
बिएल संवाददाता
— अरुण सरकार
आजको नेपाली राजनीतिमा एक विचित्रको दृश्य देखिँदैछ, त्यो दृश्य न कुनै नयाँ यथार्थ हो, न कुनै ताजगी बोकेको परिवर्तन। त्यो त एक दोहोरिएको कथा हो – महाभारतको! फर्किएको छ हस्तिनापुरको युद्ध– तर यो युद्ध संसद भवनभित्र छ, सामाजिक सञ्जालमा छ, पार्टीको बैठक कोठामा छ, र नेताको मनभित्र छ।
युद्धको रंगमञ्च: नेपाली कांग्रेस यो युद्ध नेपाली कांग्रेस भित्र लडेको छ– एकतर्फ शेरबहादुर देउवा नेतृत्वको सत्तालोलुप कौरवहरू, अर्कोतर्फ शेखर कोइराला नेतृत्वका सिद्धान्तवादी पाण्डवहरू। यो केवल व्यक्तिको लडाइँ होइन, यो बीपी कोइरालाको विचार र सत्ता मोहबीचको टकराव हो।
शेरबहादुर देउवा– दुर्योधनको आधुनिक अवतार हुन्। जसरी दुर्योधनले हस्तिनापुरको गद्दी बचाउन जे गरे पनि कम ठान्थे, देउवा पनि कुर्सी जोगाउन सबैचोटी सम्झौता गर्न पछि परेका छैनन्।
उनका वरिपरिका पात्रहरू, जस्तै पूर्णबहादुर खड्का र प्रकाशमान, कौरव शिविरका अनिच्छुक तर बाध्य सेनापति बनेका छन्।
डा. शेखर कोइराला– अर्जुन कि भिष्म?
शेखर कोइराला अर्जुनजस्ता देखिन्छन्– बुद्धिमान, धर्मवादी र कर्तव्यनिष्ठ। तर उनको एक पाटो भिष्मजस्तै लाग्छ– प्रतिज्ञामा बाँधिएको, न त दुर्योधनलाई छोड्न सक्छन्, न त पाण्डवलाई साथ दिन सक्छन्।
गुरुराज घिमिरे– कृष्णको रणनीतिक चुप्पी। गुरुराज घिमिरेलाई कृष्णको रूपमा चित्रण गर्नु उपयुक्त देखिन्छ। तर प्रश्न उठ्छ- आजको कृष्ण रणनीति बनाइरहेका छन् कि मौन बसेर विनाश हेरेर बसेका छन्? यदि उनी साँच्चिकै कृष्ण हुन् भने अब उनी बरबरिकको टाउको माग्न सक्नुपर्छ, युद्ध स्पष्ट गर्न सक्नुपर्छ। सत्यको पक्ष रोज्न सक्नु पर्छ।
गगन थापा- बरबरिकको जीवित रुप। गगन थापा शक्तिशाली छन्, लोकप्रिय छन्, ऊर्जाशील छन्। तर उनी पाण्डव पक्षमै रहेर पनि ‘सबैभन्दा कमजोरलाई साथ दिने’ बरबरिकजस्तै अनिश्चित छन्।
उनको दुईतर्फी भुमिकाले पाण्डव पक्ष कमजोर बनिरहेको छ। कृष्ण (गुरुराज)ले समयमै निर्णय नगरे भने, यही बरबरिक (गगन)ले युद्ध अन्तहीन बनाउनेछ।
विश्वप्रकाश शर्मा– संजय जसले कथा सुनाउँछन्, तर हस्तक्षेप गर्दैनन्। संजयले युद्ध देखे, व्याख्या गरे, तर हस्तक्षेप कहिल्यै गरेनन्। आजको दिनमा विश्वप्रकाश शर्मा त्यस्तै छन्। मीडिया अनुकूल बयान दिन्छन् तर, निर्णय गर्ने मोर्चामा जान हिच्किचाउँछन्। युद्धलाई देख्ने, बुझ्ने तर लड्न नसक्ने विद्वान पात्र।
बालकृष्ण खाँण- आधुनिक कर्ण। बालकृष्ण खाँण पनि एउटै कशमकशमा छन्। उनी कौरव शिविरमा छन् तर पाण्डवकै रक्तसँग बाँधिएका छन्। शक्तिको मोह र पुरानो मित्रताको कारण उनी सत्यबाट टाढा छन्। कर्ण जस्तै न्यायप्रेमी, तर गलत पक्षको साथी।
डा. शशांक कोइराला- विदुर। आजको नेपाली राजनीतिभित्रै हराएका कोही विदुर पनि छन् भने शायद डा. शशांक कोइराला! विवेक छन्, ज्ञानी छन्, चेतावनी दिन्छन् तर स्पष्ट भूमिका लिँदैनन्।
उनले युद्धलाई रोक्ने प्रयास गर्छन्, तर न त शंख फुक्न सक्छन् न धनुष चलाउन।
युद्ध हेर्छन्, समीक्षा गर्छन् निर्णय गर्दैनन्। यदि कृष्णले बरबरिकलाई रोकेनन् भने, युद्ध कहिल्यै सकिँदैन। यदि अर्जुनले मोह त्यागेर वाण चलाएनन् भने, धर्मको विजय हुँदैन।
यदि कर्णले सत्यको पक्ष लिएनन् भने, प्रतिभा विनाश हुन्छ। जय नेपाल जय विचार जय देश।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया