बिहिबार, २५ सेप्टेम्बर २०२५

बेसबल तथा सफ्टबल संघमा पर्वतारोही पाण्डे

News Image
• • •

नेपाल बेसबल तथा सफ्टबल संघले पर्वतारोही प्रकाशराज पाण्डेलाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेको छ। संघको भाद्र ३० गतेको बैठकले पाण्डेलाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेको हो।

विगत १० वर्षदेखि पर्वतारोहणमा सक्रिय रहेका पाण्डे खेलकुदसँग निकट सम्बन्ध रहेका कारणले संघसँग आवद्ध भई खेल विकासमा अघि बढ्न लागेको बताउँछन्।

‘साहसिक कार्य र साहसिक खेल आफ्नो रुचिको क्षेत्र भएका कारणले त्यसमै सक्रिय पनि रहेको हुँदा कुनै न कुनै रुपमा खेलसँग जोडिएकै थिएँ, आजबाट यस विशिष्ट खेल संघमा औपचारिक प्रवेशसँगै देशको खेलकुदमा प्रत्यक्ष जोडिएको छु। मैले यस खेलको विकासमा कुनै योगदान दिन सकें भने मेरो संलग्नता सार्थक हुनेछ भन्ने विश्वास लिएको छु। संघका अध्यक्ष, महासचिव र अन्य पदाधिकारीहरूले मलाई विश्वास गरेर यो जिम्मेवारी दिनुभएको छ, वहाँहरू सबैलाई धन्यवाद दिँदै याे जिम्मेवारीमा खरो उत्रिन सकौं भन्ने मात्रै लागेको छ अहिले,’ पाण्डे भन्छन्।

पर्वतारोही पाण्डेले विश्वको सबैभन्दा उच्च हिमशिखर सगरमाथा सहित मनास्लु र विभिन्न महादेशीय उच्च शिखरको सफल आरोहण गरिसकेका छन्। हाल विद्यालय व्यवस्थापनमा समेत रहेका आरोही पाण्डे विद्यालय तहबाटै यो खेललाई आम युवा तथा विद्यार्थी माझ परिचित गराउँदै खेलको विस्तार गर्ने सोचमा रहेको बताए। 

‘देशका विभिन्न विद्यालयसँग यस खेलको लागि उपयुक्त हुने मैदान छ जसलाई उपयोग गरेर खेलको विकास र विस्तार गर्न सकिन्छ,’ खेलको विस्तारमा उनले दिनसक्ने योगदानका विषयमा सोधिएको प्रश्नमा पाण्डेले बताए।

अमेरिकामा प्रसिद्ध रहेको खेल बेसबल अमेरिकीहरूको समय कटाउने खेलको रुपमा आम अमेरिकीमाझ लोकप्रिय छ भने अमेरिकी सेनाले आफू पुगेका विश्वका अन्य देशहरूमा यो खेललाई परिचित गराइ लोकप्रिय बनाएको मानिन्छ।

यो खेल अहिले जापान, दक्षिण कोरिया र क्यारिबियाई द्वीपहरूमा निकै लोकप्रिय छ।

क्रिकेटकै शैलीमा ब्याटिङ, बलिङ र फिल्डिङ गरेर खेलिने यो खेल प्रतिस्पर्धी टिमले विभिन्न इनिङमा खेल्दछन्। सफ्टबल पनि उस्तै शैली र उस्तै खेलमैदानमा खेलिने खेल हो। खेलमा प्रयोग गरिने बल र बललाई पिचिङ गर्ने तरिका एवं मैदानको आकारले यी दुई खेललाई अलग बनाउँछ।

नेपालमा बेसबल तथा सफ्टबल संघ २००९ देखि राष्ट्रिय खेलकुद परिषदबाट मान्यता प्राप्त खेल संघको रुपमा रहेको छ।

यी खेलहरूको प्रतिस्पर्धाका लागि आवश्यक सामग्री निकै मूल्य पर्ने भएकोले यो महंगो खेलको रुपमा दरिन्छ। त्यसै कारणले यो खेलको विकासमा समस्या रहेको जानकारहरू बताउँछन्। संघले यो खेल विकासका लागि विद्यालय तहमा समन्वय गरी काम गरिरहेको बताएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!