मङ्गलबार, १२ अगस्ट २०२५

राजधानीमा देवु वोराको एकल नृत्य कार्यक्रमको सबै तयारी पुरा, ५० हजार राशिको पुरस्कार एक सर्जकलाई दिने घोषणा

News Image
तस्बिरः बिएल नेपाली सेवा
• • •

आगामी बुधबार नृत्य निर्देशक देवु वोराले राजधानीमा एकल नृत्य प्रस्तूत गर्ने भएका छन्।

काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने कार्यक्रममा वोराले विभिन्न लोकप्रिय गायकका स्वरमा सजिएका कालजयी १६ वटा गीतमा नृत्य प्रस्तुत गर्नेछन्। कार्यक्रममा उनकै शिष्यहरूले साथ दिनेछन्।

विगत लामो समयदेखि आफ्नो मौलिक पोशाकमा सुदूर र मध्यपश्चिमको गीत संगीतलाई नृत्यका माध्यमबाट देश विदेशमा चिनाइराखेका देवु वोरा क्यान्डिल नृत्यबाट चिनिएका थिए।

पुर्ख्यौली घर बैतडी भई धनगढी कैलालीमा जन्मिका वोरा प्रतिभाशाली सर्जक हुन्। उनकी जीवनसाथी जमुना नाटक क्षेत्रमा राम्रो अभिनय गर्ने प्रतिभाका रूपमा चिनिन्छन्। सुदूरपश्चिम डोटीमा संयोगले भेटिएका नीर शाहले उनको नृत्य मन पराएपछि उनी काठमाडौं आएका थिए।

शाहले उनलाई नेपाल प्रज्ञा प्रतिष्ठानमा जागिर मिलाइदिनुका साथै विभिन्न कार्यक्रममा नृत्य गर्ने मौकासमेत दिएका थिए।
विभिन्न जातजातिका पोशाक लगाएर नृत्य गर्न सिपालु वोराले सुदूरपूर्वका पनि थुप्रै गीतमा कोरियोग्राफी गर्नुका साथै नृत्य प्रस्तुत गरिसकेका छन्।

काठमाडौंको कालोपुलमा आफ्नै नृत्य केन्द्र चलाएर बसेका वोराका बारेमा धेरै पटक कलम चलाएका हेमन्त विवशले हिमाल डेन्टल हस्पिटलका अध्यक्ष डा. राजेन्द्र भट्ट सामू एकल नृत्य साँझको प्रस्ताव राखेपछि उनले मध्य तथा सुदूरपश्चिमको लागि बनाएका आफ्ना अन्य कार्यक्रमका योजनालाई थाति राखेर उक्त कार्यक्रम अघि सारेका हुन्।

डा.भट्ट राम्रा गीतकार हुनुका साथै मध्य तथा सुदूरपश्चिमको गीत संगीत र संस्कृतिको बारेमा राजधानीमा विगतका दिनदेखि नै बिभिन्न काम गर्दै आइरहेका छन्।

सुरेश शाहीले स्वर दिएको 'कर्मभूमि जहाँ भए नि जन्मभूमि, हो मेरो पश्चिम नेपाल....' बोलको गीतलगायत केही गीतमा उनकै रचना छ।

उनले आफ्नो हिमाल डेन्टल कलेजमा आर्थिक हिसावले कमजोर विद्यार्थीहरुलाई छात्रवृत्तिमा पढाइरहनुका साथै मध्य तथा सुदूरपश्चिमको भाषा संस्कृति र गीतसंगीतमा समेत योगदान दिइरहेका छन् ।

सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बुधबार हुने कार्यक्रमको सबै तयारी पुरा भएको जानकारी दिए।

यसैबीच उनले गीत संगीतका क्षेत्रमा योगदान दिने एक सर्जकलाई पचास हजार राशीको 'हिमाल डेउडा रत्न सम्मान' को समेत घोषणा गरे।

यही वर्षदेखि वितरण हुने उक्त पुरस्कारको राशी आगामी वर्षमा पाँच लाखसम्म पुर्‍याउने लक्ष्य रहेको उनले बताए। कार्यक्रमलाई सफल बनाउन हेमन्त विवश र डबल बोहराले सघाइरहेका छन्।

बुधबार अपरान्ह ४ बजे सुरू हुने कार्यक्रमा प्रवेश निःशुल्क रहेको समेत पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।

यो पनि हेर्नुहोस्

जुनेली रातमा एक्लै नाँच्ने केटो (भिडियोसहित)

सोमबार, आश्विन ०६, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)