शनिबार, १९ सेप्टेम्बर २०२६

भदौमा ५ अर्ब ९ करोडको विद्युत निर्यात

News Image
• • •

नेपाल विद्युत् प्राधिकरणले भदौ महिनामा मात्रै ५ अर्ब ९ करोड २४ लाख ६१ हजार २ सय ८२ रुपैयाँ बराबरको विद्युत निर्यात गरेको छ।

यस अबधिमा प्राधिकरणले भारतको हरियाणा तथा बिहार राज्य र बंगलादेशमा गरी कुल ५६ करोड ५६ लाख ६ हजार ४ सय ४३ युनिट विद्युत् निर्यात गरेको हो।

प्राधिकरणकाअनुसार भदौ महिनामा द्विपक्षीय सम्झौतातर्फ ४२ करोड १६ लाख २१ हजार २ सय ८८ युनिट विद्युत् निर्यात गरी ३ अर्ब ६४ करोड २५ लाख २८ हजार २ सय ९९ रुपैयाँ आम्दानी भएको छ। त्यसैगरी विद्युत् बजार मार्फत १४ करोड ३९ लाख ८५ हजार १ सय ५५ युनिट विद्युत् निर्यात भई १ अर्ब ४४ करोड ९९ लाख ३२ हजार ९ सय ८३ रुपैयाँ कारोबार भएको छ।

भदौ महिनाको कूल निर्यातमा द्विपक्षीय सम्झौता मार्फत भएको निर्यातको हिस्सा बढी रहे पनि विद्युत् बजार मार्फत पनि उल्लेख्य मात्रामा विद्युत् निर्यात भएको देखिन्छ। यसैबीच भोटेकोशीमा आएको बाढीका कारण चिलिमे तथा त्रिशूली जलविद्युत् केन्द्रको संरचनामा क्षति पुगेपछि हाल बंगलादेशतर्फको विद्युत् निर्यात भने बन्द रहेको छ।

प्राधिकरणले अन्य जलविद्युत् केन्द्रबाट बंगलादेशतर्फ विद्युत् निर्यात सुचारु गर्न आवश्यक स्वीकृतिका लागि भारतीय पक्षलाई अनुरोध गरिसकेको जनाएको छ।

आगामी दिनमा विद्युत् निर्यातलाई थप सहज, व्यवस्थित र भरपर्दो बनाउँदै लैजाने प्रतिबद्धता नेपाल विद्युत् प्राधिकरणले व्यक्त गरेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!