मङ्गलबार, १२ अगस्ट २०२५

‘खेलाडीको जीवन र जीविकाको ग्यारेन्टी राज्यको दायित्व हो’

News Image
• • •

‘स्वास्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित काठमाडौं उपत्यकामा आजबाट आईटी आर्मी अन्तर विद्यालय गोल्ड कप – २०८१ एक समारोहका बीच शुभारम्भ भएको छ। 

कार्यक्रमका प्रमुख अतिथि एवं आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले खेलाडीहरूको जीवन र जीविकाको ग्यारेन्टी राज्यको प्रमुख दायित्व भएको बताए।

उनले खेलकुद क्षेत्रमा राज्यको पर्याप्त ध्यान पुग्न नसकेकोप्रति चिन्ता व्यक्त गर्दै, नव प्रतिभा विकास र प्रोत्साहनमा सबैले ध्यान दिनुपर्नेमा जोड दिए।

आम जनता पार्टी (आजपा)का उपमहासचिव एवं प्रवक्तासमेत रहेका साहले भने, ‘खेलाडीहरू राष्ट्रका गहना हुन्। उनीहरूको उचित प्रोत्साहन र सम्मान बिना खेलकुद क्षेत्रको दिगो विकास सम्भव छैन। खेलकुद क्षेत्रमा लगानीको अभाव र खेलाडीहरूको भविष्यप्रति राज्य उदासीन देखिन्छ। यो अवस्थालाई परिवर्तन गर्नु हामी सबैको साझा जिम्मेवारी हो।’

अध्यक्ष साहले आफ्नो संगठनको उद्देश्य खेलकुद, प्रविधि र प्रतिभा प्रोत्साहनमा योगदान गर्नु पनि रहेको बताए। ‘आईटी आर्मीले नव प्रतिभा पहिचान गरी उनीहरूको विकासका लागि आवश्यक सहयोग प्रदान गर्दै आएको छ। राज्यले पनि खेलाडीको जीवनलाई गम्भीरताका साथ हेर्नुपर्छ’ साहले भने।

उनले खेलकुदलाई केवल मनोरञ्जनको साधन मात्र नभई राष्ट्रको प्रतिष्ठासँग जोडिएको महत्वपूर्ण क्षेत्रका रूपमा हेरिनुपर्नेमा जोड दिए। ‘नव प्रतिभाहरूलाई अवसर दिएमा उनीहरूले राष्ट्रिय एकता र अखण्डतालाई समेत मजबुत गर्दै देशलाई विश्वस्तरमा चिनाउन सक्छन्’, उनले थपे।

अध्यक्ष साहले खेलाडीहरूको दीर्घकालीन सुरक्षाका लागि स्पष्ट नीति निर्माणको माग सरकारसंग गरे।

‘खेलकुद क्षेत्रमा लगानी, पूर्वाधारको विकास र खेलाडीहरूको भविष्य सुनिश्चित गर्न राज्यले तुरुन्त ठोस कदम चाल्नुपर्छ। यो केवल खेलाडीहरूको व्यक्तिगत जीवन र जीविका कुरा मात्र नभई, समग्रमा राष्ट्रकै पहिचान, सम्मान र श्रेष्ठताको सवाल समेत हो’, उनले भने।

नले युवा पुस्तालाई खेलकुदमा प्रोत्साहित गर्न सरकार, निजी क्षेत्र र सामाजिक संस्थाहरूको सहकार्य अपरिहार्य भएको बताए।

मार्स युवा क्लवको संयोजन तथा सोनु कुमार गुप्ताको अध्यक्षतामा भइरहेको यस प्रतियोगितामा काठमाडौँ उपत्यकाभित्रको ३७ ओटा प्रतिष्ठित विद्यालयको सहभागिता रहेको तथा विजेताले ट्र्फी, मेडल र प्रमाणपत्रसहित नगद पुरस्कार २० हजार, उपविजेताले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद १० हजार र तृतीय हुनेले ट्रफी, मेडल र प्रमाणपत्रसहित सम्पूर्ण सहभागीहरुलाई समेत सहभागिताको प्रामाण पत्र प्रदान गरिने जानकारी कार्यक्रम संयोजक राजन पटेलले जानकारी दिएका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!