रूकुम पूर्वको भूमेमा सांस्कृतिक प्रतियोगिता हुँदै

तस्बिरः बिएल

भूमे, जेठ २७

भूमे गाउँपालिका, रूकुम ( पूर्व) मा आगामी असार २ गते देखि ५ गतेसम्म दोस्रो ‘सांस्कृतिक प्रतियोगिता   कार्यक्रम २०७६’ आयोजना हुने भएको छ।

अठार मगरात क्षेत्रको सबैभन्दा ठूलो भूमे पर्वको अवसरमा उक्त कार्यक्रम गर्न लागिएको हो।

‘स्थानीय भाषा संस्कृतिको संरक्षण गरौं,’ भन्ने मूल नाराको साथ दोस्रो सांस्कृतिक प्रबर्द्धन कार्यक्रम अन्तर्गत खुला अन्तर गाउँ प्रतियोगिता आयोजना गर्न लागिएको भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले जानकारी दिए।

मगर खाम भाषी बाहुल्यता भएको रूकुम (पूर्व) को भूमे गाउँपालिकाका सबै गाउँ, पुथा उत्तर गंगा गाउँपालिका, पूर्वोत्तर रोल्पा जिल्लाको थवाङ गाउँपालिका, सुनछहरी गाउँपालिका लगायतका क्षेत्रमा भूमे पर्व मनाईन्छ।

हाल पश्चिम रूकुमको सदरमुकाम खलंगा, दाङको घोराही, काठमाडौंलगाएत मुख्य शहरमासमेत यो पर्व मनाईन्छ।

‘भूमे पर्व अठार मगरात क्षेत्रका मगर समुदायको  सबैभन्दा ठूलो चाड हो। उनीहरू प्रकृतिपूजक  हुन्, बर्खामा भूमे पूजा गर्छन्,’ अध्यक्ष वुढा मगरले भने।

उनका अनुसार भूमे पूजामा जमिनको पूजा गर्ने चलन छ। हिउँदेबाली भित्र्याएको खुसियालीमा  र बर्खेबालीमा कुनै हानी नहोस् भनेर भूमे  पूजा गरिन्छ। साथै बाढीपहिरो जस्ता दैवी प्रकोप  नआओस् भनेर भूमेथानमा बलि पनि  चढाइन्छ।

नेपाली महिनाको असार १ गते भूमे पूजा गरिन्छ। गाउँ–ठाउँ हेरेर एक दिनदेखि एक सातासम्म भूमे पूजा गर्ने चलन छ।

भूमे गाउँपालिकाले यस वर्ष कार्यक्रमको लागि भनेर १५ लाख बजेट छुट्याएको छ। त्यस मध्ये ८ लाख पुरस्कारको लागि राखिएको छ ।

प्रतियोगितामा भूमे नाच, नचारू, मयुँर, फाँक, झोलेनी, पैसेरू नाचहरू समेटिनेछ।

सहभागीका लागि समूह दर्ता शुल्क ५०० तोकिएको  छ। अन्तिम दर्ता असार १ गते सम्म हुने आयोजक भूमे गाउँपालिकाले जनाएको छ।

भूमे पर्वलाई यस क्षेत्रमा सबैभन्दा ठूलो उत्सवको रुपमा लिईन्छ। मगर समुदायमा प्रचलित यो पर्वमा स्थानीय महिला, पुरूष तथा बालबालिका आफ्ना परम्परागत भेषभूषा (गुन्यू चोली, धरो, पछ्यौरी,गाडो, गरगहनामा सजिएका हुन्छन्।

यसअघि प्रतियोगितामा भूमे नाच, ढोंगे नचारू नाँच, पैसेरू नाँच, मयूर नाँच  र फाक नाँचमा छिमेकि जिल्ला रोल्पासहित रूकुम (पूर्व) का २४ टोलीले सहभागि जनाएका थिए।

भूमे नाच तर्फ थवाङ भूमे नाच समूह प्रथम,, धर्मशाला भूमे नाच समूह दोस्रो तथा महत भुमे नाच समूह तेस्रो भएका थिए। उनीहरूलाई क्रमशः ७५ हजार, ५० हजार र २५ हजारसहित पुरस्कृत गरिएको थियो।

माथिका तस्बिरहरू पहिलो भूमे महोत्सवका झलकहरू हुन्- सम्पादक

प्रकाशित मिति: : 2019-06-10 11:21:23

प्रतिकृया दिनुहोस्