पनौती विश्व सम्पदामा सूचीकृत हुँदै

तस्बिरः बिएल नेपाली सेवा

ऐतिहासिक, धार्मिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदा सूचीमा सूचीकृत हुने भएको छ।

पनौती नगरपालिकाका अनुसार युनेस्कोद्वारा प्रस्तावित पनौतीलाई विश्व सम्पदामा सूचीकृत गर्ने काम तीव्र गतिमा अघि बढिरहेको छ।

युनेस्कोका नेपाल प्रतिनिधि क्रिष्टियन मनहर्टले हालै पनौतीका ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदाको अवलोकन गर्दै पनौती नगर विश्वसम्पदामा सूचीकृत हुनसक्ने बताएका थिए।

नगरप्रमुख भीम न्यौपानेका अनुसार यहाँका मठमन्दिर तथा पुराना नेपाली मौलिकता बोकेका घरलाई विश्व सम्पदामा सूचीकृत गर्न तयार भएको मनहर्टले बताएका छन्।

न्यौपानेले पनौती विश्व सम्पदा सूचीमा सूचीकृत हुने तयारीमा रहेको भन्दै चालु आर्थिक वर्षमा यसका लागि बजेटसमेत विनियोजन गरेको बताए।

नगरले चालू आवमा विश्व सम्पदामा सूचीकृत गराउन एक करोड रुपैयाँ बजेट छुट्याएको छ।

१२ वर्षे कुम्भ मकर मेला २०७८ साल अगावै विश्व सम्पदामा सूचीकृत भइसक्ने नगरप्रमुख न्यौपानेले दाबी गरे।

काभ्रेपलाञ्चोकको पनौती विश्व सम्पदामा सूचीकृत भएपछि ‘पनौती युनेस्को विश्व सम्पदा क्षेत्र’ भनिने छ। युनेस्कोले कुनै पनि राष्ट्रको विशेष सांस्कृतिक महत्व राख्ने (जस्तैः वन, पहाड, ताल, द्वीप, मरुभूमि, स्मारक, भवन, वा सहर) धरोहरलाई आफ्नो सूचीमा सूचीबद्ध गर्ने गर्छ। जुन विश्व सम्पदा समितिद्वारा चयन गर्ने गरिन्छ र यसै समितिले यस सम्पदा क्षेत्रलाई रेखदेख युनेस्कोको तत्वावधानमा गर्दछ।

पनौतीलाई सरकारले प्राचीन स्मारक संरक्षण ऐन २०३१ अनुसार २०५८ सालमा ‘स्मारक क्षेत्र’ घोषणा गरिसकेको छ।

पुरातत्व विभागका अनुसार नेपालको चार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको छ। जसमा काठमाडौँ उपत्यका (उपत्यका सात क्षेत्रः काठमाडौं दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, पशुपतिनाथको मन्दिर, स्वयम्भूनाथ, बौद्धनाथ र चाँगुनारायण मन्दिर), चितवन राष्ट्रिय निकुञ्ज, लुम्बिनी र सगरमाथा राष्ट्रिय निकुञ्ज रहेका छन्। नेपालले हालसम्म पनौतीसहित १५ वटा ऐतिहासिक एवं पर्यटकीयस्थललाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न युनेस्कोसमक्ष प्रस्ताव गरेको छ।

प्रकाशित मिति: : 2019-11-29 19:46:29

प्रतिकृया दिनुहोस्