
विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आगामी संस्करण २०२२ मा कतारमा हुँदैछ। विश्वभरका २ सय ११ देशबाट उत्कृष्ट ३२ मा परेर तीन वर्षपछि कतार जाने लक्ष्यमा अब २ सय ४ टोली बाँकी छन्। विश्वकप पुग्नका लागि विश्व फुटबलको सर्बोच्च निकाय फिफाका सबै सदस्य राष्ट्रबीच हुने छनोट प्रतियोगिताको पहिलो चरणबाट सात टोली बाहिरिइसकेका छन्।
दोस्रो चरणको छनोट प्रतियोगिताका लागि बाँकीमध्ये एसियाका ४० टोली निर्णायक तयारीमा छन्। कतार पुग्ने लक्ष्यले गर्दा यो प्रतियोगिताको महत्व सबै २ सय ४ देशलाई विशेष छ। तर नेपालका लागि भने यो त्योभन्दा बढि अर्थपूर्ण छ।
व्यवहारिक रुपमा नेपाल कतार विश्वकपको हकदार होइन। एसियाली छनोटको दोस्रो चरणका ४० देश आठ समूहमा विभाजित भइसकेका छन्। ती मध्ये चार टोलीमात्र कतारका लागि लायक हुन्छन भने एउटाले अन्तरमहादेशीय प्लेअफबाट विश्वकपमा ठाउँ खोज्न सक्छ। नेपालको भने लक्ष्य फरक छ। सेप्टेम्बर ५ बाट सुरु हुने छनोट यात्रामा समूह बी मा रहेर अस्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेई र कुवेतसँग प्रतिस्पर्धा गर्दा नेपाल समग्र प्रतियोगिताको पुछारका चार स्थानभन्दा माथि पर्ने लक्ष्यमा हुनेछ।
एसियाका सहभागि ४० टोलीमध्ये पुछारको चारभन्दा माथि पर्न सके २०२३ को एसियन कप छनोटमा सोझै भाग लिन पाइन्छ। नलुकाइकन भन्दा अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी कम्तिमा चार टोलीभन्दा माथि रहनेमात्र लक्ष्य हो भन्न हिच्किचाउँदैनन्।
विश्वकपमै टिकट काट्ने वा तेस्रो चरणको निर्णायक छनोटलाई लायक हुने अथवा नेपालकै जस्तो पुछारबाटमात्र माथि उठ्ने, जस्तो लक्ष्य भए पनि सबै देश विशेष तयारीमा जुटिसकेका छन्।
नेपालले पनि औपचारिक तयारी सुरु गरेको महिना दिन नाघिसक्यो। तर नेपालको तयारी अन्य देशको तुलनामा धेरै फरक छ। अरु देशमा राष्ट्रिय टोलीका लागि खेलाडी छनोटमा प्रशिक्षक र प्राविधिकहरुलाई सबभन्दा गाह्रो हुन्छ। नेपालमा त्यस्तो भएन। नेपालमा खेलाडी छनोट सहजै सम्पन्न भयो। तर अरु देशमा सायदैमात्र हुने व्यवस्थापक चयन भने नेपालमा निक्कै पेचिलो विषय बनेको छ।
त्यसैले राष्ट्रिय टोली अत्यन्तै महत्वपूर्ण प्रतियोगिताको तयारी गरिरहँदा पनि अझैसम्म एन्फाले व्यवस्थापक छान्न सकेको छैन। एन्फामा विदेश भ्रमण सधै पदाधिकारीको प्राथमिकतामा सबभन्दा माथिको विषय रहँदै आएको छ। खासमा एन्फाको आन्तरिक राजनीतिलाई नै धेरै हदसम्म विदेश भ्रमणले प्रभावित गर्ने गरेको सर्वविधित कुरा हो। अझ यसपाली धेरै नेपालीले कल्पिने गरेको अस्ट्रेलिया आफ्नो समुहमा पर्नु र होम एण्ड अवे पद्दतिमा खेल्ने व्यवस्था हुनुबाट एन्फामा व्यवस्थापक बन्ने होड थप प्रतिस्पर्धात्मक बनेको छ।
गत साता एन्फाले यसै विषयमा निर्णय गर्नेसहितको एजेन्डामा आकस्मिक बैठक डाके पनि आन्तरिक शक्ति सन्तुलनमा प्रभाव राख्ने थुप्रैको दाबेदारीका कारण निर्णय हुन नसकेको एक पदाधिकारीले बताए। तिनका अनुसार व्यवस्थापक बन्ने दौडमा राष्ट्रिय टोली तयारी समितिका संयोजक मदुसुदन उपाध्याय, फुटसल कमिटीका संयोजक दावा लामा, प्रतिस्पर्धा समितिका संयोजक विजय घले, दीनेश ब्यन्जनकार, वशन्त अर्याल र पूर्णमान चित्रकार छन्।
दाबेदार भनिएकामध्ये एक मधुसुदन उपाध्यायले व्यवस्थापक चयनको काम सचिवालयको भएकाले आफू यस विषयमा मौन बस्ने बताए। ‘खासमा व्यवस्थापक भनेको कार्यसमितिको मानिस नभएर बाहिरको हुनुपर्ने जस्तो मलाई लाग्छ। तर यहाँ काम गर्न सक्ने, गरिरहेको र अनुभवीलाई जिम्मेवारी दिनुपर्छ भन्ने मेरो भनाई हो, आफैले पाउनुपर्छ भन्ने छैन,’ उपाध्यायले नेपालन्युजसँग भने।
अर्का दाबेदार पूर्णमान चित्रकारले आफू व्यवस्थापनमा सक्षम भएकाले बैठकमै दाबी गरेको बताए। उनले भने, ‘बैठकमा म र दावाजीले दाबेदारी गरेका थियौं। तर बैठकबाहिरबाट अरु पनि थुप्रै साथीहरुले दाबी गर्नुभएको भन्ने थाहा भयो। पहिला गरिसकेकाले फेरी पनि दाबी गरेकाले मैले आफ्नो नाम प्रस्ताब गरेको हुँ। नयाँले पनि सिक्ने मौका पाउनुपर्छ भन्ने मेरो भनाई हो।’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया