मङ्गलबार, २६ अगस्ट २०२५

झापा पुगेर शेखरले भने-  कांग्रेसको वैचारिक धार भुत्ते भयो, अब म तिखो बनाउँछु

News Image
• • •

नेपाली कांग्रेसको नेता डा. शेखर कोइरालाले कांग्रेसको वैचारिक धार भुत्ते हुँदै गएको टिप्पणी गरेका छन्।

शनिबार कांग्रेस झापाको पार्टी कार्यालयमा पूर्वआप्रवासी समन्वय विभागको कोशी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै कोईरालाले आफू कांग्रेसको भुत्ते धारलाई तिखो बनाउने देशव्यापी अभियानमा लागेको बताउँदै आम कार्यकर्ताहरूलाई साथ दिन आग्रह गरे।

उनले झापामा समेत कांग्रेसका इमान्दार कार्यकर्ताहरू बिस्तारै पाखा लाग्दै गएको अवस्था आफूले पाएको बताए।

आगामी चुनावमा कांग्रेसको मुख्य प्रतिस्पर्धी दल एमाले नै भएको संकेत गर्दै नेता कोइरालाले भने, ‘आगामी चुनावको प्रतिस्पर्धी दलसँग अहिले सहकार्य गरेर अगाडि पनि जानु छ। यो अप्ठ्यारो र असहज अवस्थाको सामना कांग्रेस कार्यकर्ताहरूले गर्नु परिरहेको छ।’

उनले झापामा आगामी चुनावको प्रतिस्पर्धी को हो? भन्दै प्रश्न पनि गरे। आम कार्यकर्ताहरूको भावना आगामी चुनाव कांग्रेस एक्लै लड्नु पर्छ भन्ने रहेको आफूले पाएको बताउँदै त्यसका लागि कांग्रेसले राम्रो तयारी गर्नुपर्ने डा. कोइरालाले बताए।

पार्टीभित्रको गुटबन्दीको अन्त्य गरेर कांग्रेस एक्लैले चुनाव लड्नुपर्ने आम कार्यकर्ताहरूको भावना आफूले पाएको कोइरालाले उल्लेख गरे।

एमाले नेतृत्वको वर्तमान सरकारमा कांग्रेसले सहयोग मात्रै रहेको भन्दै कांग्रेस अहिले सत्तापक्ष भएपनि सरकारमा रहेको अनुभुति नभएको टिप्प्णी गरे।

उनले भने, ‘ओलीजीसँग यो सरकार बन्नुभन्दा पहिले यो सरकारको खाका बारेमा मैले भनेको थिएँ। उहाँले एमालेको होइन कांग्रेसको नेतृत्वमा हुनुपर्छ भन्नु भयो। तर अहिले सरकार एमालेको नेतृत्वमा बन्यो। कांग्रेस यसमा सहयोगीको भुमिकामा मात्रै देखियो।’

‘देश विकासमा रिटर्नीहरूको भुमिका विदेशदेखि स्वदेशसम्म’ विषयक सो कार्यशालासहितको पूर्वआप्रवासीहरूको भेलामा आप्रवासी नेपालीहरूलाई संकेत गर्दै ‘विदेश जानु गलत हो’ भन्ने जवर्जस्त भाष्य निर्माण गर्न खोजिनु गलत भएको उनले बताए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!