नेपालको पहिलो महिला प्रहरीः मंगला देवी, गिरिजा र राजा महेन्द्रसँगको सम्झना (भिडियोसहित)

देवकी विष्ट

काठमाडौं

चाबहिल सिफलको भत्केको गणेश मन्दिर। त्यसको छेउमा पूजा गर्दै गरेका सर्वसाधारणको भीड। एक छेउमा सुतिरहेका बुढानिलकण्ठ। त्यसकै छेउमा भजनमण्डली।

भजनमण्डली भित्र प्रवेश गर्नुअघि ढोकामै बसिरहेकी एक वृद्ध महिला। हरेक बिहान ७ बजेदेखि ९, १० बजे सम्म उनी त्यही स्थानमा बसिरहेकी हुन्छिन्।

उनको परिचय मन्दिरको भजनमण्डीकी अध्यक्ष, ढोकामा बस्ने वृद्ध आमा मात्र होइन, उनको आफ्नै इतिहास छ।

नेपालको पहिलो महिला प्रहरी। उनको नाम चेतमाया डंगोल (८७)। चेतमाया पहिलो महिला प्रहरी मात्र होइन उनी नेपालको पहिलो महिला प्रहरी सहायक निरीक्षक पनि हुन्। चेतमाया चाबहिलकी स्थानीय हुन्।

किसान परिवारमा जन्मेकी चेतमायाका दुई भाइ र पाँच दिदिबहिनीमा जेठी सन्तान हुन्। चेतमाया धेरै विरामी भइराख्ने र कालो वर्णकी भएकीले पनि उनलाई गाँउघरमा चाडै मर्छे भन्दै काली भनेर बोलाउँथ्ये।

चेतमायाले प्रहरीमा जागिर खान्छु भनेर कहिल्यै पनि सोचेकी थिइनन्। विसं २००८ साल तिरको कुरा हो चेतमाया सम्झन्छिन्, ‘त्यतिबेला प्रहरी प्रखुम नर शमशेर जबरा थिए। स्व राजा महेन्द्र उनका ज्वाइ थिए। महेन्द्रका दुई भाई हिमालय र बसुन्धराको बिहे नर शमशेरको छोरीसँग भएको थियो।’

साथै कांग्रेस पार्टीको महिला संघ समेत थियो। त्यहाँका केही महिला र हामीहरुलाई पढाई दिन्छौ, पैसा दिन्छौ र खान दिन्छौ भनेर २५ जनालाई लगेर ४ महिना एक ठाँउमा राख्यो। त्यही बिचमा तालिम पनि गराउँथ्ये। हामी साना भएका कारण त्यसको बारेमा केही थाहा भएन फुरूङ्गं भयौं। जब सिंहदरबारमा तिमीहरु प्रहरी हो भनेर लगे। हामी रून थाल्यौ। त्यसपछि मात्र नेपाल प्रहरी भएको उनीहरुको समूहले थाहा पायो। जागिर गर्दैनौं। छोड्छौं भनेपछि त्यहाँ भित्र रहेका मान्छेहरुले डराए।

यदि तिमीहरुले जागिर छोड्छौ भने चार महिनासम्म हामीले तिमीहरुमाथि लगाएको लगानी फिर्ता लेऊ। खाएको, बसेको कि, पैसा फिर्ता देऊ। होइन भने जेल हाल्छौं भनेपछि बाध्यताले जागिर खाएको चेतमायाले सुनाइन्।

त्यती बेला प्रहरी मुख्यालयमा महिलाको जम्मा २५ जनाको दरबन्दी थियो। २५ जना महिला प्रहरी पुर्‍याउन पनि धौ धौ पर्थ्यो। कतिपय पटक चेतमायालाई पुलिस भनेर जिस्काउँदा उनले छाताले पनि हिर्काएकी रहिछन्।

चेतमायाको केदार श्रेष्ठसँग प्रेम विवाह भएको थियो। सानैदेखि सँगै खेलेका केदारले कहिले एकतर्फी मन पराएछन् चेतमायाले थाहा नै पाइनन्। चेतमाया भन्छिन् ‘उहाँलाई पुलिसमा काम गरेको मनपरेको थिएन। तर, तपाईलाई छोड्छु। जागिर छोड्दिन भनेपछि बोलेनन्।’

चेतमायालाई देखेर उनकी दुई जना बहिनी पनि असई र हवल्दार भएर प्रहरीमा जागिर खाए। अहिले उनीहरु बितिसकेका छन्। झुठो नबोल्ने, कसैसँग नडाउने चेतमायाको कहिलेकाही हाकिमसँग भनाभन पनि हुन्थ्यो।

प्रहरीमा जागिर खाँदा एक पटक नराम्रो घटना ब्यहोरेकी रहिछन्। उनी एक्कासी रिसाएर बोलिन्,‘नेपाल प्रहरीमा छँदा एसपीको जागिर खाइदिएँ,’ उनले विगत सम्झिइन्, ‘उसले मलाई काम छ भनेर बोलायो। ऊ रक्सीको मात चढेर बसेको रहेछ। उसले मेरो हात समात्यो। मैले हात झटारे। त्यहाँबाट रूदै कुदेर अफिसमा गएँ। मलाई रोइरहेको देखेर असईले के भयो भनेर सोधे। सबै कुरा बताएपछि उसका (एसपी) विरूद्ध रिपोर्ट गरेपछि जागिरबाट नै हात धुनुपर्‍यो।’ 

चेतमायाले ३० रूपैयाँमा शुरू गरेको प्रहरीको जागिर ८२ रूपैयाँमा छँदा वि.स. २०३९ सालमा जागिरबाट राजीनामा दिईन्। चेतमाया अहिले १८ हजार मासिक पेन्सन बुझ्छिन्। नौ वर्षअघि श्रीमान केदार श्रेष्ठको मृत्युपछि उनलाई पनि जीवनदेखि अत्यास लागेको बताइन्।

बुढ्यौली शरीर, एक्लो जीवनमा चेतमायाको स्याहार सुसार गर्ने उनका भान्जाभान्जी छन्। मरेर लानु के छ र? लामो श्वास फेर्दै निसन्तान चेतमाया भन्छिन्, ‘सबै सम्पत्ति उनीहरुलाई नै दिन्छु।’

अहिले पनि नेपाल प्रहरीका हाकिमले सम्मान गर्ने र महिला प्रहरीले माया गर्ने उनी बताउँछिन्। चेतमायासँग कुरा गरिरहँदा पहिला पनि हाकिमहरुले आफूलाई माया र सम्मान धेरै गर्ने गरेको सुनाइरहेकी थिइन्।

‘चेतमाया तिमी जस्तै केटीहरु प्रहरीमा ल्याऊ भनेर हाकिमहरुले पटक पटक भन्ने गर्थ्ये,’ उनले विगत सम्झिइन्। विसं २०१० साल तिर प्रहरी प्रमुख ज्ञान बहादुर याक्थुम्व थिए। प्रहरी प्रमुखकै आदेशमा चेतमायाले १२ जना किशोरीलाई नेपाल प्रहरीमा भर्ना गराईन्।

चेतमायाकै नेतृत्वमा काठमाडौं नजिका जिल्लाहरुमा प्रहरी पोष्ट खडा गरिएको थियो। उनी आफूसँग महिला प्रहरी भएमा उल्टै उनीहरुको ड्यूटी कडा गर्थिन्। उनीहरुलाई भित्र सुताएर आफू उनीहरुको ढोकामा सुत्ने गरेको बताईन्।  ‘यति नगरे त केटीहरु बिग्रन्छन् भन्ने डर थियो नि,’ उनले भनिन्।

नेपालको पहिलो महिला प्रहरी भनेर सम्मान गर्दा खुसीले उनको मन गद्गद हुन्छ। तर, बुढ्यौलीले शरीर थलिदै जाँदा कतिपय सम्मान गर्ने ठाँउमा उनी आफैं जान सक्दिनन्। त्यसैले उनलाई कहिलेकाही घरमै लिन आँउछन्।

प्रकाशित मिति: : 2020-09-10 22:13:00

प्रतिकृया दिनुहोस्