शनिबार, २४ अक्टोबर २०२६

सुरु भयो नेकपा दुई महिने राष्ट्रिय जागरण अभियान,  आलोचना स्विकार गर्ने, कमजोरी सच्याउने

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडौं।
News Image
• • •

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को दुई महिने राष्ट्रिय जागरण अभियान शनिबारदेखि सुरु भएको छ। पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालले अभियानको उद्घाटन गरेका हुन्।

महाधिवेशनको तयारी गर्दै जनतासँगको सम्बन्ध बलियो बनाउनको अभियान गर्न लागेको प्रवक्ता प्रवक्ता प्रकाश ज्वालाले बताए। अभियानका क्रममा सरकारका जनविरोधी कामको भण्डाफोर गर्ने समेत बताए। उनका अनुसार अभियान आजदेखि मंसिर २५ गतेसम्म चल्नेछ। अभियानसँगै आगामी स्थानीय तह निर्वाचन अगाडि वडा र पालिका अधिवेशन पनि गर्ने प्रवक्ता ज्वालाले बताए।
पत्रकार सम्मेलनमा प्रेसित जागरण अभियानको अपिलमा हरेक नेताहरू जनतामाझ पुगेर उनिहरूका कुरा सुन्ने, आलोचना स्विकार गर्ने र सच्चिने प्रतिवद्धता जनाउने भनिएको छ।

‘हामी पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई जनताका बीचमा विनम्रतापूर्वक जान, उनीहरूका कुरा सुन्न, आलोचनालाई स्वीकार गर्न र आफ्ना कमजोरी सच्याउन विशेष आग्रह गर्दछौं। जनताको विश्वास भाषणबाट होइन, व्यवहार र कामबाट आर्जन गर्नुपर्छ भन्ने मान्यतामा हामी दृढ छौं’ अपिलमा भनिएको छ ‘यस अभियानसँगै हामी आफ्नै पार्टीलाई सुदृढ र रूपान्तरण गर्नेछौँ। सदस्यता नवीकरण तथा अद्यावधिक, संगठनात्मक समायोजन, कार्यविभाजन र पार्टी एकताका बाँकी काम तल्लो तहसम्म सम्पन्न गर्न तथा पार्टी र जनसंगठनका बैठक, भेला, प्रशिक्षण, शुभकामना आदानप्रदान लगायतका कार्यक्रम गर्न विशेष जोड दिनेछौँ। पार्टीका विभिन्न तह तथा जनवर्गीय संगठनबीच समन्वय सुदृढ गर्दै संगठनलाई जनताको सेवामा प्रभावकारी रूपमा परिचालित गर्नेछौँ। पार्टीको एकता संगठनात्मक संरचनामा मात्र होइन, विचार, व्यवहार, जिम्मेवारी र जनताप्रतिको प्रतिबद्धतामा पनि प्रतिबिम्बित हुनुपर्छ।’ 

अभियानमा भेला, सम्मेलन र भाषण वा औपचारिक कार्यक्रमहरूमात्रै नभएर स्थानीय आवश्यकताअनुसार श्रमदान र अन्य सामाजिक कामहरू पनि हुनेछन्। 

‘यो अभियानका साथै नियमित रुपमा हाम्रो पार्टी पङ्क्तिले जिल्ला, पालिका, वडा, टोलबस्तीका स्थानीय विशेषता अनुसार श्रम र उत्पादनमार्फत् जनतासँग जोडिने र सामूहिकताको अभ्यास गर्ने कार्यलाई प्राथमिकता दिनुपर्छ’ अपिलमा पार्टीले भनेको छ ‘जनताले भोगेका समस्यालाई स्थानीय, प्रदेश र संघीय तहका सम्बन्धित निकायसमक्ष पुर्‍याउने, आवश्यकताअनुसार मागपत्र तथा ज्ञापनपत्र प्रस्तुत गर्ने र समाधानका लागि निरन्तर पहल गर्नेछौँ। जनताबाट प्राप्त गुनासाको अभिलेख राख्ने तथा समाधानका लागि भएका प्रयासको प्रगतिबारे जनतालाई जानकारी दिने अभ्याससमेत अघि बढाउनेछौँ। हाम्रो उद्देश्य जनताका समस्या सुनेर फर्कनु मात्र होइन, समाधानका सम्भावना पहिचान गर्नु र त्यसका लागि जिम्मेवारीपूर्वक पहल गर्नु हो।’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!