूमा परिरहेको सत्ता र शक्तिको छायाँ जस्ता विषयमा शसक्त निगरानी र निरन्तर खबरदारी गर्न सकोस्’ उनले भनेका छन्।

उनले छाँया सरकारको प्रभावकारी कार्यान्वयन, सामाजिक सञ्जालको दुरुपयोग र नयाँ पुस्तालाई लोकतन्त्रको शिक्षा,सरकारका कार्यशैली, नीति र आदेशहरू सुशासनमैत्री छन् कि छैनन्?, जेनजी विद्रोहपछिको मनोभावअनुसारका कार्यशैली, राष्ट्रियता, कूटनीति र प्रधानमन्त्रीको भारत भ्रमणका सन्दर्भमा नेपाली काँग्रेसले प्रस्ट धारणा ल्याएर सरकारलाई खबरदारी गर्नुपर्ने पनि बताए।

त्यस्तै नयाँ सरकार गठन भएसँगै कतिपय विवादित मुद्दाहरू पनि प्रकाशमा आएको भन्दै त्यसबाट सरकार सुशासनको बाटो नभइ ‘स्वेच्छाचारिता’तर्फ उन्मुख हुन थालेको र नेपाली काँग्रेसले सरकारका त्यस्ता कदमहरू रोक्न निरन्तर लाग्नुपर्ने पनि बताए।

उनले सुनकोशी–मरिण डाइभर्सन ठेक्का रद्द र निश्चित ठेकेदारलाई लाभ पुर्‍याउने नियत,  प्रधानमन्त्री कार्यालयलाई 'यातनागृह' शैलीमा प्रयोग गरी कर्मचारीमाथि धरपकड, ई–पासपोर्ट छपाइ ठेक्कामा बदनियत र गैरकानुनी हस्तक्षेप, 'मेरिटोक्रेसी' (योग्यता प्रणाली) को धज्जी र राजनीतिक नियुक्ति, प्रहरी संगठनमा हस्तक्षेप र विधिको उल्लंघन, प्रेस स्वतन्त्रतामाथि अंकुश र सञ्चारकर्मीमाथि धरपकड, सुकुम्बासीहरूलाई तत्काल होल्डिङ सेन्टर खाली गर्नका सरकारको उर्दीजस्ता विषयहरूमाथि नेपाली काँग्रेस गम्भिर भएर सरकारसँग संवाद गर्न अघि सर्नुपर्ने पनि बताए।

‘आजको चुनौतीपूर्ण घडीमा नेपाली कांग्रेसले केवल प्रतिक्रियात्मक वा फुटकर गतिविधिमा रमाउने छुट छैन। संविधानको रक्षक, लोकतन्त्रको संवाहक र सुशासनको पहरेदारका रूपमा उभिएर सरकार, संसद र राज्यका सबै अंगलाई लोकतान्त्रिक बाटोमा हिँडाउन सशक्त भूमिका निर्वाह गरौँ’ उनले बैठकमा भनेका छन्।

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!