शनिबार, १८ अक्टोबर २०२५

महरा कारागार चलान

News Image
• • •

काठमाडौं जिल्ला अदालतले माओवादी नेता कृष्णबहादुर महरालाई भेपमा सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।

मंगलबार र बुधबार भएको बयान र थुनछेक बहसपछि महरालाई थुना पठाउने आदेश जारी भएको हो।

जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार महरालाई अदालतको आदेश बमोजिम सुन्धारास्थित केन्द्रीय कारागार ‘जगन्नाथदेवल कारागार’ पठाइएको हो।

जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार मुद्धा दर्ता गरेपछि मंगलबारदेखि बयान र थुनछेक बहस भएको थियो।

महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको छ।

भेपमा लुकाएर सुन ल्याएको प्रकरणमा उनलाई सीआईबीको टोलीले आइतबार पक्राउ गरेको थियो।

०७९ पुस १० गते मा फ्लाई दुबईको फ्लाइटनम्बर एफजेट ०५८७ नम्बरबाट काठमाडौं आएका चिनियाँ नागरिक लि हानसोङले २ वटा सुटकेश ल्याएको ७३ वटा बट्टमा ल्याएको ७३० थान भेपमा सुन लुकाएर ल्याएको पाइएको थियो।

उक्त सुन विमानस्थल भन्सारमा रोकिएपछि महराले छुटाउन भन्दै भन्सारमा दबाब दिएको आरोप लागेको थियो। उक्त प्रकरणको फोन संवादसमेत बाहिरिएपछि महराका छोरा राहुल पक्राउ परि कारागारसमेत चलान भएका थिए।

भेपमा लुकाएर ल्याएको ९ किलो सुन भन्सारका नासु रेवन्त खड्का समेतको मिलेमतोमा बेचिएको अनुसन्धानबाट खुलेको थियो।

महरालाई यसअघि पनि अनुसन्धानको दायरामा तानिएको थियो, तर सत्ता र प्रभावका कारण फाइल अघि बढ्न सकेको थिएन। केही दिनअघि महरासँग बयान लिइसकेपछि उनलाई पक्राउ गरिएको हो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!