सोमबार, ११ अगस्ट २०२५

साढे १० हजार हेक्टरभन्दा बढी वन अतिक्रमण

News Image
दुई साताअघि कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१ गोरुसिंगेमा वनक्षेत्र अतिक्रमण गरी बनाइएका घर–टहरा भत्काइँदै। तस्बिर: किरणमान/नागरिक
• • •

कपिलवस्तु - जिल्लामा साढे १० हजार हेक्टरभन्दा बढी वनक्षेत्र अतिक्रमणको चपेटामा परेको छ। जिल्लाको उत्तरी क्षेत्रमा पर्ने वनको जग्गा विभिन्न व्यक्ति, संघसंस्था, विद्यालय, मठमन्दिरको नाममा अतिक्रमण गरिएको हो। वन डिभिजन कार्यालयका अनुसार जिल्लामा १० हजार ६ सय ४४ हेक्टर वन अतिक्रमणमा परेको छ। भूउपयोग चित्र २००१ अनुसार कपिलवस्तु जिल्लामा ६२ हजार एक सय १२ हेक्टर वनक्षेत्र छ। जिल्लामा पटना, गुगौली, खरेन्द्रपुर, वीररपुर र बिसुनपुर इलाका वन कार्यालयअन्तर्गतको क्षेत्र बढी अतिक्रमणमा परेको छ।

त्यसै क्रममा सबैभन्दा बढी जिल्लाको बाणगंगा नगरपालिकाको पटनामा सबैभन्दा बढी वनक्षेत्र अतिक्रणमा परेको वन डिभिजन कार्यालय कपिलवस्तुको प्रतिवेदनमा उल्लेख गरिएको छ। बाणगंगा नगरपालिका–४ साविकको पटना गाविसअन्तर्गत पर्ने वनक्षेत्रको आधाभन्दा बढी भाग अतिक्रमणमा परेको छ। त्यहाँको कलु वनक्षेत्र तीन हजार पाँच सय हेक्टरबाट खुम्चिएर करिब एक हजार ६ सय हेक्टरमा सीमित भएको छ।

वर्षौंदेखि अतिक्रमणको चपेटामा परेको सो क्षेत्रमा एक हजार आठ सय पाँच हेक्टर वन विभिन्न बहानामा मासिएको छ। अतिक्रमण गरिएको वनक्षेत्रमा घर, टहरा निर्माणमात्र होइन, वनको बीचबीचमा खेतीसमेत हुँदै आएको छ। अतिक्रमण गर्नेमा राजनीतिक दलकै नेता अग्रपंक्तिमा रहेको वन कार्यालयका कर्मचारी बताउँछन्। पटनाको गोगापुरमा कांग्रेस, तत्कालीन एमाले, माओवादीलगायत दलका नेताहरूले नै वनक्षेत्र अतिक्रमण गरी बसेको वन कर्मचारीको भनाइ छ।

मंगलबार, जेठ २८, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)